ब्रिजबेन/ नेपाली कला, संस्कृति, खानपान, भेषभूषा र मौलिकताको प्रवर्द्धन गर्ने उद्देश्यसहित गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले विभिन्न राज्यहरूमा गर्दै आएको “नेपाल फेस्टिभल” डार्विनमा आयोजना हुने भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्दन टेरिटोरीकोको आयोजनामा आगामी जुन १३ मा डार्विन वाटरफ्रन्टमा फेस्टिभल हुने तय भएको छ। दिउँसो २ बजेदेखि राति १० बजेसम्म आठ घण्टासम्म सञ्चालन हुने यस कार्यक्रममा नेपाली समुदाय मात्र नभई स्थानीय अष्ट्रेलियाली तथा विभिन्न बहुसांस्कृतिक समुदायको पनि उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ।
संयोजक त्रिलोचन सापकोटाको अनुसार फेस्टिभलमा नेपाली दूतावास क्यानबेराले पनि स्टल राखेर आफुले प्रदान गर्दै आएको सेवाबारे जानकारी गराउनेछ भने नेपाल पर्यटन बोर्डको तर्फबाट नेपाल भ्रमणका निम्ति जानकारीसहितको ब्रोसरहरु बाँड्ने कार्यक्रम राखिएको छ।
कार्यक्रममा नेपाली परम्परागत खाना तथा परिकारहरू, रंगारंग सांस्कृतिक प्रस्तुति, लोकनृत्य, आधुनिक नृत्य तथा विविध मनोरञ्जनात्मक गतिविधिहरू समेटिने सापकोटाले बताउनुभयो। नेपालको विभिन्न जातजाति, भाषा र संस्कृतिको झलक एकै ठाउँमा अनुभव गर्न पाइने यो फेस्टिभल डार्विनको नेपाली समुदायका लागि एक विशेष अवसर बन्ने देखिने उहाँको भनाई छ।
“वन कन्ट्री, मेनी स्टोरीज” भन्ने नारासहित आयोजना हुन लागेको यो फेस्टिभलले नेपाली समुदायबीचको एकता तथा सद्भाव सुदृढ गर्नुका साथै अन्तर्राष्ट्रिय मञ्चमा नेपाली संस्कृति र पहिचानलाई परिचित गराउने लक्ष्य राखेको छ।
नेपालीपन, समुदायिक भावना र सांस्कृतिक गौरवलाई उजागर गर्ने यो ऐतिहासिक कार्यक्रमलाई उत्सवको रूपमा मनाउन आयोजकले सम्पूर्ण नेपाली समुदाय तथा शुभचिन्तकहरूलाई आह्वान गरेको छ।