Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालको तेश्रो राष्ट्रपति बने कांग्रेस नेता पौडेल, यस्तो छ राजनीतिक अनुभव

नेपालको तेश्रो राष्ट्रपति बने कांग्रेस नेता पौडेल, यस्तो छ राजनीतिक अनुभव


काठमाडौं । नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी हुनु भएको छ । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८ सय २ मतभार पाएर निर्वाचित हुनुभएको हो ।

पौडेलले २ सय १४ संघीय सांसद र ३ सय ५२ प्रदेश सांसदको मत पाउनुभएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पौडेलले पाउनुभयो । एमालेका तर्फबाट उम्मेद्वार बन्नुभएका सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मत भार पाएर पराजित हुनुभयो । ९६ संघीय सांसद र १ सय ६२ प्रदेश सांसदको मत नेम्वाङले पाएको निर्वाचन कार्यालयले जनाएको छ ।

संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८ सय ३१ जनाले मतदान गरेका थिए । संघीय संसदका ३ सय ३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदानमा सहभागिता जनाएनन् । नेपाली कांग्रेसका चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका वर्षमान पुन उपचारका क्रममा मुलुक बाहिर रहेकाले मतदानमा सहभागी भएका थिएनन् । प्रदेशसभाका ५५० सदस्यमध्ये ५१८ जनाले मात्र मतदान गरे । राप्रपाका २८, नेपाल मजदुर किसान पार्टीका ३ र जसपाका एक सांसदले मत दिएनन् । राष्ट्रपति निर्वाचनमा सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकिएको थियो ।

को हुन् पौडेल ?

तनहुँ जिल्ला साविक मिर्लुङ्, बाहुनपोखरा, हालको व्यास नगरपालिका–८ मा मध्यमवर्गीय किसान परिवार बुवा दुर्गाप्रसाद पौडेल र आमा ऋषिमाया पौडेलको कोखबाट २००१ असोज २९ गते रामचन्द्रको जन्म भएको थियो । हाल काठमाडौं महानगरपालिका–१६ बोहोराटारमा बसोबास गर्दै आउनुभएका पौडेलले संस्कृत साहित्यमा शास्त्री र त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर गर्नुभएको छ । राजा महेन्द्रले २०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि पौडेल १६ वर्षको उमेरमा राजनीतिमा होमिनुभएको थियो । पटकपटक गरि पौडेलले १ दशकभन्दा बढी जेल र हिरासत जीवन विताउनुभएको छ ।

०२३ सालमा सरस्वती क्याम्पसमा विद्यार्थी युनियन सभापति निर्वाचित हुनुभएका पौडेल २०२४ मा प्रजातान्त्रिक समाजवादी युवा लिगका महासचिव, २०२७ मा नेपाल विद्यार्थी संघको संस्थापक केन्द्रीय सदस्य हुँदै २०४० कांग्रेसको केन्द्रीय प्रचार समिति संयोजक बन्नुभयो । पौडेलले २०४४ सालमा केन्द्रीय सदस्य बन्नुभएको थियो । समन्वयकारी, मध्यमार्गी नेताका रुपमा परिचित पौडेल २०४८ सालमा तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचित हनुभएको थियो भने यसअघि समेत २०५१, २०५६, २०६४, २०७० र ०७९ मा निर्वाचत हुँदै आउनुभएको थियो । पौडेल २०४८ सालमा पहिलोपटक स्थानीय विकास, २०४९ मा कृषि, २०५६ मा सूचना तथा सञ्चार, २०५६ मा उपप्रधान तथा गृहमन्त्री र २०६३ मा शान्ति तथा पुनःनिर्माण मन्त्री बन्नुभयो । पौडेलसँग २०५१ सालमा प्रतिनिधि सभाका सभामुख निर्वाचित भएर काम गरेको अनुभव समेत छ ।

२०६७ मा १७ पटक चुनाव लड्दा पनि प्रधानमन्त्री पदमा निर्वाचित हुन नसक्नुभएका पौडेल अन्तत राजनीतिको उत्तरार्धमा राष्ट्रपति बन्नुभएको छ । पौडेलका नेपाली कांग्रेसको संक्षिप्त इतिहाससहितका करिब एक दर्जन पुस्तक प्रकाशित छन् । पौडेलकी श्रीमती, चार छोरी र एक छोरा छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ