Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : कारोना, ठेकेदारलाई कारबाहीदेखी बाढीपहिरोको प्रकोपसम्म

नेपाल अपडेट : कारोना, ठेकेदारलाई कारबाहीदेखी बाढीपहिरोको प्रकोपसम्म


काठमाडौं । कोरोना, मल नल्याउने ठेकेदारमाथी कारबाही, बाढी पहिरोको प्रकोपले पुर्याएको क्षति लगायत नेपालका प्रमुख पाँच खबर यस्ता छन् ।

घट्ला त संक्रमण ?
पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । यो यसअघि दैनिक पहिचान भएका संक्रमितको संख्या भन्दा केही कम हो । योसँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । २८९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाउँदा अहिलेसम्म २८ हजार ९४१ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंका २९०, ललितपुर र भक्तपुरमा ३२ र ३२ जना छन् । यस्तै सुनसरीका ८६ जना, बाराका ७३, सुर्खेतका ४४, रुपन्देहीका ३५, चितवनका ३०, मोरङका २९, झापाका २८, पर्साका २५, स्याङ्जाका २२, कास्की र कैलालीका २१र२१ जना, पाल्पाका १९, नवलपुरका १२, सप्तरी, अर्घाखाँची र अछामका ११र११ जना, धनुषा, धादिङ र बझाङका १०र१० जना संक्रमित भएका छन् । रौतहटका ८ जना, दोलखा र तनहुँका ७र७ जना, संखुवासभा, सिराहा, बर्दिया र बाँकेका ६र६ जना, सर्लाही, गोरखा र जुम्लाका ५र५ जना, कपिलवस्तु र प्युठानका ४र४ जना, महोत्तरी, दाङ, बाग्लुङ र कञ्चनपुरका ३र३ जना, सिन्धुली, नवपरासी, लमजुङ, जाजरकोट, दैलेख र डडेलधुराका २र२ जना तथा उदपयुर, ओखलढुंगा, ताप्लेजुङ, भोजपुर, काभ्रे, सिन्धुपाल्चोक र कालीकोटका १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीर अब कोभिड अस्पताल
सरकारले देशकै पुरानो अस्पताल वीर अस्पताललाई कोभिड विशेष अस्पताल बनाएको छ । अब वीर अस्पतालमा उपचारका लागि आउने अन्य रोगका बिरामीको उपचार नजिकैको राष्ट्रिय ट्रमा सेन्टरमा हुनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको आइतबारको बैठकले वीरलाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको थियो । वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले अहिले उपचाररत बिरामी निको भएर डिस्चार्ज नहुँदासम्म अन्यत्र नसारिने जानकारी दिए । हाल वीर अस्पतालमा कोरोना संक्रमित र अन्य रोगका बिरामीको स्वास्थ्यकर्मीको दुई टिम बनाएर सँगसँगै उपचार भइरहेको छ । वीरमा हाल स्वास्थ्यकर्मीसहित ६५ जना कोरोना संक्रमित आइसोलेसनमा उपचाररत छन् । कोरोना संक्रमितको उपचारका लागि १० आईसीयू र १० भेन्टिलेटर छन् । मन्त्रालयले कोभिड विशेष अस्पताल बनाउने निर्णय गरेपछि वीर अस्पतालले ३ दिनभित्र ११० अट्ने आइसोलेसन बेड बनाउने तयारी गरेको छ । २ हप्ताभित्र ३०० बेडको आइसोलेसन बनाइने वीरमा उपचाररत अरु बिरामी निको भई डिस्चार्ज भएपछि कोरोना संक्रमितको उपचारका लागि २६ वटा आईसीयू र २६ भेन्टिलेटर प्रयोग गर्न सकिनेछ । कोभिड विशेष अस्पताल बनाए पनि वीर अस्पतालले बहिरंग (ओपीडी) सेवा र इमर्जेन्सी सेवा भने सञ्चालन हुनेछ ।

मल नल्याउने ठेकेदार कारबाहीमा
ठेक्का लिएर सम्झौताअनुसार मल ल्याउन नसकेका दुई कम्पनीसँगको सम्झौता खारेज गर्दै सरकारले दुबैलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलसँग रासायनिक मलका लागि गरेको ठेक्का सम्झौता रद्द गरेको हो । दुई कम्पनीले २५र२५ हजार मेट्रिक्टन रासायनिक मल ल्याउने प्रतिबद्धता जनाए पनि करिब पाँच महिना लामो म्याद गुज्रीदा समेत एक किलो समेत मल ल्याउन सकेका थिएनन् । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले सम्झौता अनुसार काम गर्न नसकेका कारण धरौटी स्वरुप राखेको ९ करोड जफत गर्ने निर्णय सहित कालो सूचीमा राख्ने निर्णय गरेको थियो । मन्त्री घनश्याम भुषालले शैलुङ र होनि दुवै कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार गरिएको जानकारी दिए । शैलुङ र होनिले राजनीतिक प्रभावका आधारमा ठेक्का पाएका थिए । शैलुङ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी हुन् भने होनीका सञ्चालक हुमनाथ कोइराला कांग्रेस निकट ठेकेदार हुन् ।

स्वास्थ्यमन्त्री क्वारेन्टिनमा
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ । तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल हाल निवासमै क्वारेन्टिनमा बसेर मन्त्रालयको कामकारबाही गरिरहेका छन् । क्वारेन्टिनमा बसेका मन्त्री ढकालले परिवारको सदस्यलाई संक्रमण भएपछि क्वारेन्टिनमा बसेको जानकारी दिए ।

बाहिरिदै मनसुन, बाढी र पहिरोबाट २६२ को ज्यान गयो
नेपालमा गत जेठ ३० गते भित्रिएको यो वर्षको मनसुन कमजोर भएसँगै बाहिरिने क्रममा रहेको मौसमविदहरुले जानकारी दिएका छन् । नेपालमा मनसुन भित्रिने औसत मिति १० जून हो भने बाहिरिने मिति २३ सेप्टेम्बर हो । तर, कहिलेकाहिँ दुईचार दिन ढिला हुने गरेको छ । मनसुनको प्रकृतिअनुसार यो वर्षपनि कतिपय स्थानहरुमा बाढी पहिरो र डुबानका समस्या देखिएका छन् । बाढी पहिरोमा परेर दर्जनौंको ज्यान गुम्यो भने भौतिक संरचना र खेतियोग्य जमिन पनि गुमेको छ । यस वर्ष मनसुन सुरु भएपछि भदौ १८ गतेसम्मको अवधिमा बाढी र पहिरोमा परी २६२ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी सिन्धुपाल्चोकमा ५५ जनाको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ । गृहका अनुसार पहिरोका कारण ३ करोड ६४ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । सबैभन्दा धेरै भौतिक क्षति व्यहोर्ने जिल्ला ताप्लेजुङ बन्दा आर्थिकरुपमा सबैभन्दा बढी क्षती मोरङ जिल्लामा भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ