Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : प्रतिपक्षी बिहिन संसददेखी, ब्याजदर घटाउने पहलसम्म

नेपाल अपडेट : प्रतिपक्षी बिहिन संसददेखी, ब्याजदर घटाउने पहलसम्म


काठमाडौं । बलियो प्रतिपक्षी बिहिन नेपाली संसद, मौसमको चुनौँती, दादुराको महामारी रोक्न सरकारी आह्वान, पृथ्वी जयन्तीसँगै बैंकले घटाउन लागेको ब्याजदर बारेका प्रमुख ५ खबर यस्ता छन् ।

बलियो प्रतिपक्षी बिहिन नेपाली संसद
नेपाली कांग्रस समेतले प्रचण्ड सरकारलाई समर्थन जनाएपछि नेपाली संसद प्रतिपक्षी बिहिन जस्तै बनेको छ । प्रतिनिधिसभामा रहेका १२ मध्ये १० दलको समर्थन प्रचण्डले प्राप्त गरेका छन् । प्रचण्ड सरकारलाई विश्वासको मत दिएको कांग्रेसले संवैधानिक परिषद्को जिम्मेवारी समेत कानुनी र नैतिक रुपमा गुमाएको छ । संविधानविद् भीमार्जुन आचार्य र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले समेत कांग्रेसको गम्भिर गल्तीले अब विश्वासको मत नदिने दल नै सदनमा प्रमुख प्रतिपक्षी हुने दाबी गर्नुभएको छ । अब नेपालको संसदमा विश्वासको मत नदिने नेमकिपा र राष्ट्रिय जनमोर्चा मात्रै प्रमुख प्रतिपक्ष हुनेछन् । एक/एक सिटे यी दुई दल मात्रै विपक्षी र अरु सत्ता पक्ष बन्दा बलियो प्रतिपक्षीमार्फत सरकारलाई गलतबाटोमा हिड्नबाट रोक्ने, खबरदारी गर्ने काम फिक्का हुनेछ ।

देशभरको मौसम चिसिदा जनजीवन प्रभावित
देशभर फैलिएको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव स्वरुप पहाडी भूभागमा आंशिक बदलीसहित तराईमा हुस्सुरकुहिरो लागेको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पूर्वानुमान गरिएको छ । राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ । मौसमी बद्लाबसँगैको चिसोले बालबालिका, बृद्धबृद्धा बढी प्रभावित भएका छन् । चिसोसँगै जनजीवन प्रभावित भएको छ ।

दादुरा र रुबेलाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको अपिल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सार्वजनिक अपिल गरेको छ । नेपालगञ्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरुमा सङ्क्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन आह्वान गरेको हो । नौदेखि १५ महिनासम्मका बालबालिकालाई दादुराविरुद्धको खोप अनिवार्य लगाउन भनिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउनुपर्छ । दुई डोज खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने जनस्वास्थ्य विज्ञको जिकिर रहेको छ ।
मिजल्स भाइरसका कारणबाट सर्ने दादुराले नेपालगञ्ज उपमहानगरपालिकामा सङ्क्रमण फैलिएको छ । ९० जनालाई दादुरा पुष्टि भइसक्दा एक जनाको ज्यान गएको छ ।

आज पृथ्वीनारायण शाहको जन्मजयन्ती
प्रत्येक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती राष्ट्रिय एकता दिवसका रुपमा आज विभिन्न कार्यक्रम गरेर देशभर मनाइँदैछ । पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाउन सरकारले सार्वजनिक विदा समेत दिएको छ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट जन्मिनुभएका पृथ्वीनारायण शाह विसं १७९९ चैत २५ गते राजा बन्नुभएको थियो । यसअघि ५२ राज्यमा विभाजित नेपाललाई पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्मका राज्य एकिकरण गरेर सीमा विस्तार गर्दै सिंगो नेपाल निर्माण गरेको इतिहास रहेको छ ।

बैंकको ब्याजदर घटाउने तयारी, राष्ट्र बैंकको फरक नीति
बैंकहरुमा कर्जाको माग घटेपछि माघ १ गतेदेखि निक्षेपमा ब्याजदर घटाउनुपर्ने आवाज उठ्न थालेको छ । पुस मसान्तमा पनि तरलताको दबाब नहुने अवस्था देखिएको र ब्याजदर उच्च हुँदा कर्जाको माग नै नभएपछि ब्याजदर घटाउनुपर्नेमा बहुमत बैंकहरु उभिएका हुन् । निक्षेपको तुलनामा कर्जाको वृद्धि न्युन रहेको बैंकर्सहरु बताउँछन् । यता, बैंकर्स संघका कार्यवाहक अध्यक्ष सुनील केसी भने निक्षेपको ब्याजदर के गर्ने भनेर औपचारिक छलफल नै नभएको बताउँनुहुन्छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले भने ब्याजदरभन्दा पहिले आयातमा एलसी खोल्दा राख्नुपर्ने नगद मार्जिनको व्यवस्था हटाउनुपर्ने बताउँनुभएको छ । अहिले ब्याजदर घटाएर पुनः २ महिनामा नै बढाउने अवस्थाको पक्षमा राष्ट्र बैंक देखिएको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ