Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा नेपाली सँस्कृति, भाषा बोल्न र लेख्न सिकाउने विद्यालय, यस्तो छ १३ वर्षे यात्रा !

अष्ट्रेलियामा नेपाली सँस्कृति, भाषा बोल्न र लेख्न सिकाउने विद्यालय, यस्तो छ १३ वर्षे यात्रा !

अभिभावकसँग अन्तरक्रिया कार्यक्रम गरिदै


सिड्नी । अष्ट्रेलियाको सिड्नी र न्युकासलका ७ वटा विद्यालयमार्फत नेपाली समूदायका बालबालिकामा नेपाली भाषा, संस्कार र संस्कृति सिकाउँदैआएको शब्दमाला नेपाली भाषा विद्यालयले अभिभावकहरुसँग विशेष अन्तरक्रिया गर्ने भएको छ । सन् २०१० मा न्यु साउथ वेल्स राज्यको संघ निगमन ऐन २००९ अन्तरगत विधिवत रूपमा दर्ता भएर संञ्चालित विद्यालयले धेरै भन्दा धेरै नेपाली बालबालिकालाई नेपाली सँस्कृतिको साथमा भाषा बोल्न र लेख्न सिकाउने मुख्य उद्देश्य राखेर अन्तरक्रिया गर्न लागेको हो ।

शब्दमाला खुला सत्र २०२३ का रुपमा आयोजना गर्न लागिएको अन्तरक्रियात्मक कार्यक्रम अगस्ट २७ मा सुरु भएर सेप्टेम्बर १० मा सम्पन्न हुनेछ । हालसम्म शब्दमाला नआउनु भएका, जानकारी नपाउनु भएका आमाबाबुहरूको लागि कक्षाकोठा, सिकाई बारे प्रत्यक्ष जानकारि लिन उपस्थितिको लागि विद्यालयका अध्यक्ष बिष्णु घिमिरेले आह्वान गर्नुभएको छ ।

शब्दमाला विद्यालयले अवभिभावकहरुसँग गर्ने प्रत्यक्ष अन्तरक्रियाको तालिका :
अगस्ट २७ आइतबार बिहान १०ः३० देखी १२ः३० सम्म ग्रान्भिल पब्लिक स्कुल, पोन्ड्स हाई स्कुल, वाइतारा पब्लिक स्कुलमा एकसाथ अन्तरक्रिया

सेप्टेम्बर ३ आइतबार बिहान १०ः३० देखी १२ः३० सम्म क्याम्प्सी पब्लिक स्कुल, कार्लटन साउथ पब्लिक स्कुल र म्याक्वेरी फिल्ड्स पब्लिक स्कुलमा अन्तरक्रिया

सेप्टेम्बर १० आइतबार बिहान १०ः३० देखी १२ः३० सम्म, प्लाट्सबर्ग पब्लिक स्कुल (न्यूकासल) मा अन्तरक्रिया

गोर्खा नेपाली कम्युनिटी जीएनसी र गुठी अष्ट्रेलिया बीचको सहकार्यमा सञ्चालित विद्यालय गैरराजनीतिक, गैर–नाफामूलक, गैर–धार्मिक, तथा कुनै पनि किसिमको पक्षपातरहित संस्थाका रुपमा परिचित छ । शब्दमालाले हाल न्यू साउथ वेल्स एनएसडब्लु मूलधारका विद्यालयहरूमा भर्ना भएका ५ वर्षदेखी १६ वर्षसम्मका विद्यालय उमेरका बालबालिकाहरुका लागि नेपाली भाषा तथा संस्कृति सिकाउन काम गरिरहेको छ ।

स्वयमसेवी भावना भएका नेपाली समूदायका अग्रजहरुको एउटा सार्थक पहलका रुपमा विकास गरिएको विद्यालय नेपाली बालबालिकालाई नेपाली भाषा सिक्न, नेपाली संस्कृतिसँग परिचित गराउन र नेपाली–अष्ट्रेलियालीको रूपमा आफ्नो बलियो पहिचान बनाउन सफल भएको सहसचिव दिपक लामिछाने बताउनुहुन्छ । स्थानीय अभिभावकहरुको सहयोग, ब्ययवस्थापन समिति, शिक्षक, शिक्षिका र स्वयंसेवकहरूको परिश्रम र मेहनतका कारण सिड्नी र न्युकासलका ७ वटा विद्यालयमा ३ सय विद्यार्थीलाई शब्दमालाले नेपाली भाषा, संस्कार र सस्कृति सिकाईरहेको छ । यो विद्यालयमा २० जना स्वयमसेवक, ३२ जना शिक्षक, शिक्षिकाले पठनपाठन गराउँदै आउनुभएको छ । शब्दमाला एनएसडब्लु फेडरेसन अफ कम्युनिटी ल्याङवेज स्कुल को सदस्य रहेकाले विद्याथीको संख्या अनुसार न्यु साउथ वेल्स शिक्षा विभागबाट वार्षिक अनुदान समेत प्राप्त गर्न सफल रहेको सहसचिव लामिछाने बताउनुहुन्छ । शैक्षिक गतिबिधि र अतिरिक्त क्रियाकलापको सिकाईका क्रममा नेपाली अभिभावकसँग थोरै शुल्क समेत उठाउँदैआइएको छ ।

बालबालिकाहरूलाई नेपाली सँस्कृतिको साथमा भाषा बोल्न र लेख्न सिकाउने यो विद्यालय अष्ट्रेलियाको परिबेश सुहाउँदो, आफ्नै पाठ्यक्रममा आधारित, अन्तरक्रियामा आधारित व्यवहारिक शिक्षा दिन क्रियाशिल रहेको छ । हरेक आइतबार बिहान २ घण्टा, सामान्यतया ९ बजेदेखी १० बजेको बीचमा कक्षा सञ्चालन हुनेगरेको छ ।

यी हुन शब्दमाला नेपाली भाषा विद्यालयको सिकाई हुने विद्यालयहरु :
क्याम्प्सी पब्लिक स्कुल
कार्लटन साउथ पब्लिक स्कुल
ग्रान्भिल पब्लिक स्कुल
म्याक्वेरी फिल्ड्स पब्लिक स्कुल
प्लाट्सबर्ग पब्लिक स्कुल (न्यूकासल)
पोन्ड्स हाई स्कुल
वाइतारा पब्लिक स्कुल



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ