Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा नेपालीको राहत कार्यक्रम छरपष्ट । व्यवस्थित गर्न दुतावासको टाक्सफोर्स

अष्ट्रेलियामा नेपालीको राहत कार्यक्रम छरपष्ट । व्यवस्थित गर्न दुतावासको टाक्सफोर्स

राहत संकलन र वितरण व्यवस्थित हुन सकेको छैन


व्रिजवेन
कोरोनाको महामारी सुरु भएयता अष्ट्रेलियामा नेपाली विद्यार्थी र समुदायका लागि भन्दै राहत संकलन र वितरण तिव्र भएको छ । गैर आवासिय नेपाली संघ मात्रै नभएर विभिन्न राज्य र समुदायस्तरका संघसंस्था, व्यापारी र व्यक्तिले राहत संकलन र वितरण गरिरहेका छन् ।
केही व्यापारिक निकायले त राहत वितरणलाई व्यापारिक लाभका लागि समेत प्रयोग गर्न भ्याएका छन् । सिंगो विश्व कोरोनासंग जुधिरहेको बेला अष्ट्रेलियाको नेपाली समुदाय र नेपाली विद्यार्थीका लागि राहत संकलन र वितरण भने व्यवस्थित हुन सकेको छैन ।
छरपष्ट रुपमा फेसबुक, गोफन्ड मि वा अन्य व्यक्तिगत खातामा सहयोग संकलन भइरहेको तथा कसलाई र कसले राहत वितरण गर्यो भन्ने पनि एकिन तथ्यांक उपलब्ध हुन नसक्दा अष्ट्रेलियामा नेपालीको राहत कार्यक्रम व्यवस्थित हुन नसकेको हो ।

प्रवासी नेपालीहरुको छाता संगठन एनआरएनएलाई नै पाखा लगाउने गरि केही राज्यहरुमा राहत संकलन र वितरण भइरहेको पाइएको छ । जनस्तरमा राहत कार्यक्रम एकद्धार प्रणाली र व्यवस्थित हुनपर्ने गुनासो बढेसंगै क्यानवेरास्थित नेपाली दूतावासले टाक्सफोर्स गठन गरेको छ । राहत संकलन र वितरणलाई पारदर्शी र व्यवस्थित बनाउनका लागि दूतावासले कुइन्सल्याण्ड राज्यको महावाणिज्यदूत जोसेफ एन्थोनी टोमाको संयोजकत्वमा १५ सदस्यीय टाक्स फोर्स निमार्ण गरेको हो ।

टाक्सफोर्समा महावाणिज्यदूतहरु दिपक खड्का, चन्द्र योञ्जन, दिपक धमला र फ्रेड ब्राउन सदस्य छन् । त्यस्तै गैरआवासिय नेपाली संघ अष्ट्रेलियाको तर्फबाट उपाध्यक्ष देव गुरुङ, महासचिव ज्ञानेन्द्र रेग्मी, कोषाध्यक्ष अनिल पोखरेल, महिला संयोजक सन्ध्या शाह सदस्य छन् । त्यस्तै अष्ट्रेलियन एजुकेशन कन्सलटेन्सी एलाइन्स एक्काका तर्फबाट विवेक थापा, अभिमानसिंह बस्नेत, बद्री अर्याल, भुपाल सिटौला र बल भट्टराई सदस्य छन् । त्यस्तै अष्ट्रेलिया नेपाल मेडिकल एण्ड डेण्टल एशोसियसनबाट पुनम पन्त र पत्रकारहरुको तर्फबाट सरल गुरुङ सदस्य छन् ।
टाक्सफोर्सलाई दातासंग सहकार्य गर्ने, राहतको स्रोत खोज्ने तथा राहत वितरणका लागि मापदण्ड बनाउने जिम्वेवारी दिइएको छ । त्यस्तै राहत वितरणलाई एकद्धार प्रणालीबाट वितरण गर्ने समेत भूमिका दिइएको छ । यो टाक्सफोर्सको नियमन भने दूतावासले गर्नेछ ।
टाक्सफोर्सको हालैमात्र पहिलो अनलाईन बैठक बसको छ । जुम मिटिङमार्फत बसेको बैठकमा उपस्थित सदस्यहरुले हाल राहत संकलन र वितरणमा भइरहेको गतिविधीको जानकारी गराएका थिए । टाक्सफोर्सका संयोजक टोमाले राज्यस्तरबाट सबै तथ्यांक संकलन भएपछि मापदण्ड बनाउने बताउनुभयो ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ