Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा निरन्तर झरी, वर्षादले देखिएन उत्सबको उत्साह !

नेपालमा निरन्तर झरी, वर्षादले देखिएन उत्सबको उत्साह !


काठमाडौं । विजयादशमी अन्तर्गत नवदुर्गाको प्रसाद लगाउन र मान्यजनबाट आशिर्वाद ग्रहण गर्न जानेहरुलाई निरन्तरको वर्षाले समस्यामा पारेको छ । विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएपछि टाढा टाढा आफन्तकहाँ नवदुर्गाको प्रसाद स्वरुप टीका, जमरा र आशीर्वाद लिन जानेहरु मारमा परेका हुन् ।

दसैँ मनाउँदा यसरी निरन्तर वर्षा भएको धेरैका लागि पहिलो अनुभव बनेको छ । वर्षाकै कारण आफन्तकहाँ टीका लगाउन जान नपाइएको गुनासो धैरैले गरेका छन् । काठमाडौं उपत्यकासहित एउटा गाउँ अनि शहरको चहलपहल समेत विगतका दशैजस्तो देखिएको छैन । देशका अधिकांश स्थानमा वर्षा भइरहेकाले धेरै नदीमा बाढी आएको छ । कति नदीमा त बहाव खतराको बिन्दुमा पुगेको सूचनासँगै सतर्कताका लागि अपिल गरिएको छ । काठमाडौँ उपत्यका बाहिर गएका मानिस समेत विजयादशमीपछि राजधानी फर्किनबाट वर्षाकै कारण रोकिएका छन् ।

निरन्तरको झरीले कालीगण्डकी करिडोर, मध्यपहाडी र ग्रामिण सडक अवरुद्ध भएका छन् । बेनी–जोमसोमलगायत म्याग्दीका ग्रामीण सडक अवरुद्ध भएका छन् । पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । वर्षाका कारण नारायणी नदीमा पानीको बहाव अहिलेसम्मकै उच्च पुग्दा त्रिवेणीस्थित गण्डक ब्यारेजका ३६ मध्ये २२ वटा ढोका खोलिएका छन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यून चापीय प्रभावले वर्षा भएको जानकारि गराउँदै सतर्कताको अपिल गरेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ