Thursday, 8 August 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबंगलादेशसँगै द्धन्द्धमा फस्दै इजरायल, लेबनान र बेलायत, के छ नेपालीको अवस्था ?

बंगलादेशसँगै द्धन्द्धमा फस्दै इजरायल, लेबनान र बेलायत, के छ नेपालीको अवस्था ?

बंगलादेशमा युनुसको नेतृत्वमा अन्तरिम सरकार बनेपनि रोकिएन हिंसात्मक आन्दोलन !


काठमाडौं, ढाका । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस लाई मङ्गलबार राति बङ्गलादेशको अन्तरिम सरकार प्रमुखमा नियुक्त गरिएपनि आन्दोलन मथ्थर हुन सकेको छैन । राष्ट्रपति मोहम्मद शहाबुद्दीनले विवादास्पद आम निर्वाचनमार्फत गठन गरेको १२ औँ संसद् विघटन गरे युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गर्दै आन्दोलन रोक्न आह्वान गर्दासमेत हिंसात्मक आन्दोलन नरोकिएको हो ।

शेख हसिनाको सत्ता पतन भएको एक दिनपछि बंगभवनमा भएको संयुक्त बैठकबाट युनुसलाई छनोट गर्ने सहमति भएको थियो । अन्तरिम सरकारका बाँकी सदस्यबारे राजनीतिक दल र अन्य सरोकारवालासँगको छलफलपछि टुङ्गो लाग्ने राष्ट्रपतिका प्रेस सचिव जोनाल आबेदिनले बताउनुभएको छ । अन्तरिम सरकार प्रमुख युनुसको कार्यालयले आन्दोलनरत विद्यार्थी अन्तरिम सरकारको पक्षमा रहेको बताएको पनि छ, तर आन्दोलन मथ्थर भएको छैन । अहिले पनि देशभरका शहरहरुमा हिंसात्मक आन्दोलन र लुटपाट जारी छ । बिशेषगरि पूर्व प्रधानमन्त्री हसिनाको पार्टी अवामी लिगका नेता आन्दोलनकारिको निसानामा परेका छन् ।

बंगलादेशसँगै इजरायल, लेबनान तथा बेलायतमा अशान्ति

सयौंको मृत्यु हुँदा समेत रोकिएन बंगलादेशमा आन्दोलन
बंगलादेशमा एक महिनादेखि जारी आरक्षण विरोधी आन्दोलनमा सयौँ मानिसको मृत्यु भैसकेको छ । आन्दोलन हिंसात्मक बन्दा प्रधानमन्त्री शेख हसिनाले सोमबार पदबाट राजीनामा दिइ भागेर भारत पुग्नुभएको छ । बङ्गलादेशमा पूर्व प्रधानमन्त्री हसिनाको पार्टी अवामी लिगका २० नेताको शव भेटिएको छ भने आन्दोलनकारिले ढाकामा आवामी लिगको नेताको होटलमा आगजनी गर्दा २४ जनाको जलेर मृत्यु भएको छ । ९० प्रतिशत मुस्लिम र १० प्रतिशत हिन्दु धर्मालम्बीहरु भएको यो देशमा सानो संख्यामा रहेका हिन्दु धर्मालम्बीहरु त्रसित अवस्थामा छन् । द्धन्द्ध चर्किदा अध्ययनरत अधिकांश नेपाली विद्यार्थी त्रासदीमा छन् । स्वदेश फर्किन बाँकी रहेका करिब ४०० जनालाई बंगलादेशस्थित नेपाली राजदूतावासले सचेत रहन आग्रह गरेको छ । यता, विद्यार्थीहरुले भने सुरक्षित सेल्टरमा राख्न वा स्वदेश फर्काउन हारगुहार गरिरहेका छन् । करिब ३ हजारको हाराहारीमा नेपाली विद्यार्थी बंगलादेशमा अध्ययनरत रहेको तथ्यांक राखेको दूतावासले स्वदेश फर्किन चाहेको खण्डमा दूतावासमा सम्पर्कमा राख्न भनेको छ । परराष्ट्रमन्त्री डा‍.आरजु राणा देउवाले नेपाली विद्यार्थीलाई पर्न सक्ने अप्ठ्यारोप्रति जानकार रही सुरक्षामा विशेष ध्यान दिन ढाकास्थित नेपाली दूतावासलाई निर्देशन दिनुभएको छ ।

इजरायल अझै अशान्त
अक्टोबर ७ मा इजरायलमा हमास लडाकुले आक्रमण गर्दा एक हजार २०० मानिस मारिएपछि सुरु भएको द्धन्द्ध अझै जारी छ । जसमा १० जना नेपाली विद्यार्थीसमेत मारिएका छन् । हमासले २५० जनालाई बन्धक बनाउँदा एक जना नेपाली विपिन जोशीको अवस्था अझै अज्ञात छ । इजरायली हवाई हमलामा हमासका सेना प्रमुखको मृत्यु भएपछि हमासले जवाफी हमला गर्ने चेतावनी दिएको छ । तेहरानमा इजरायलले गरेको हवाई आक्रमणमा हमासका शीर्ष नेता इस्माइल हानिया मारिएपछि इजरायलमाथि हमास, इरान लगायतको चुनौती थपिएको छ । इजरायलमा पाँच हजारभन्दा बढीको संख्यामा नेपालीहरु रहेका छन् । कृषी क्षेत्रको अध्ययन र केयरगिभरको रूपमा काम गर्ने नेपालीहरु त्रासदीमा बसिरहेका छन् । सरकारले सुरक्षाका उपायहरूलाई गम्भीरताका साथ लिन सबै विदेशी कमदारलाई आह्वान गर्दै आएको छ ।

लेबनानमा समेत त्रढ्दै त्रास
इजरायलले लेबनानमा आक्रमण गरेर हिजबुल्लाहका शीर्ष कमान्डर मारेसँगै यहाँ पनि त्रासदी बढेको छ । लेबनानी सशस्त्र बलको गढ रहेको दहियाहमा भएको आक्रमणमा हिजबुल्लाहका शीर्ष कमान्डर फौद शुकर मारिएपछि स्थिति अशान्त छ । लेबनानमा हिजबुल्लाह र इजरायलबीचको आक्रमणपछि त्यहाँ रहेका नेपालीसमेत त्रसित बनेका छन् । नेपाल सरकार लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा जानकार रहेको भन्दै सम्पूर्ण नेपाली नागरिकको सुरक्षा तथा हित सुनिश्चित गर्न सचेत रहेको बताइरहेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै हालसम्म त्यहाँ रहेका नेपाली नागरिक सुरक्षित रहेको तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जानकारि गराएको छ । हानियाको मृत्यु भएपछि मध्यपूर्वमा तनाव बढेको छ । इरानले प्रतिकारात्मक कारबाही गर्ने बताइरहेको छ ।

बेलायतमा भड्कियो हिंसा
बेलायतको साउथपोर्टमा चर्चित गायिका टेलर स्विफ्टको थिममा आयोजित डान्स क्लासमा छुरा प्रहारबाट तीन बालिकाको मृत्यु भएसँगै बेलायतका कयौँ सहरमा हिंसात्मक प्रदर्शन जारी छ । प्रदर्शनका क्रममा धेरै ठाउँमा अति दक्षिणपन्थी, आप्रवासी विरोधी र आप्रवासी समर्थक समूह आमनेसामने हुँदा कैयौँ प्रहरी घाइते भएका छन् । हालसम्म झन्डै ४०० जना पक्राउ परेका छन् । प्रधानमन्त्री कीर स्टार्मरले स्थिति नियन्त्रणमा लिन विशेषज्ञ प्रहरी अधिकारीहरूको टोली तैनाथ गरिएको बताउनुभएको छ । हिंसात्मक प्रदर्शनपछि नेपालीमा समेत त्रास पैदा भएको छ । बेलायतमा एक लाखभन्दा बढी नेपाली छन् । विशेषगरी गोर्खा आर्मी तथा उनीहरूका परिवार , अध्ययनका लागि पुगेका कयौँ नेपाली त्रासदीमा छन् । बेलायतस्थित नेपाली दूतावासले भने नेपाली नागरिकहरु कुनै सुरक्षा जोखिममा नरहेको बताउदैआएको छ । यता, छिमेकी मुलुक भारतले भने बेलायतमा रहेका आफ्ना नागरिकका लागि ‘एडभाइजरी’ जारी गरेको छ । ब्रिटेनको यात्रा गरिरहेका भारतीयलाई परिस्थितिमाथि ध्यान दिन र सतर्क रहन आग्रह गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ