Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalकोरोना विस्तारसँगै संविधान संशोधनको चटारो, लकडाउनको धरपकडदेखी पाँच जनाको बिभत्स हत्यासम्म

कोरोना विस्तारसँगै संविधान संशोधनको चटारो, लकडाउनको धरपकडदेखी पाँच जनाको बिभत्स हत्यासम्म


पुण्यप्रसाद धमला, काठमाडौं । कोरोना थप विस्तार भएर ७२ जिल्लामा पुग्दा नेपालमा संक्रमितहरु ४ हजारबाट उकालो लागेका छन् । कोरोनाको कहरमा संविधान संशोधनको गृहकार्य, लकडाउनमा आन्दोलन भैरहँदा प्रहरीको धरपकड । अझ, रुपन्देहीको पशु फारममा पाँच जनाको सामुहिक हत्या । यी र यस्ता विविध घटनाक्रमले चर्चा पाएको नेपालका प्रमुख पाँच खबर यस्ता छन् ।

७२ जिल्लाका ४ हजार ८५ मा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९६ जना निको भएसँगै कोरोनामुक्त हुनेहरुको संख्या ५८४ पुगेको छ ।

अहिलेसम्म प्रदेश नम्बर १ को ओखलढुंगा बाहेकका १३ जिल्ला, बागमती प्रदेशको रसुवा बाहेकका १२ जिल्ला, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेकका ९ जिल्ला, कर्णाली प्रदेशको रुकुम पश्चिम बाहेकका ९ जिल्ला, प्रदेश दुई सबै ८ जिल्ला, प्रदेश पाँचका सबै १२ जिल्ला र सुदुरपश्चिमका सबै ९ जिल्लामा कोरोना संक्रमण विस्तार भएको छ ।

लकडाउनमा आन्दोलन, प्रहरीको धरपकड

मंगलबार बालुवाटार क्षेत्रमा लकडाउनलाई व्यवस्थित र खुकुलो बनाउँदै कोरोना भाइरसको परीक्षण दायरा बढाउनुपर्ने माग गर्दै प्रदर्शन भयो । लकडाउनका बेला कर असुलेको, पीसीआर परीक्षणको दायरा नबढाएको र महामारीका बेला राष्ट्रपति कार्यालयको कार्पेट फेर्नेलगायतका काममा सरकार व्यस्त भएको भन्दै सामाजिक अभियन्ता र सर्वसाधारणहरु विरोध प्रदर्शमा उत्रिए । लकडाउन उल्लंघन गरेको भन्दै पानीको फोहोरा हानेर र लाठी चार्ज गरेर प्रहरीले प्रदर्शनकारीलाई तितरबितर बनाएको थियो ।

यस्तै, मंगलबार नै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा माइतीघरमा प्रदर्शन भयो । युवा–विद्यार्थीहरुले हातमा कालोपट्टी बाँधेर गरेको प्रदर्शनमा समेत प्रहरी र प्रदर्शनकारीबीच झडप भयो । पानीको फोहोरासँगै प्रहरीले लाठी चार्ज गरेर उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीले प्रहार गरेको लाठीका कारण टाउकोमा गम्भिर चोट लागेका एकजनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

आफ्नै निर्णय उल्लंघन गर्दै नागरिक उड्डयन प्राधिकरण

केही दिनअघि गरेको आफ्नै निर्णय बिर्सँदै नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई जापानको नारिताको उडान अनुमति दियो । नारिता उड्नुभन्दा केही घण्टाअघिसम्म उडान अनुमति नपाएको नेपाल एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रुले विरोध गरेपछि नागरिक उड्ड्यन प्राधिकरणबाट उडान अनुमति पायो । नेपाल एयरलाइन्स राति ९ बजे २ सय ६० जना यात्रु बोकेर नारिता उड्यो ।

यसअघी, मनलाग्दी भाडा लिएर चार्टर्ड फ्लाइट गरेको पाइएको भन्दै प्राधिकरणले कूटनीतिक माध्यमबाट भएका बाहेकका चार्टर्ड फ्लाइटमा प्रतिबन्ध लगाएको थियो । उडान अनुमति नलिइकन सोसाइटी ट्राभलले यात्रुलाई टिकट बिक्री गरेर बिमानस्थलसम्म बोलाएपछि प्राधिकरण उडान अनुमति दिन बाध्य भएको थियो ।

संविधान संशोधनमा सर्वदलीय सहमती

लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छाप परिवर्तनसम्बन्धी संविधान संशोधन प्रस्तावमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफलमा भाग लिने सबै दलका सांसदले सरकारलाई धन्यवाद दिए । अहिलेसम्म संविधान संशोधन विधेयकबारे मौन रहेको संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टीले समेत समर्थन जनाएसँगै संविधान संशोधनमा संसदमा रहेका सबै दलका समर्थन जुटेको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघीनै समर्थन गरिसकेको थियो । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानुनमन्त्री डा.शिवमाया तुम्बाहाम्फेले संविधान संशोधन विधेयक सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरेकी थिइन् । छलफलमा भाग लिँदै सांसदहरूले संविधान संशोधनसँगै अब भूमि फिर्ताका लागि अघि बढ्न सरकारलाई आग्रह गरेका थिए ।

रुपन्देहीको पशु फार्ममा पाँच जनाको बिभत्स हत्या

रूपन्देही जिल्लाको तिलोत्तमा–१० कान्छीबजारमा पाँच जनाको सामुहिक हत्या भएको छ । कान्छीबजारस्थित गंगादेवी पशु फार्ममा काम गर्ने ४० वर्षीय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १८ वर्षीय पकलाल मुसहर, करण चौधरी र १७ वर्षीय आसिफ चौधरीको विभत्स हत्या भएको हो ।

हत्याको आरोपमा पक्राउ परेका सुर्खेतका धसेन्द्र सिंजालीले फरुवा प्रहार गरेर हत्या गरेको स्वीकार गरेको रुपन्देहीका प्रहरी प्रमुख एसपी हेमकुमार थापाले जानकारी दिए । लामो समयको सोधपुछपछि आफूलाई दुख दिएपछि फरुवाले हानेर हत्या गरेको स्विकार गर्ने उनी लागूऔषध दुर्व्यसनी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ