Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा काखे बच्चा छोडेर कोरोनासंग जुध्दै नेपाली नर्स। १ हजार स्वास्थ्यकर्मी संक्रमित

अष्ट्रेलियामा काखे बच्चा छोडेर कोरोनासंग जुध्दै नेपाली नर्स। १ हजार स्वास्थ्यकर्मी संक्रमित


मेलवर्न, अष्ट्रेलियाको भिक्टोरिया राज्य यतिबेला कोरोना भाईरसको दोस्रो लहरबाट प्रभावित बनेको छ । दैनिक सयौको संख्यामा संक्रमितको संख्या थपिएपछि चौथो तहको लक डाउन गरिएको छ । राज्यको राजधानी मेलवर्नको अवस्था झनै नाजुक छ ।
कोरोना भाईरसको नियन्त्रणको अग्र मोर्चामा खटिएका स्वास्थ्यकर्मीहरु पनि संक्रमित हुन थालेपछि चिन्ता झनै थपिएको छ । सार्वजनिक भएको पछिल्लो तथ्याकं अनुसार हाल भिक्टोरिया राज्यमा मात्र एक हजार भन्दा बढी स्वास्थ्यकर्मीहरु कोरोनाबाट संक्रमित भएका छन् । यो संख्या पछिल्लो १५ दिनअघिको भन्दा दोब्बर हो । कोरोनाको रणसंग्राममा खटिएका नर्सहरुलँई पर्याप्त पिपिई अर्थात कोरोनाको भाईरस शरिरमा छिर्न रोक्ने विशेष पोशाक उपलब्ध नभएको भन्दै ओलोचना पनि भइरहेको छ । यस्तो अवस्थामा भिक्टोरिया राज्यको स्वास्थ्य क्षेत्रमा खटिएका नेपाली नर्सहरुको अवस्था हामीले बुझ्ने प्रयास गरेका छौ ।
भिक्टोरियामा १ सय ४६ जना नेपालीलाई कोरोना लागेको छ । ती मध्ये अधिकांश एज्ड केयर होममा काम गर्ने नर्सहरु हुन् । बुद्धवृद्धाहरु बस्ने एज्डकेयर होम कोरोना संक्रमणको निकै जोखिममा रहेकाले पनि त्यहा काम गर्ने नर्सहरु थप सचेत हुनुपर्नेहुन्छ । यस्तो अवस्थामा नेपाली नर्सहरुलाई एकातिर कोरोनाको जोखिमको भय छ भने अर्कोतिर आफ्नो कारणले बिरामी र वृद्धावृद्धलाई कोरोनाको संक्रमण नहोस् भन्ने सावधानी पनि उत्तिकै छ ।
नेपालट्युबले भिक्टोरियाको मेलवर्नमा अग्रपंतिमा काम गरिरहेका केही नेपाली नर्सहरुसंग कुराकानी गर्ने प्र्यास गरेको छ ।

काखे बच्चा छाडेर मैदानमा- नर्स सुलोचना थापा

नर्स सुलोचना थापा

कोरोना कहरको बिच सिड्नीबाट मेलवर्न पुग्नुभएकी रजिष्टर्ड नर्स सुलोचना थापालाई मेलवर्न शहर कस्तो छ भन्ने पनि थाहा छैन । तर, मेलवर्नभित्र फैलिएको कोरोना भाईरसविरुद्धको लडाईमा भने सुलोचना नै अग्रपंतिमा हुुनुहुन्छ । अष्ट्रेलियामा कोरोनाले बितण्डा मच्चाइरहदा सुलोचना आफ्नो काखे बालक र श्रीमानसंगै मेलवर्न पुग्नुभएको हो । त्यहा पुगे लगत्तै एज्डकेयर होममा नर्सको रुपमा काम गर्न थाल्नुभएकी थापा हरदिन आफ्ना रेजिडेण्टको स्वास्थ्यका बारेमा चिन्तित देखिनुहुन्छ । काखे छोरा छोडेर सुलोचना हरेक दिन सेवामा खटिरहनु भएको छ ।
कोरोनासंग डर लाग्दैन त भन्ने हाम्रो प्रश्नमा मुसुस्क हास्दै सुलोचनाले भन्नुभयो -‘काम नै यस्तो रोजिएछ, डर त कता भाग्छ कता ? सबैभन्दा पहिले नर्स हुनुको जिम्मेवारी महसुस हुदो रहेछ ।’ नर्सिङ होम खटिदा सुरक्षाको लागि पिपिई मास्क, पञ्जा र टोपी लगाउने भएकाले खासै डर नलाग्ने गरेको थापाको भनाई छ । तर, पनि मनमा भने सधै डर चाहि हुदो रहेछ थापाले भन्नुभयो ।
दुधे छोरालाई छोडेर काममा खटिदा आमाको मन दुखे पनि यस्तो विषम परिस्थितीमा नर्स भएर काम गर्न पाउदा आफुलाई निकै गर्व लागेको थापाले बताउनुभयो ।

कोरोना लाग्दा पनि डराइन – नर्स सन्जिता न्यौपाने

नर्स सन्जिता न्यौपाने

मेलवर्नको एपिङस्थित नर्दन अस्पतालमा कार्यरत रजिष्टर्ड नर्स सन्जिता न्यौपाने आफैलाई पनि केही समय अघि कोरोना लागेको थियो । अमेरिका भ्रमणबाट फर्के लगत्तै सन्जितालाई कोरोना देखिएको थियो । १४ दिन क्वारेन्टिनमा बसेपछि कोरोना निको भयो । तर, कोरोना लागेपनि उहाँको आत्मबल घटेन बरु कोरोना नियन्त्रणको अग्रंपतिंमा खटिने साहस थप बलियो भयो ।
‘कोरोना सन्चो भएपछि ममा थप आत्मबल आएको छ’- न्यौपानेले भन्नुभयो -‘यो भाईरसको विरुद्धको लडाईमा म झन जोशका साथ खटिरहेकी छु ।’
अस्पतालको सामुदायिक सेवा विभागमा कार्यरत सन्जिता बिरामीको घरघरमा जानुपर्ने हुन्छ । बिरामीको घरमा जाने बेला पर्याप्त पिपिइ लगाउने गरेकाले आफुलाई कोरोना लाग्ला भन्ने डर चाहि निकै कम हुने गरेको उहाँको भनाई छ । तर, ससना बच्चाकी आमा सन्जितालाई आफु कामबाट फर्केपछि भने आफ्नो बच्चाको सारै चिन्ता लाग्दो रहेछ ।
‘मेरो शरिरमा त कोरोनाको एन्टीबडी पनि बनिसक्यो होला’ -न्यौपानेले भन्नुभयो- ‘तर, मेरो कारणले ससना बच्चा र श्रीमान्लाई केही नहोस् भन्ने चिन्ता भने लागिरहन्छ ।’ त्यसैले कामबाट फर्किने बित्तिकै नुहाउने र आफुले लगाएको कपडा फेरेर मात्रै घरका सदस्यहरुसंग भेटघाट गर्ने गरेको उहाँको भनाई छ ।
१० वर्षदेखि नर्सिङ पेशामा रहनुभएकी सन्जिता कोरोना लागेपनि यसलाई जित्न सकिन्छ भनेर अरुको आत्मबल बढाउन पनि आफु अग्रपतिंमा खटिने गरेको बताउनुहुन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ