Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालका प्रमुख खबर, सडक दुर्घटना,लकडाउन खुकुलो पार्ने तयारीदेखी विमानस्थलको सुरक्षा पूर्वाधारसम्म

नेपालका प्रमुख खबर, सडक दुर्घटना,लकडाउन खुकुलो पार्ने तयारीदेखी विमानस्थलको सुरक्षा पूर्वाधारसम्म


काठमाडौं । भारतबाट स्वदेश फर्किएकाहरु नेपालगञ्जबाट सल्यान जाँदै गर्दा दुर्घटनामा परेर १२ जनाले ज्यान गुमाएको घटना, नेपालमै उच्च संक्रमणको रेकर्ड बनाउँदै सोमबार एकै दिन २३९ जना कोरोना संक्रमित थपिएको बिषय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सामाजिक दूरी कायम गरेर सुरक्षित उडानका लागि तयार भएको र नेपालबाट विभिन्न देशको कार्ड लिएका नेपालीहरु बाहिरिने क्रमले तिब्रता पाएको खबरसँगै लकडाउनको मोडल परिवर्तनको सरकारी गृहकार्य र जनता समाजवादीले दर्ता गरेको नयाँ संविधान संशोधन विद्येयकलाई आइतबार नेपालका सञ्चार माध्यमले प्रमुखताका साथ उठान गरेका छन् ।

नेपालमा सोमबार चर्चा र प्राथमिकता पाएका प्रमुख खबर यस्ता छन् ।

भारतबाट स्वदेश फर्किएकाहरु सवार हाइस दुर्घटना, १२ जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भयो, २० जना घाइते भए । भारतको रूपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै र एक जनाको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

बाँके प्रहरीका अनुसार ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर भएको दुर्घटनाको प्रारम्भिक अध्ययनबाट तिब्र गति रहेको गाडी अनियन्त्रित भएर दुर्घटना भएको आँकलन गरिएको छ ।

एकै दिन २ सय ३९ जनामा कोरोना पुष्टि, सोमबार साँझसम्म नेपालमा १८ सय ११ कोरोना संक्रमित

सोमबार एकै दिन २ सय ३९ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या सोमबार साँझसम्म १८ सय ११ पुग्यो । सोमबार कपिलवस्तुमा ७, पाल्पामा २, रुपन्देहीमा २, नवलपरासी र गुल्मीमा १ जनामा कोरोना पुष्टि भएको हो ।

दैलेखमा ४१, कपिलवस्तुमा ४७, सर्लाहीमा ३८, जुम्लामा १९, रौटहतमा १८, कैलालीमा १४, सल्यानमा १०, दाङमा ९, बाँकेमा ७, धनुषामा ७, सुर्खेतमा ५, सिरहामा ५, पाल्पामा ५, नवलपरासी पूर्व का तीन, रुपन्देहीमा ४, झापा र महोत्तरीमा २, २ जना, नवलपरासी, गुल्मी, मकवानपुर, उदयपुर, अछाम, बैतडी, डोटी र कञ्चनपुरमा एक एक जनामा कोरोना पुष्टि भएको हो ।

आरडिटी विधिबाट १ लाख १३ हजार ७५७ नमुना र पिसिआर विधिबाट ७१ हजार ९ सय ३ स्वाब परीक्षणहरु गरिएको नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ३३ हजार ९७५ छ । अहिलेसम्म देशभर आइसोलेसनमा रहनेको संख्या१ हजार ५ सय ६९ पुग्दा ८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

जनता समाजवादीले गर्यो संसदमा छुट्टै संविधान संशोधन बिधेयक

नवगठित जनता समाजवादी पार्टी (जसपा)ले संविधान संशोधनको छुट्टै विधेयक संसद् सचिवालय सिंहदरबारमा दर्ता गराएको छ । सरकारले प्याकेजमा संविधान संशोधन गर्न अस्वीकार गरेपछि राष्ट्रिय जनता पार्टीका तर्फबाट लक्ष्मणलाल कर्णले संविधान संशोधनको छुट्टै विधेयक दर्ता गराएका हुन् ।

सरकारका तर्फबाट निसान छापमा भएको नेपालको नक्सा संशोधन गर्न आइतबार कानूनमन्त्री शिवमाया तुम्बाहाम्फेले संविधान संशोधनको प्रस्ताव संसदमा छलफलका लागि प्रवेश गराउनुभएको थियो । जसपाले भाषा, नागरिकता, राष्ट्रियसभामा हुने प्रतिनिधित्व, प्रदेशको सीमांकन लगायतमा संविधान संशोधन हुनुपर्ने माग राख्दै आएको छ ।

आफूहरूले दर्ता गराएको विधेयकमा सरकारले समर्थन नगरे सरकारले प्रस्ताव गरेको विधेयकमा पनि आफूहरूले समर्थन नगर्ने जसपाले जनाएको छ ।

लकडाउन जोखिमका आधारमा क्षेत्र निर्धारण गरेर खुकुलो गरिदै

सरकारले जेठ ३२ अघिनै कोरोना संक्रमणको जोखिम हेरेर कम जोखिमका क्षेत्रमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । मन्त्रिपरिषदको पछिल्लो निर्णय अनुसार उच्चस्तरीय समन्वय समितिले विज्ञको समेत राय लिएर कम जोखिम भएको क्षेत्रमा जनजीवन सामान्य बनाउने विषयमा प्रस्ताव तयार गर्न थालेको हो । शनिबार मात्रै जेठ ३२ सम्म लकडाउन निरन्तर गर्ने निर्णय भएको थियो ।

उच्चस्तरीय समन्वय समितिको एक दुई दिनभित्रै बस्ने बैठकमा राय सुझाव लिएर लकडाउन विस्तारै खुलाउँदै जनजीवन सामान्य अवस्थामा फर्काउनेबारे छलफल हुने पर्यटनमन्त्री योगेश भट्टराईले बताउनुभयो । कोरोनो संकट व्यवस्थापन समिति (सीसीएमसी)ले संक्रमणको अवस्था हेरेर रेड, ग्रीन र एलो जोनको सिफारिस गरेपनि प्रधानमन्त्री केपि शर्मा ओलीले असहमती राख्दै आउनुभएको छ । काठमाडौं लगायतका क्षेत्रमा लकडाउन खुकुलो बनाउने तर स्कूल कलेज, सिनेमा हल लगायत भिडभाड हुने क्षेत्रहरु बन्द राख्नेगरी एक दुई दिनमै लकडाउनको मोडालिटि परिवर्तन गरिने बताइएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सहितका मन्त्रीहरु जनजीवन सामान्य गराउने पक्षमा रहे पनि प्रधानमन्त्री अन्य देशको भयाबह अवस्थाका कारण आश्वस्त हुन सक्नुभएको छैन । एकैपटक संक्रमण बढेर महामारी नियन्त्रण बाहिर जान थाल्यो भने के गर्ने ? अस्पतालले धान्दैनन, डाक्टरहरुमा भागाभाग हुन्छ भन्ने प्रधानमन्त्री ओली निरन्तरको लकडाउनबाट बढ्नसक्ने असन्तुष्टि कसरी रोक्ने भन्ने चिन्तामा देखिएका छन् ।

सुरक्षा सावधानी सहितको उडान तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

कोरियन एयरको फ्लाइट सोमबार त्रिभुवन विमानस्थलबाट दक्षिण कोरियाको सोल उड्दा त्यसमा ६९ जना नेपाली नागरिक उडे । साँझ हङकङका लागि उड्ने नेपाल एयरलाइन्सका तीनवटा विमानका समेत धेरै यात्रु नेपाली थिए । आइतबार अमेरिकाका लागि त्रिभुवन विमानस्थलबाट उडेको कतार एयरवेजको विमानमा एक सय ६३ जना नेपाली थिए ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले चैत ११ गतेदेखि देशब्यापी लकडाउन गरेपछि यहाँ रहेका आफ्ना नागरिक विभिन्न देशले उद्धार गरिरहेका छन् । ती देशमा बसोबासको कागजपत्र भएका नेपालीहरु पनिसँगै उठ्दै आएका छन् । अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडा, बेलायतलगायत विभिन्न देशले नेपालबाट गरेका उद्धारका फ्लाइटहरु मार्फत लकडाउन लागू भएयता एक हजार ९ सय ८० जना नेपाली विदेश प्रस्तान गरेका छन् ।

लकडाउनको दुई महिनाभन्दा बढी समयपछि सरकारले भर्खरै मात्र विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा उद्धार गर्ने निर्णय गरेको छ । यसबीचमा जर्मनी, फ्रान्स, अस्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, जापान, चीन, भारत, नेदरल्यान्ड्स, मलेसिया, चेक गणतन्त्र, दक्षिण कोरिया, श्रीलंका, मालदिभ्सलगायत देशको उद्धार फ्लाइटबाट ७ हजार ९ सय २१ जना विभिन्न देश पुगेका छन् । चार्टर्ड प्लाइटको निरन्तरता र विदेशमा रहेका नेपालीहरुको उद्धार र स्वदेश फिर्ताको तयारी तिब्र पारिएसँगै नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सामाजिक दूरीसहितको संरचना तयार पारिएको छ ।

त्रिभुवन विमानस्थलमा सामाजिक दूरी कायम गर्नेदेखि उडानका सबै प्रक्रिया व्यवस्थित गराउने गरी भौतिक संरचना निर्माण गरिएको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो । यसबीचमा विमानस्थलमा अत्यावश्यक भौतिक संरचना निर्माणको काम समेत गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ