Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : कोरोना मिटर, मल अभावदेखी उडानसम्म

नेपाल अपडेट : कोरोना मिटर, मल अभावदेखी उडानसम्म


काठमाडौं । नेपाली सञ्चार माध्यमका महत्व पाएका र चर्चासँगै पाठकले रुचाएका प्रमुख पाँच खबर यस्ता छन ।

रेकर्ड बनाउँदै कोरोना
पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी १ हजार ३ सय ५९ जना संक्रमित थपिएसँगै देशभर कोरोना संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक ४ सय ६४ महिला र ८ सय ९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३ सय ८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । यसअघि बिहीबार उपत्यकामा ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ७ सय ४ रहेको छ । संस्थागत आइसोलेशनमा १० हजार ९ सय ४२ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ४६२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५४ जना निको भएसँगै कोरोना जित्नेहरुको संख्या २५ हजार ५ सय ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप १४ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या २ सय ७१ पुगेको छ । एकै दिन ज्यान गुमाएकाहरुको यो संख्या अहिलेसम्मकै उच्च हो ।

कहिले आउँछ मल ?
बर्षेनी मलको अभाव खेप्दै आएका किसानहरु यसबर्ष झनै् सास्ती खेप्न बाध्य छन् । ठेकेदार कम्पनीको बेइमानीका कारण समयमै मल ल्याउन नसक्दा किसानंहरु बाली कसरी हुर्काउने र फलाउने भन्ने चिन्तामा छन् । सरकारले ५० हजार टन युरिया ल्याउन लागि कृषि सामग्री कम्पनीमार्फत गत पुस र माघमा टेन्डर आह्वानको ठेक्का लागेर पनि मल आयात हुन सकेन । मलको टेन्डरमा सधैँ अन्तर्राष्ट्रिय कम्पनीहरू सहभागी हुने र तिनका नेपालस्थित एजेन्ट सक्रिय भएपनि यो पटक त्यस्तो भएन् । बरु, निर्माण क्षेत्रमा धेरै आयोजना अलपत्र पारेको शैलुङले प्रतिटन ३२० दशमलव २५ डलरमा रासायनिक मल आयात गर्ने गरी र अर्को निर्माण क्षेत्रकै विवादास्पद बिकोई कन्स्ट्रक्सनका सञ्चालक हुमनाथ कोइरालाको होनिको कम्पनीले ३०९ दशमलव ९० डलर प्रतिटनमा मल ल्याउने गरी ठेक्का पाएपनि अहिलेसम्म एक बोरा पनि मल ल्याउन सकेनन ।

मल ल्याउन नसक्ने शैलुङलाई नै थप ठेक्का दिएर कृषी सामाग्री कम्पनीले किसनमाथी खेलवाड गरिरहेको पाइएको छ । किसानमा हाहाकार मच्चिदा भारत र चीनले मल नदिएपछि सरकारले बंगलादेशसँग पैचो मागेको मलपनि कहिने नेपाल आउने निश्चित भएको छैन । केही किसान महंगो तिरेर मल किनिरहेका छन भने अहिले अधिकांश किसान मलका लागि घण्टौँ लाइन बसेर रित्तो हात फर्कन बाध्य छन् । धानको मुख्य सिजनमा रासायनिक मलको अभाव भएपछि बंगलादेशबाट मल ल्याउने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली नै सक्रिय भएका छन् । तर, मल कहिले आउँछ अझै टुंगो लागेको छैन् ।

प्रेस ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने पक्राउ
बिहीबार पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने स्थानीय युवक र प्रहरीसँगको झडपको समयमा प्रहरीलाई ढुंगा हान्ने थप एक युवक पक्राउ परेकका छन् । प्रेस लेखेको ज्याकेट लगाएका र हातमा क्यामेरा बोकेर प्रहरीतर्फ ढुंगा हान्ने युवकलाई शुक्रबार महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । महालक्ष्मी नगरपालिका– १३ इमाडोलका २१ वर्षका अनिश महर्जन कुनै सञ्चार माध्यममा संलग्न नरहेको र प्रेस कार्ड पनि नभएको पाइएको अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । कतिपयले भने उनी युट्युबर रहेको बताएका छन् । प्रहरीले बिहीबार मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीलाई ढुंगा मुढा गर्ने १३ जनालाई यसअघि नै पक्राउ गरिसकेको छ ।

शुक्रबार प्लेन चढेर घर फर्किने ६ सय १ जना
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन र प्रस्थान दुवै गरी शुक्रबार सात अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत ६०१ जना नेपाल आएका छन् । हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ र दोहाबाट १४५ यात्रु काठमाडौँ ल्याउँदा कोरियन एयरले सिओलबाट १९८ यात्रु ल्याएको छ । नेपालबाट फर्किदा चार यात्रु बाहिरिएका छन् । यस्तै, फलाई दुबईले दुबईबाट १५२ जनालाई काठमाडौ ल्याएको छ । नेपाल एयरलाइन्सले हङकङबाट चार हजार ८८७ किलो कार्गो, कतार एयरवेजले १० हजार १३५ किलो कार्गो र दुई शव नेपाल ल्याएका छन् । शनिबार विभिन्न एयरलाइन्सका सात अन्तर्राष्ट्रिय विमानले उडान भर्दैछन् । आन्तरिकतर्फ शुक्रबार सात उडान भएका थिए ।

हत्या अभियोग : कल्पना मुडभरी पौडेल थुनामा
काठमाडौं जिल्ला अदालतले कृष्णबहादुर बोहराको हत्या अभियोगमा पक्राउ कल्पना मुडभरी (पौडेल) लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बिहीबार हत्या अभियोगमा चितवन शक्तिखोरकी ३७ वर्षीया पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेसँगै सुन्धारास्थित जगन्नाथ देवलस्थित केन्द्रीय कारागार चलान गरिएको छ । पौडेलकी १५ वर्षीया छोरीलाई भक्तपुरस्थित बाल सुधार गृह पठाउने अदालतले आदेश दिएसँगै सुधारगृहमा लगिएको छ । गोंगबुमा गत साउन २५ गते प्रहरीले बोहराको हत्या गरी घाँटी र खुट्टा एउटा सुटकेस र शरीर जेब्रा झोलमा रहेको अवस्थामा शव बरामद गरेको थियो । प्रहरी अनुसन्धानबाट पौडेलको संलग्नता खुलेसँगै माइती घरबाट पौडेल र उनकी छोरी पक्राउ परेका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ