Monday, 9 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleजेनजी आन्दोलन जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन

जेनजी आन्दोलन जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन

केही तत्कालिन प्रहरी अधिकारीमाथी कारबाही सिफारिस


काठमाडौं । भदौँ २३ र २४ को जेनजी आन्दोलनमा भएको दमन र विध्वंशबारे जाँचबुझ गर्न गठन भएको आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विशेश्वर भण्डारीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर प्रतिवेदन बुझाउनुभएको हो ।

केही व्यक्तिलाई फौजदारी कारबाहीको सिफारिस गरिएको बताउदै आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्मा प्रतिवेदन सार्वजनिक गर्न र कार्यान्वयनमा जनदबाब रहेकाले कार्यान्वयनमा सरकार अघि बढ्ने बताउनुभयो । दुई दिनमा भएको भौतिक क्षति, मानवीय क्षति, दुबै घटना भएका कमीकमजोरीहरू, सुधारका उपायहरू, गल्ती गर्नेहरूका बारेमा आवश्यक कारबाहीका लागि आयोगले प्रतिवेदनमार्फत सरकारलाई सुझाब दिएको छ । तत्कालीन प्रहरी महानिर्देशक चन्द्रकुवेर खापुङ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाल, उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिपशम्सेर जबरा, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख विश्व अधिकारी लगायतमाथि फौजदारी कारबाहीको सिफारिस प्रतिवेदनमा गरिएको बताइएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको भूमिकाबारे समेत प्रतिवेदनमा विश्लेषण गरिएपनि के—कस्तो कारबाही सिफारिस गरिएको छ भन्ने बारे तथ्य बाहिर ल्याइएको छैन । प्रवक्ता शर्माले फौजदारी कारबाहीको सिफारिस कार्यान्वयन भएमा आयोगको प्रतिवेदनलाई जाहेरी मानेर प्रहरीले व्यक्ति हत्याको आरोपमा सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धान अघि बढनसक्ने बताउनुभयो ।

प्रधानमन्त्री सुशीला कार्कीले प्रतिवेदन बुझ्दैगर्दा अध्ययनपछि प्रक्रिया अघि बढ्ने बताउनुभएको छ । प्रतिवेदनमा भएका तथ्य र सिफारिस बारे प्रधानमन्त्री कार्कीले प्रतिक्रिया जनाउनु भएको छैन । Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ