Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsगोंगबु मर्डर : एउटी महिलाको कोठामा अस्ताएको जीवनलिला

गोंगबु मर्डर : एउटी महिलाको कोठामा अस्ताएको जीवनलिला


काठमाडौँ । काठमाडौंको निकै व्यस्त मध्येको एउटा चोक गोंगबु । यहि चोकबाट दायातर्फको करिब २ सय मिटर भित्र छिरेपछि आउँछ नवज्योती मार्ग । दायाँतर्फको चारतले घर । आसपासका स्थानीयले ‘झापाली दाई’ भनेर चिन्ने किरण बस्नेतको घरको तेश्रो तलामा शनिवार राती दाङका कृष्ण बहादुर बोहराको हत्या भएको थियो ।

आइतबार विहान घरबाट ५० मिटर पर सुटकेशमा प्याक गरेको अवस्थामा टाउको र खुट्टा बिनाको कृष्ण बहादुरको शव भेटियो । शव फेला परेको २ सय मिटरको दुरीमा जेब्रा झोलामा प्याक गरेर खाली चौरमा फलिएको अवस्थाको टाउको र दुईवटा खुट्टा तालिम प्राप्त कुकुरको सहयोगमा प्रहरीले पत्ता लगायो । घनावस्तीको बिचमा त्यो पनि केही घण्टा अघि हत्या गरेजस्तो देखिने आलो रगत सहित फेला परेको शव पहिचान गर्न हम्मे हम्मे परेपछि प्रहरीले सञ्चारमाध्यममा मृतकको फोटो सार्वजनिक गरेको थियो । यही फोटोका आधारमा कृष्णबहादुरका मामा महानगरीय प्रहरी वृत महराजगञ्जमा पुगे । यसपछि खुल्यो कृष्णबहादुर नयाँबजारस्थित एक गार्मेन्टमा काम गर्थे ।

यत्ति क्लू पाएको प्रहरीका लागि अब बाँकी तथ्य पत्ता लगाउनु थियो । प्रहरी घटनास्थल विश्लेषण र अनुसन्धानका केही तथ्यहरु केलाउँदै हत्या भएको घरसम्म पुग्यो । जुन घरको तेस्रो तल्लामा दुई बच्चा सहित बस्थिन् कल्पना शाही । उनकी एउटी छोरीको विवाह समेत भैसकेको रहेछ । कल्पनाकै कोठामा पहिला बिष खुवाएर कृष्णबहादुरको जीवनलिला समाप्त पारेर मृत शरिरलाई टुक्राटुक्रा पारेको खुले पनि  एक्लै वा अन्यको संलग्नता थियो अनुसन्धान जारी नै छ ।

पछिल्लो एक महिनादेखि गोंगबु मित्रनगरस्थित नर्सिङ धाम गेष्ट हाउसमा बसेका कृष्ण बहादुर बोहरा शनिवार गेष्ट हाउस सञ्चालकसँग दुई दिन आउँदिन है भनेर निस्किएका थिए । गेष्टहाउसबाट निस्किएर साँझ कृष्णबहादुर कल्पनाको कोठामा गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कल्पनाले २ वटा कोठा, किचन र बाथरुम भाडामा लिएकी थिईन् ।

प्रहरीको प्रारम्भि अनुसन्धानले कृष्णबहादुरलाई पहिले विष खुवाएर मारेपछि घाँटी र खुट्टा काटेको खुलेपनि मृतकको पोष्टमार्टम रिपोर्ट आउन बाँकी नै छ । ‘बाथरुममा मृत शरीर टुक्रा पारेर शव व्यवस्थापन गरेपछि गुपचुप जस्तै बसेकी कल्पना आइतबार साँझ मात्रै एम्बुलेन्स टढेर चितवनको टाँढी पुगेको देखिन्छ । बन्द कोठा खोलेर हेर्दा एउटा कोठा र बाथरुममा रगत देखिएको छ । हत्या कल्पना एक्लैले गरिन् वा कसैले सहयोग गरेका थिए भन्ने खुलिसकेको छैन्’ –एक अनुसन्धान अधिकारीले भने ।

बारम्बार अभियुक्त शाहीको कोठामा मृतक बोहोराले आउजाउ गरेको देखिन्छ । दुई जनाबीच आर्थिक लेनदेनका कारण मतभेद रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। राती भएको घटना बारे घरधनी र भाडामा बस्ने कसैले पनि थाहा नभएको बयान दिएका छन् । केही स्थानीयले भने बिहानपख ढोका बजेको र केही खसेजस्तो आवाज आएपनि आफूहरुले खासै चासो नदिएको बताएका छन् । जे होस्, महानगरीय प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले गरेको सफल अनुसन्धानले घटना घटेको ४८ घण्टा बित्दानबित्दै एक अभियुक्तलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको अनुसन्धान पद्धतीलाई अब्बल प्रमाणित गर्ने गोंगबु हत्याकाण्डको सबै वास्तविकता प्रहरी अनुसन्धानले बाहिर ल्याओस्, पीडकमाथी कडा कानुनी कारबाही होस् । दुखद घटनामा यहि छ आम नागरिकको आशा ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ