Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा काेराेनाका कारण पहिलाे मृत्यु

नेपालमा काेराेनाका कारण पहिलाे मृत्यु


पुण्यप्रसाद धमला, काठमाडौं । नेपालमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल ल्याउँदैगर्दा कोभिड(१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

मृतक महिलाको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको र आमाछोरा दुबैको स्वास्थ्य सामान्य रहेका कारण बैशाख २५ गते डिस्चार्ज गरेर घर पठाइएको थियो । घर पुगेपछि ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या देखिएपछि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरेको र निको नभएपछि धुलिखेल अस्पताल ल्याइएको थियो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा समेत रिपोर्ट पोजेटिभ नै आयो । हुन त यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन टोली धुलिखेल अस्पतालमा पठाएर मृत्युको कारणबारे थप अध्ययन गरेको थियो । सोही टोलीको रिपोर्टका आधारमा मन्त्रालयले कोरोनाका कारण मृत्यु भएको घोषणा गरेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको घर बाह्रबिसे ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ नम्बर वडा सिल गरेर उनको सम्पर्कमा आएकाहरुको खोजी र परिक्षणलाई तिब्रता दिन लागिएको छ । जिल्लाको कोभिड(१९ विपद व्यवस्थापन केन्द्रले सिल गरिएको क्षेत्रका वासिन्दालाई घरबाहिर ननिस्कन आग्रह गर्दै सेना र प्रहरी परिचालन गरेको छ । मृतकको स्वास्थ्य जाँच गराएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र समेत सिल गरेर मृतकको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने र क्वारेन्टाइनमा राख्ने काम धमाधम भैरहेको छ । यसअघि नै उनको उपचारमा संलग्न त्रिबि शिक्षण अस्पतालका चिकित्सक र धुलिखेल अस्पतालका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेर थप सावधानी अपनाइएको छ ।

यस्तै, शनिबार साँझ धनुषाका २० र ६५ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि शनिबार नै ११ जनामा कोरोना भइरस संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ