Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रदेशसभामा सांसदको तोडफोड, कांग्रेसले अनुशासनको कारबाही गर्ने

प्रदेशसभामा सांसदको तोडफोड, कांग्रेसले अनुशासनको कारबाही गर्ने


काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभामा सोमबार कुसी फुटाउने र माइक तोडफोड गर्ने काम भयो । प्रदेश राजधानी बुटवलबाट दाङको भालुवाङ सार्ने प्रदेश सरकारको निर्णयबाट आक्रोशित बनेका कांग्रेस सांसद यसरी तोडफोडमा उत्रिएका थिए ।

तोडफोडमा उत्रिएका तीनजना प्रदेशसभा सांसदमाथी अनुशासनको कारबाही हुने भएको छ । संसदमा तोडफोड गर्नु नेपाली कांग्रेसको सिद्धान्त र मान्यताविपरीत कार्य भएको भन्दै कांग्रेसको अनुशासन विभागले प्रदेशसभा सदस्य बसिरुद्दिन खाँ, अष्टभुजा पाठक र बैजनाथ कलवारमाथी कारवाही गर्ने तयारी गरेको हो । सोमबार दिउँसो बुटवलमा कांग्रेस सांसदले प्रदेशसभाभित्र तोडफोड गरेको सुन्नासाथ काठमाडौंमा पार्टी सभापति शेरबहादुर देउवा आक्रोशित बनेका थिए । देउवाले केही केन्द्रीय नेताहरुसँग टेलिफोन सम्वाद गरेर कांग्रेसको नीति विपरीत तोडफोड गर्नेहरुलाई तत्कालै कारवाही गर्न निर्देशन दिएको बताइएको छ । तीनैजना प्रदेशसभा सदस्यमाथि विधानको प्रक्रिया पुर्याएर कारवाही गरिने भएको छ । सोमबार बुटवलमा प्रदेशसभाको बैठक भइरहँदा कांग्रेस सांसद बसिरुद्दिन खाँ, अष्टभुजा पाठक र बैजनाथ कलवार तोडफोडमा उत्रिएका थिए । अन्य केही सांसदले उनीहरुलाई साथ दिएका थिए ।

आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसीले प्रदेशको नामकरण र स्थायी राजधानीबारे छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेपछि प्रतिपक्षी कांग्रेसलगयतका सांसदहरु तोडफोडमा उत्रिएका थिए । अबरोधकाबीच सभामुखले बैठकलाई निरन्तरता दिएका थिए । रोष्टम अगाडि उभिएर शान्तिपूर्वक नाराबाजी गर्नु स्वाभाविकै भए पनि सरकारी सम्पतिमाथि भौतिक क्षति पुर्याइएको भन्दै प्रदेश सांसद र कांग्रेसको समेत आलोचन भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत प्रदेशसभा तोडफोडको घटनालाई नेपाली कांग्रेसले ढाकछोप नगर्ने बताइसकेका छन् । केही वर्ष अघिको व्यवस्थापिका संसदको संविधान सभा बैठकमा एमाओवादी सांसदहरुले कुर्सी तथा माइक तोडफोड गरेका थिए । प्रदेश नम्बर ५ को तोडफोडलाई कतिपयले केन्द्रबाट प्रदेश, स्थानीय तहमा सरेको उपद्रोको संज्ञा दिएका छन् । प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ क्षेत्र बनाउने प्रस्ताव मन्त्रिपरिषदबाट पारित गरी सभामा पेस गरेसँगै कांग्रेस सांसदले बिरोध गर्दै आएका छन् ।

सत्तारुढ नेकपाले भने भालुवाङका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । नेकपाले आफ्ना सांसदहरुलाई विशेष निर्देशन ह्विप जारी गरिसकेको छ । नेकपाका ६१ सांसदमध्ये ५९ जनाले मतदान गर्न पाउँछन् । कुल ८७ सदस्यीय प्रदेशसभामा दुई तिहाई मतका लागि ५८ सदस्यको मतदान आवश्यक पर्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ