भोटेकोशी बाढी: पुनःस्थापनाका लागि ९५ अर्ब ४२ करोड आवश्यक

भोटेकोशी बाढीले थुपारेको ढुंगा, माटो, बालुवा र भत्किएका संरचना हटाउन मात्रै ९५ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ।
यो सामान्य सफाइको खर्च होइन।
बाढीले भत्काएका घर तथा भवनका भग्नावशेष हटाउनेदेखि नदीलाई फेरि व्यवस्थित बनाउने, जोखिममा परेका बस्ती जोगाउने र प्रभावित मानिसलाई पुनःस्थापना गर्नेसम्मको खर्च जोडिएको हो।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यक मूल्यांकन प्रतिवेदन, अर्थात् आरडिएनए प्रतिवेदनले यस्तो अनुमान गरेको हो।
अब यो रकम कहाँ खर्च हुन्छ भन्ने बुझौँ।
भोटेकोशी बाढीका कारण भत्किएका घर, भवन र अन्य संरचनाको मूल्य मात्रै ४८ अर्ब २४ करोड रुपैयाँ बराबर रहेको अनुमान छ।
ती संरचना भत्किएर अहिले ढुंगा, इँटा, माटो, बालुवा र अन्य सामान ठाउँ-ठाउँमा थुप्रिएका छन्।
करिब २ अर्ब रुपैयाँ बराबरको माटो र अन्य थुप्रो रहेको अनुमान गरिएको छ।
त्यो थुप्रो हटाउन मात्रै ३० करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने देखिएको छ।
तर थुप्रो हटाएर मात्रै काम सकिँदैन।
बाढीले नदीको बाटो बिगारेको छ। कतिपय ठाउँमा नदीले कटान गरेको छ। बस्ती र खेतीयोग्य जमिन पनि जोखिममा छन्।
त्यसैले नदीमा थुप्रिएको ढुंगा-माटो हटाउने, नदीको बहाव व्यवस्थित गर्ने, बस्ती जोगाउने, पहिरो र कटान रोक्ने, सिँचाइ प्रणाली बनाउने र भविष्यमा बाढी आउनुअघि नै जानकारी दिने प्रणाली विकास गर्ने काम पनि गर्नुपर्नेछ।
यी कामका लागि तत्काल र दीर्घकालीन रूपमा गरेर करिब ९४ करोड ७५ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान छ।
यति धेरै काम छ महिनामै सकिन्छ त?
प्रतिवेदनअनुसार ढुंगा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउने काम छ महिनामा करिब ३१ प्रतिशतसम्म मात्रै पूरा गर्न सकिने अनुमान छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







