Sunday, 8 September 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsके रवि नेतृत्वको रास्वपा विवेकशीलकै बाटोमा छ ? महामन्त्रीको यस्तो आयो प्रतिवेदन !

के रवि नेतृत्वको रास्वपा विवेकशीलकै बाटोमा छ ? महामन्त्रीको यस्तो आयो प्रतिवेदन !

प्रदेश संरचना खारेजीको मुद्दा उठाउनुपर्ने सुझाब !


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री डा. मुकुल ढकालले निकालेको पार्टीको अहिलेको अवस्थाको निचोड सुखद छैन । देश दौडाहबाट फर्किएपछि प्रतिवेदन लेख्नुभएका महामन्त्रीको निष्कर्ष रास्वपाको जनमत निकै खस्किएको छ भन्ने रहेको छ । पार्टीले बोल्ड निर्णय लिएर देश र जनताको पक्षमा खास भुमिका खेल्न नसकेमा अर्को चुनावसम्म अस्तित्व रक्षा गर्न कठिन हुने निष्कर्ष प्रतिवेदनमा छ ।

आफ्नो महामन्त्री पदलाई दाउमा राखेर भए पनि सत्य बोल्ने आँट गरेको दाबी गर्दै डा. ढकालले लेखेको सन्देश :

महाभारतमा पाँच पाण्डवमध्ये सहदेवलाई पाण्डुको मृत्युपछि त्रिकालदर्शनको शक्ति प्राप्त भएको थियो । तर त्रिकालदर्शी सहदेवले भविष्यको घटना बताउलान् भनेर श्रीकृष्णले आफूलाई थाहा भएको केही कुरा कसैलाई बताए मृत्यु हुने श्राप दिए । त्यसैले महाभारतमा सबै थाहा भए पनि उनी चुप थिए । आज पार्टीको वर्तमान भनेको जनमत छैन । जनमत कति छ त्यसको आधारमा आज नै चुनाव हुने हो भने पार्टी हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा एक–दुई सिट जित्ला । भोलिका दिनहरूमा आजकै स्थिति अनुसार अघि बढे पार्टीको हालत विवेकशीलको जस्तो हुनेछ ।

यो भविष्यलाई नजिकबाट देखेपछि भन्नु वा लेख्नु उपयुक्त हुन्छ वा हुँदैन भन्ने प्रश्न ममा आयो । भागवत गीतालाई मैले सधैँ मानेको छु । श्रीकृष्णको बचनलाई सधैँ पछ्याएको छु । महाभारतमा श्रीकृष्णले सहदेवलाई नबोल्नु भनेका रहेछन् । तर मलाई मेरो पार्टीको माया छ र चिन्ता छ । भोलि दुर्घटना हुँदै छ भन्दा मेरो महामन्त्री पदको मृत्यु पनि हुन सक्छ वा मलाई घोक्र्याएर पार्टीबाट निकाल्न पनि सक्छन् । मेरो आगामी राजनीतिक जीवनको लागि यो घातक साबित हुनेछ । तथापि यो पटक कृष्णको वाणीभन्दा एउटा धुन मभित्र गुन्जियो – म मरे पनि मेरो पार्टी बाँचिरहोस् । प्रतिवेदनमा आम जनताले संघीयता नरुचाएको तथा यो प्रणाली नेपालको हितमा पनि नरहेको निष्कर्ष प्रस्तुत गरिएको छ । ‘हामीले अब इन्तु किन्तु परन्तु केही पनि नभनीकन प्रदेश संरचना खारेजीको मुद्दा उठाउनुपर्छ,’ प्रतिवेदनमा भनिएको छ ।

डा. ढकालले आफ्नो प्रतिवेदन पार्टीले सार्वजनिक गरेर सुधारको हिम्मत गर्नुपर्ने माग समेत सभापति रवि लामिछानेमाझ राख्नुभएको छ । प्रतिवेदनसँगै बुझाइने छुट्टै पत्रमा डा.ढकालले आफ्नो व्यक्तिगत असन्तुष्टि पनि पोख्नुभएको छ ।

‘मैले नगरेका कामहरूमा पनि मेरो नाम लिएर पार्टीभित्र धेरै कुराकानी भयो । मेरा कुरा के के हुन् त भनेर मैले भन्नै पाइन । नराम्रा जति मेरा राम्रा जति सबै अरूका भए । मेरा कुरा के छन् जनताले थाहा पाउनु पर्छ । यो मेरो पनि राजनीतिक अधिकार हो । यो प्रतिवेदन सार्वजनिक नगर्नु ममाथि पार्टीले गरेको अन्याय हुनेछ । यो प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरियोस्,’ महामन्त्री डा. ढकालले छुट्दै पत्रमार्फत सभापति लामिछानेको ध्यानाकर्षण गराउनुभएको छ ।

रास्वपा महामन्त्री डा. ढकाल पार्टीले गरेको निर्णयका आधारमा जनमत बुझ्नका लागि देश दौडाहामा जानुभएको थियो । एक महिना लामो समीक्षा यात्रा पछि फर्केर लेखिएको प्रतिवेदनमा आफू, केही आमुक नेता रहेपनि नरहदा पनि पार्टी जिवन्त हुनुपर्ने भन्दै निर्मम समिक्षा गरिएको छ । जनताबाट आएका प्रतिक्रिया निर्मम भएको भन्दै पार्टीको दुई वर्षे समिक्षाका क्रममा पार्टी सभापति लामिछानेले सुधारको पहल पनि निर्मम हुने संकेत गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ