Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा जकडिएको जातीय बिभेद, रुकुम पश्चिमको त्यो बिभत्स घटना

नेपालमा जकडिएको जातीय बिभेद, रुकुम पश्चिमको त्यो बिभत्स घटना


पुण्यप्रसाद धमला । काठमाडौं\रुकुम । कोरोनाको कहर चलिरहदा २०७७ जेठ १० गते शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती गाउँमा एउटा बिभत्स घटना घट्यो । जाजरकोटका चार जना युवाहरुको भेरी नदिमा शब भेटिएको र दुई जना अझै बेपत्ता रहेको यो घटनाले यतिबेला सडकदेखी सदन तातेको छ ।

धेरैलाई चकित पार्ने र रुवाउने गरि भएको घटना आखिर के थियो ?

जाजरकोट भेरी नगरपालिका ४ का नवराज बिक आफ्नो अन्तरजातीय प्रमेलाई बिबाहमा परिणत गर्न भन्दै जेठ १० गते साँझ पाँच बजे आफ्ना १९ जना साथीहरु सहित रुकुम पश्चिम सोतीस्थित पे्रमिका सुष्मा मल्लको घर पुग्छन् । केही टाढाबाटै नवराजलाई देखेकी सुष्माकी आमाले जातिय आधारमा गाली गलौच गरेपछि नवराज सहित युवाहरुको समुह फर्किन्छन । केही मिटरमात्रै फर्कन नपाउँदै स्थानीयले घेराबन्दीमा परेका उनीहरु मध्ये केहीले निर्घात कुटपिटको सामना गर्नुपर्छ भने केही साथीहरु भागेर ज्यान बचाउन सफल हुन्छन् । यसरी अन्तरजातिय प्रेमलाई बिबाहमा परिणत गराउन पुगेका युवाहरुमाथी कुटपीट र हत्या भएको भनिएको घटनामा स्थानीय वडा अध्यक्ष डम्बरबहादुर मल्ल समेत संलग्न भएको आरोप लागिरहँदा भेरी नदिबाट चार जनाको शब निकालिएको छ भने अझै दुई युवाहरु बेपत्ता छन् ।

अहिले नवराजको घरमा मात्रै होइन्, उनको अन्तरजातीय प्रेमलाई बिबाहमा परिणत गराउन भन्दै गएर ज्यान गुमाएका परिवारमा रुवाबासी चलेको छ । नवराजका आमा, बुबा बोल्न सक्ने अवस्थामा छैनन, उनीहरु आफ्नो छोरा र साथीहरुलाई कुटीकुटी मारेको भनिरहेका छन् ।
नवराजसँगै गएका साथीहरु भन्दै छन्–हामीले भागेर ज्यान जोगायौं । घरेलु हतियारसहित आएका स्थानीयहरुले घेरा हालेर निर्घात कुटपिट गर्दा साथीहरुको ज्यान गयो । एक जना बाटैबाट फर्किएर जोगिए भने बाँकी १२ जनाले भागेरै ज्यान जोगाएको दाबी गरिरहेका छन् ।

भेरी नदीमा बेपत्ता भएकामध्ये नवराजको आइतबार बिहान शव फेला प¥यो । उनीसँगै गएका साथी चौरजहारीका टिकाराम सुनारको पनि सोही दिन दिउँसो शब भेटियो । सोमबार राती अर्का एक साथीको शब भेटिएकोमा बुधबार दिउँसो थप एउटा शब भेटिएको छ । हराएका दुई जनाको खोजी यतिबेला पनि जारी छ । भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले समेत घटनाको निष्पक्ष छानविन हुनुपर्ने बताउनुभएको छ ।

घटनामा संलग्न रहेको भन्दै प्रहरीले अहिलेसम्म चौरजहारी नगरपालिका–८ का वडाध्यक्षसहित १६ जनालाई नियन्त्रणमा लिएको छ । यो घटनाले नेपालमा जातीय छुवाछुतविरुद्ध कानुन भएपनि व्यवहारमा कार्यान्वयन भएको छैन र बिभेद कायमै छ भन्ने तथ्यलाई उजागर गरेको छ ।

पश्चिम रुकुमको यो घटनाले यतिबेला राष्ट्रिय बहस पाएको छ । कोही सडक आन्दोलनमा छन् त कोही सदनमा सरकार बिरुद्ध बिष बमन गरीरहेका छन् । एकातिर घटनाको चौतर्फी बिरोध भईरहँदा अर्कातर्फ घटनालाई राजनीतिक रंग दिइएको आरोप पनि लागिरहेको छ । यता, घटनामा स्थानीय सरकारको संलग्नता रहेको भन्दै पिडित पक्षले रुकुमपश्चिममा २० जनाबिरुद्ध किटानी जाहेरी समेत दिईसकेको अवस्थामा सरकारले बनाएको ५ सदस्यीय छानबीन समितिले न्यायोचित अध्ययन गरेर रिपोर्ट देला त ? धेरैले प्रश्न गरिरहेका छन् ।

यी तथ्य र आधारले भन्छ, युवाहरुको हत्या भएको हुनुपर्छ 

तथ्य नम्बर एक : जाजरकोट भेरी नगरपालिका ४ का नवराज बिक र पश्चिम रुकुमको चौरजहारी ८ सोतीकी सुस्मा मल्लबीच लामो समयदेखी अन्तरजातिय प्रेम सम्बन्ध

तथ्य नम्बर दुई : केटी केटाको घरमा आउने जाने गरेपनि केटीको घरमा जाँदा यसअघि नै केटाले कुटपीट सहनुपरेको घटना ।

तथ्य नम्बर तीन : भागेर बाँचेको दाबी गर्ने साथीहरुले गाउँ नै उर्लिएर निर्घात कुटपिट गरेको भन्दै दिएको बयान ।

तथ्य नम्बर चार : घटनास्थल नजिककाले नै गाउँलेले लखेटेको भन्दै गरेको स्विकार ।

तथ्य नम्बर पाँच : ईलाका प्रहरी कार्यालयबाट लखेटेको र कुटेको देखेर त्यसो नगर्न भन्दै सम्झाएको स्विकारोक्ति ।

तथ्य नम्बर ६ : जातिय प्रेम र बिबाह प्रयासकै कारण लखेटी लखेटी कुटिएको मानव अधिकारकर्मीको फिल्ड अध्ययन ।

तथ्य नम्बर ७ : बुधबार टाउकामा गम्भिर चोट लागेको र डोरीले बाँधेको अवस्थामा शब भेटिनु ।

भागी बिबाहका लागि भन्दै घटना घट्ने समयासँगै पुगेर बाँचेका युवाहरुको बयान मात्रै होइन्, मानवअधिकारकर्मी, स्थानीय प्रहरी र शबमा देखिएका सबुतहरुले घटना गम्भिर अपराधीक प्रकृतिको थियो भन्ने उजागर गरेका छन् । कानुनले बर्जित गरेको जातभातलाई उठाएर यो हदसम्मको गम्भिर अपराध गर्ने र गराउने जो कोही भएपनि कानुनको दायरामा आउनुपर्छ भन्दै यतिबेला पीडितले राज्यसँग हारगुहार गरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ