Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभोली अष्ट्रेलियाबाट चाटर्ड विमानमा २९८ जना नेपाली स्वदेश फर्कदै । यस्तो छ उडान तालिका

भोली अष्ट्रेलियाबाट चाटर्ड विमानमा २९८ जना नेपाली स्वदेश फर्कदै । यस्तो छ उडान तालिका


सिड्नी, कोरोनाका कारण भएको लक डाउनले अष्ट्रेलियामा अड्किएका नेपाली स्वदेश फर्कने क्रम जारी छ । भोली अगष्ट ६ तारिखमा २ सय ९८ जना नेपाली सिड्नीबाट स्वदेश फर्कदैछन् । जसमा १६ जना विजनेस क्लासमा यात्रा गर्छन् भने एक शिशु पनि यात्रुका रुपमा रहनेछन् । इकोनोमी तर्फको भाडा प्र्रतिव्यक्ति १६ सय २५ अष्ट्रेलियन डलर तोकिएको छ भने विजेनेस क्लासका लागि फष्टकम फष्ट सर्भको आधारमा तीन सय देखि ५ सय डलरसम्म बढी भाडा तोकिएको छ ।

नेपाली दूतावास क्यानवेराको पहलमा गैरआवासिय नेपाली संघ, अष्ट्रेलियाका नेपाली संस्थाहरुको छाता संगठन फेन्का, चिकित्सकहरुको संस्था एम्डा र पत्रकारहरुको संस्था एन्जासहितको उद्दार समितिको पहलमा यो उडान हुन लागेको हो । भोली हुने उडानको व्यवस्थापन सिड्नीको एभरेष्ट ट्राभल्स र नेपालको दा भिन्ची ट्राभलले संयुक्त रुपमा गरेको हो । भोली बुधबार सिड्नीको समय अनुसार राति साढे ९ बजे विमान सिंगापुरका लागि उड्ने छ । सिंगापुर एयरको ७८७ बोइङ विमान स्थानिय समय अनुसार पर्सी बिहान ४ बजे सिंगापुर पुग्नेछ । त्यहा ५ घण्टा कोराना फ्रि जोनमा ट्रान्जिटमा बसेपछि पर्सी बिहान ९ र १० बजे सिल्क एयरको दुइ छुट्टा छुट्टै विमानबाट उनीहरु काठमाडौ फर्किनेछन् । सिल्क एयरको बोइङ ७३७ दुइ विमानमा १ सय ४९ जनाको दरमा यात्रु राखिने एभरेष्ट ट्राभलका संचालक इर्साद अहमदले जानकारी दिनुभयो । स्थानिय समय अनुसार पर्सी अर्थात अगष्ट ७ तारिखको दिउसो १२ बजे र १ बजे दुइ विमान काठमाडौ अवतरण गर्नेछन् ।

यसअघि सिड्नीबाट स्वदेश फकदै नेपाली

भोली स्वदेश फर्कनका लागि मेलवर्नबाट ५७, एडिलेडबाट १०, होबार्टबाट १२, क्यानवेराबाट १७ जना सिड्नी पुगेका छन् । त्यस्तै ब्रिजवेनबाट २८, वेष्टर्न अष्ट्रेलियाबाट ४ र नर्दन टेरिटोरीबाट २ जना छन् । विभिन्न राज्यबाट सिड्नी आउनका लागि एभरेष्ट ट्राभल्सले हवाई टिकटको व्यवस्थापन गरेको हो । तर, क्यानवेराबाट यात्रुहरु आफै सिड्नी पुगेका हुन् भने ब्रिजवेनबाट बस चाटर्ड गरेर यात्रुहरु आज राति सिड्नी जादैछन् ।
भोली अष्ट्रेलियाबाट हुने उद्दार उडान पाचौं हो भने समितिको सहकार्यमा हुन लागेको उडान संख्या चाहि तेस्रो हो । यसअघि जुन २३ र जुन २७ मा सिड्नी र मेलवर्नबाट नेपाल सरकारकै पहलमा नेपाल एयरलाइन्समार्फत दुइ उडान भएको थियो ।

स्वदेश फर्कने उडान सिलसिला

जुन २३ -नेपाल एयरलाइन्सको चाटर्ड विमानले सिड्नीबाट काठमाडौका लागि उडान भरेको थियो । जसमा कोरोनाका कारण अष्ट्रेलियामा रोकिएका २५७ जना नेपाली स्वदेश फर्किएका थिए । यो उडानको भाडा १६ सय ५० अमेरिकी डलर थियो । यो विमान उडानको व्यवस्थापन नेपाल सरकार, दूतावास र नेपाल एयरले मिलाएको थियो ।

जुन २७- नेपाल एयरलाइन्सकै अर्को चाटर्ड विमानले मेलवर्नबाट काठमाडौका लागि उद्दार उडान भरेको थियो । यो अष्ट्रेलियाबाट भएको दोस्रो उद्दार उडान हो । यसमा २०९ जना नेपाली स्वदेश फर्किएका थिए । यो उडानको प्रतिव्यक्ति भाडादर पनि १६५० अमेरिकी डलर नै थियो । यो विमान उडानको व्यवस्थापन नेपाल सरकार, दूतावास र नेपाल एयरले मिलाएको थियो ।

जुलाई १४ – सिंगापुर एयरमार्फत सेमि चाटर्ड विमानबाट १ सय ४९ जना नेपाली अष्ट्रेलियाबाट स्वदेश फर्किएका हुन् । दूतावासको संयोजनमा गैरआवासिय नेपाली संघ अष्ट्रेलियाले खुल्ला प्रतिष्प्रधामार्फत ट्राभल एजेन्सीहरु छनोट गरि सस्तो दरमा उडानको व्यवस्था गरेको हो । अष्ट्रेलियाको सिड्नी, मेलवर्न र ब्रिजवेनबाट नियमित उडान मार्फत सिंगापुर पुगेका नेपालीलाई त्यहाबाट विमान चाटर्ड गरेर स्वदेश फर्काइएको हो । ६ वटा ट्राभल एजेन्सीलाई संयुक्त रुपमा व्यवस्थापन गर्ने जिम्मा दिएपनि टिकट काट्ने काम भने सिड्नीको एभरेष्ट ट्राभल्सलाई दिइएको थियो । विमानको व्यवस्थापन गरेबापत २५ डलर सेवाशुल्क सबै ट्राभल एजेन्सीलाई बराबर बाड्ने सहमति भएको थियो ।
जुलाई ३०- मालिन्डो एयरमार्फत सिड्नीबाट १ सय ६० जना नेपाली स्वदेश फर्किएका हु्न् ।

Photo- Singapore Air



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ