Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना कहर : प्रयोगशालाले नै गलत नतिजा पठाउँदा बढ्दै जोखिम

कोरोना कहर : प्रयोगशालाले नै गलत नतिजा पठाउँदा बढ्दै जोखिम


काठमाडौं । बिना पूर्व तयारी खोलिएको लकडाउनले देशका बढी जनघनत्व भएका शहरी क्षेत्रमा कोरोनाको जोखिम बढाइरहँदा प्रयोगशालाको अनलाईन प्रणालीले समेत धेरैलाई झुक्याएको छ । कतिपय क्षेत्रमा परिक्षण नै नगरिएका व्यक्तिमा कोरोना नेगेटिभ भन्दै म्यासेज त कतिपयलाई पहिला नेगेटिभ भन्दै पुगेको परिक्षण नतिजा केही घण्टा र केही दिनमै पोजेटिभ भन्दै आउँदा परिक्षणको विश्वसनियतामा प्रश्न मात्रै उठेको छैन जोखिम पनि बढेको छ ।

बीरगञ्जमा स्वाब नै नदिएका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएको घटना सेलाउन नपाउँदै काठमाडौंस्थित विश्वसनिय मानिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पढाएका कतिपय म्यासेज र परिक्षण रिपोर्टले समेत कोरोना परिक्षणको बिश्वसनियतामा प्रश्न उठाइदिएका छन् । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट १ सय ५० जनाको परीक्षण नै नगरी रिपोर्ट आएको छ भने पहिला नेगेटिभ नतिजा भन्दै पठाइएको व्यक्तिको दुई दिनपछि कोरोना पोजेटिभ भन्दै अर्को म्यासेज पठाइएको छ ।

यसरी कोरोना नेगेटिभ भन्दै म्यासेज पाएको दुई दिनपछि कोरोना संक्रमण पुष्टि गर्ने गरी अर्को म्यासेज पाउने व्यक्ति अरु कोही नभएर काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राजेन्द्र बुढाथोकी हुन् । नगरपालिका क्षेत्रमा ९० जनाको स्वाब संकलन गरिएकोमा भदौ १४ गते रिपोर्ट नेगेटिभ भन्दै म्यासेज आउनसाथ उनी कोरोना रोकथामका विभिन्न कामदेखि विकास निर्माणका काममा सहभागी भएका थिए । झण्डै तीन सय जनाको सहभागिता रहेको रक्तदान कार्यक्रममा सहभागी भएका उनी ल्याबले दिएको परिक्षण रिपोर्टको गलत नतिजाले आफैलाई लज्जित बनाएको बताउँछन् । धेरैको स्वास्थ्यसँग सरोकार राख्ने कोरोनाको परिक्षण र रिपोर्टमा भएको गल्तीलाई सामान्य मान्न नहुने उनले बताए ।

वडाध्यक्ष बुढाथोकी लक्षण नदेखिएका कारण होम आइसोलेसनमा छन भने नगरपालिका क्षेत्रमा त्रासदी बढेको छ । मेयर लगायत केहीमा भने कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ । स्टार हस्पिटलमा छिटै नतिजा पाउनका लागि गरिएको परिक्षणमा समेत बेवास्था गरिएको वडा अध्यक्ष बुढाथोकीले बताए । यति मात्रै होइन्, काठमाडौंकै अर्को नगरपालिका क्षेत्रमा समेत पीसीआर परिक्षणको नतिजा पढाउने क्रममा यस्तै गम्भिर गल्ती भेटिएको छ । काठमाडौं मुलपानी क्षेत्रका एक व्यक्तिको पहिला नेगेटिभ नतिजा पढाइएपनि समूदायमा घुलमिल भएको केही समयमा कोरोना पोजेटिभ भन्दै परिक्षण रिपोर्ट पठाइएको छ ।

ठूलो जोखिम बढाउनेगरी गम्भिर गल्ती गरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला भने प्राविधिक कारण देखाउँदै आफ्नो कमजोरी लुकाउन खोजिरहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा रुना झा धेरैको नतिजा एकै पटक पठाउँदा अन्तिम नतिजा नआउनेको समेत नेगेटिभ भनेर म्यासेज गएको भएपनि भित्र खोलेर हेर्दा खाली हुने बताउँछिन् । पीसीआर जाँचमा ठूलो अनियमिता भएको भन्दै गुनासो बढीरहँदा कतिपय नीजि अस्पतालले समेत छिटो नतिजा दिने नाममा जोखिममा परेकाहरुलाई परिक्षणको दायरामा ल्याएर ढिलासुस्ती गरिरहेका छन् ।

अझ सरकारले विश्वास गरेको विश्वसनिय मानिएको प्रयोगशालाबाटै पठाइएको परिक्षण नतिजा तलमाथी पर्दा कोरोना थप बिस्तार हुने जोखिमसँगै त्रासदी बढेको छ ।
(एक जना कोरोना संक्रमित खुल्न नचाएकाले हामीले उनको पहिचान लुकाएका छौँ ।)



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ