Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढौँ प्रमुख पाँच खबर

नेपाल अपडेट : पढौँ प्रमुख पाँच खबर


काठमाडौं । नेपालमा कोरोना मिटर उकालो लाग्दैगर्दा चाडपर्व नजिकिएको छ । खाद्यान्न, माछा मासुको उपलब्धता, संकटकाल तथा कर्फ्युको हल्लासँगै सबै स्थानीय तहमा अस्पताल पुर्याउने तयारी सहितका प्रमुख पाँच खबर यस्ता छन् ।

उकालो लाग्दै कोरोना मिटर
पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १५ हजार ७ सय १४ नमुना परीक्षण भएका छन् । काठमाडौं उपत्यकामा मात्रै २ हजार ३ सय ८८ संक्रमित थपिएका छन् । काठमाडौंमा २ हजार ८ , भक्तपुरमा ९९ र ललितपुरमा २ सय ८१ जनालाई कोरोना पोजेटिभ देखिएको छ । यस्तै २४ घण्टामा थप १८ संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ३ सय ३५ जना कोरोनामुक्त भएसँगै ९४ हजार ५ सय १ ले कोरोना जितेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ पुगेको छ । सक्रिय संक्रमितमध्ये १३ हजार ८ सय ५१ जना संस्थागत आइसोलेशन र २६ हजार ९ सय २७ होम आइसोलेशनमा छन् । देशभरका क्वारेन्टिनमा ४ हजार ७० जना रहेका छन् ।

संकटकाल र कर्फ्युको हल्ला गलत : गृह मन्त्रालय
सर्ट म्यासेज सर्भिस (एसएमएस) र सामाजिक सञ्जालमा संकटकाल र कर्फ्यु लाग्ने भनेर फैल्याइएको सूचना गलत भएको भन्दै गृह मन्त्रालयले विज्ञप्ती निकालेको छ । गृह प्रवक्ता सह–सचिव चक्रबहादुर बुढाले सोमबार जारी गरेको विज्ञप्तिमा संकटकाल र कर्फ्यु लाग्ने भनेर फैल्याइएको सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको भनिएको छ । एसएमएस प्रकरणलाई गम्भीरतापूर्वक लिइएको भन्दै आवश्यक अनुसन्धान प्रक्रिया समेत अघि बढाइएको गृह मन्त्रालयले दाबी गरेको छ ।

चडपर्वमा खाद्यान्न, फलफूल, माछामासुको अभाव नहुने
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मुख्य चाडपर्वको समयमा खाद्यान्न, तरकारी फलफूल र माछा मासुको आपूर्ति सहज हुने जानकारी दिएको छ । माछा मासुको उत्पादन मुलुक भित्रै बढेको, खाद्यान्नको मौज्दात पर्याप्त रहेको तथा तरकारी, फलफूल र दलहनको आयात निरन्तर रहकोकाले ढुक्क भएर चाडपर्व मनाउन मन्त्रालयले सबैलाई आग्रह गरेको हो । हाल दुर्गमका २३ जिल्लाहरुमा १५ हजार क्विन्टल खाद्यान्नको मौज्दात रहेको दाबी गर्दै मन्त्रालयले दुर्गमका जिल्लाहरुमा ढुवानी कार्य नियमित रहेको जनाएको छ । देशभर सरकारी कम्पनीसँग १४ हजार र निजी क्षेत्रसँग १ लाख २ हजार मेट्रिक टन चामल मौज्दात रहेको मन्त्रालयले जानकारी गराएको छ । असोज महिनामा प्रतिदिन औषत पाँच हजार ७ सय मेट्रिक टन खाद्यन्न आयात भएको, असोजमा दाल गेडागुडी प्रतिदिन औसत ६ सय मेट्रिक टन आयात भएको मन्त्रालयले जनाएको छ । स्वदेशमा खसी बोकाको उत्पादन बृद्धि हुँदा मागको ९५ प्रतिशत बजार धान्न नेपाली उत्पादन सक्षम रहेको मन्त्रालयले जनाएको छ । महामारीका कारण दसैंको समयमा हुने माग धान्न सक्ने अवस्था बनेको मन्त्रालयको दाबी छ ।

अब देशका ६४९ स्थानीय तहमा अस्पताल बन्ने
गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता नभएका देशका ६४९ स्थानीय तहमा ५ देखि १५ वेड सम्मका अस्पता निर्माण गरिनेभएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसहित दुई मन्त्रालयवीच भएको बैठकले अस्पताल नभएका ६४९ वटा स्थानीय तहमा आगामी मंसिर १५ गते एकैपटक अस्पताल सिलान्यास गर्ने निर्णय गरेको हो । सबै स्थानीय तहमा ५ देखि १५ शैया सम्मका आधारभूत अस्पताल स्थापना गर्ने सरकारको नीति अनुसार अर्थ मन्त्रालयले स्वास्थ्य पूर्वाधार निर्माणका लागि रकम उपलब्ध गराइसकेको छ ।

अव सार्वजनिक सवारी र हवाई उडानमा पुरानै भाडा
मन्त्रिपरिषद् बैठकले छोटो, मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी साधन र आन्तरिक हवाई उडानमा सिट अनुसारको यात्रु क्षमता राख्न पाउने र ११ चैत २०७६ अगाडिकै भाडादर कायम हुने निर्णय गरेको छ । पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्चालनमा सहजता भएको भन्दै सरकारले लकडाउन हुनुअघिकै भाडादर कायम गर्ने निर्णय गरेको हो । सञ्चार मन्त्री पार्वत गुरुङका अनुसार आन्तरिक हवाई उडानमा पनि सोही व्यवस्था लागु गरिएको छ । आन्तरिक हवाई उडानमासमेत सिट क्षमता अनुसार यात्रु बोक्न सक्ने र भाडादर भने चैत ११ अघिकै कायम गरिएको छ



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ