काठमाडौं केन्द्रीत आन्दोलनमा रास्वपा, सभापति रवि भने पोखराको प्रहरी हिरासतमा !
काठमाठौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउविरुद्ध रास्वपा नेता, कार्यकर्ताले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति पक्राउ परेको विरोधमा पोखरा केन्द्रीत आन्दोलन गर्दैआएका रास्वपा नेता कार्यकर्ताले आजबाट काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका हुन ।
आन्दोलनका क्रममा रास्वपा नेता, कार्यकर्ताले ‘सहकारी पीडितलाई न्याय दे’ लेखिएको प्लेकार्डसमेत प्रदर्शन गरेका छन् । रास्वपा नेताहरुले राजनीतिक प्रतिशोधका रुपमा सभापति लामिछानेलाई पक्राउ गरिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको बिरोध गरिरहेका छन् । सहकारी ठगी प्रकरण सभापति पक्राउ परेर अनुसन्धान हुँदैगर्दा रास्वपा सिंगो पंक्तिले अब सहकारी पीडितको बचत फिर्ताको मुद्धामा केन्द्रीत भएर आन्दोलन गर्ने बताइरहेको छ । रास्वपा सभापति लामिछानेलाई झुठो मुद्धामा जेल हाल्ने र रास्वपा अभियान कमजोर बनाउने गलत नियतले सरकार अघि बढेको भन्दै ओली सरकार ढाल्नेगरि देशव्यापी आन्दोलन गर्ने चेतावनी समेत रास्वपाले दिदैआएको छ ।
रास्वपा सभापति लामिछाने कात्तिक २ मा पार्टी मुख्यालय वनस्थलीबाटै पक्राउ पर्नुभएको थियो । सोही दिन राति पोखरा लगिएका उहाँलाई पहिलो चरणमा ४ गते आइतबार ६ दिन र दोश्रो चरणमा विहिबार ७ दिन अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया