Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा आन्तरिक उडानतर्फ सबैभन्दा ठूलो दुर्घटना : ६८ जनाको मृत्यु, ४ को खोजी हुँदै

नेपालमा आन्तरिक उडानतर्फ सबैभन्दा ठूलो दुर्घटना : ६८ जनाको मृत्यु, ४ को खोजी हुँदै


काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको हो।

विमान दुर्घटनामा परेका ४ जना अझै फेला परेका छैनन । भेटाउन नसकिएका यात्रु खोज्न सशस्त्रको गोताखोर टोली परिचालन गरिएको बताइएको छ । विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका थिए । सवारमध्ये १५ जना विदेशी नागरिक थिए ।

एक दिन शोक विदा, सबै विमानको प्राविधिक परिक्षण गर्न निर्देशन
सरकारले आन्तरिक उडानका सबै विमानहरूको प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको छ । पोखरामा यती एयरको एटीआर विमान दुर्घटनापछि बालुवाटारमा बसेको मन्त्रिपरिषद् आकस्मिक बैठकले यस्तो निर्देशन दिएको हो । यस्तै सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन तथा जाँच आयोगसमेत गठन गरेको छ । आयोगका सदस्यहरुमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त उपरथी (क्याप्टेन) दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराजजंग थापा छन् । सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने छन् । आयोगलाई दुर्घटनाको कारण पहिचानसँगै सुरक्षाको सुझावसहितको प्रतिवेदन ४५ दिन भित्र बुझाउन भनिएको छ । विमान दुर्घटनाको शोकमा सोमबार एक दिन सार्वजनिक बिदा दिइएको छ ।

यस्तो छ नेपालमा आन्तरिक हवाई दुर्घटनाको विगत
नेपालमा सन् १९६१ यता अर्थात ६२ वर्षमा ५५ आन्तरिक हवाई दुर्घटना भएका छन् । यी दुर्घटनामध्ये २२ वटा दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको छ । नेपालमा भएका आन्तरिक हवाई दुर्घटनामा सम्भवतः पोखरामा आज भएको दुर्घटना नै सबैभन्दा बढीले ज्यान गुमाएको घटना हो । गत जेठमा तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका– २ मा दुर्घटना हुँदा ३ जना चालक दलसहित २२ जनाको मृत्यु भएको थियो । सन् २०१६ मा तारा एयरको विमान म्याग्दीको दानामा दुर्घटना हुँदा २३ जना र सन् २०१० मा तारा एयरकै विमान ओखलढुंगाको तीनतले डाँडामा दुर्घटना हुँदा २२ जनाको मृत्यु भयो ।

सन् २०१२ मा सीता एयरको विमान भक्तपुरको मनोहरामा दुर्घटना हुँदा सबै १९ जनाले ज्यान गुमाए । सन् २०१९ मा ताप्लेजुङको फुङलिङ सिस्नेरीमा भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित विमानमा रहेका सातै जनाको मृत्यु भएको थियो । २१ वटा आन्तरिक हवाई विमान दुर्घटनामा भने यात्रु घाइतेमात्र भएका छन्।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ