Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालको पर्यटन औपचारिक रुपमा खुल्यो, भदौँ १ पछि उडान सुचारु

नेपालको पर्यटन औपचारिक रुपमा खुल्यो, भदौँ १ पछि उडान सुचारु


काठमाडौं । २०७६ चैत ११ देखी पूर्ण रुपमा बन्द भएका पर्यटकीय गतिविधि बिहिवारबाट औपचारिक रुपमा खुलेका छन् । होटेल, पर्वतारोहण, पदयात्रा तथा टूरसम्बन्धी व्यवसाय गर्ने कम्पनीहरुले साउन १५ बाट आफ्ना कार्यालय सञ्चालनमा ल्याएका हुन् । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले कार्यालय फाट्टफुट्ट खुलेपनि तत्काल कुनै विजनेश नभएका कारण धेरै व्यवसायीहरु कार्यालय खोलिहाल्ने सोचमा नभएको बताउँछन् ।

जुलाई ३० बाट नेपालमा पर्यटन खुला भयो भन्ने सन्देश दिने काम भएको भन्दै उनले अब योजना बनाएर अघि बढ्ने बताए । उडान सूचारु कहिलेबाट, कतिजनाको समूहमा आउन पाइन्छ, नेपाल आइसकेपछि क्वारेन्टिनमा बस्नु पर्ने कि नपर्ने लगायतका प्रश्न यतिबेला पर्यटकले चासोपूर्वक सोधिरहेको पर्यटन व्यवसायीहरु बताउँछन् । पर्यटन क्षेत्र खुला भएको घोषणा गरिएपनि साउनभर हवाई उडानको प्रतिवन्ध कायमै रहँदा पर्यटकहरु आउने सम्भावना छैन । केही समय माहौल बनाएर हामी सुरक्षित छौं भन्ने सुनिश्चित गराउन व्यवसायी तयार भएपनि सरकारले प्रभावकारी अनुगमन गर्नुपर्ने व्यवसायीको माग छ । पर्यटन विभागकी निर्देशक मिरा आचार्य पर्यटन मन्त्रालयले क्वारेन्टिनका सम्बन्धमा कस्तो मोडालिटी अपनाउने भन्ने सम्बन्धमा छलफल गरिरहेको र टुंगोमा पुगेपछि सबै व्यवसायीलाई सर्कुलर गरिने जानकारी दिनुभयो ।

अहिले पर्यटन क्षेत्र खुला र सुरक्षित रहेको जानकारी दिन सकेमा असोज मंसिरमा पदयात्रामा जाने पर्यटकले अब नेपाल भ्रमणका लागि बुकिङ गर्न थाल्ने व्यवसायीहरु बताउँछन् । उनीहरुले त त्रिभुवन विमानस्थलमा पर्यटकको पिसिआर परीक्षणको व्यवस्था हुनुपर्ने माग गरेका छन् । नेपाल भित्र आइसकेपछि लामो समय क्वारेन्टिनमा राख्ने प्रावधानले पर्यटकमा झण्झट हुने भन्दै बरु शूल्क तिरेर भएपनि विमानस्थलमै पीसीआर परीक्षणको व्यवस्था मिलाउन व्यवसायीले माग गरेका छन् । मन्त्रालयले भने केही समय नेपाल आउने पर्यटकलाई कम्तिमा ४ दिनसम्म होटेल क्वारेन्टिनमा राख्ने गरी प्रस्ताव तयार पारेको बताइएको छ । यसले होटेल व्यवसायीलाई फाइदा भएपनि पर्यटक आउने सम्भावना कम हुने चिन्ता व्यवसायीमा छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ