Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपाल अपडेट : पढ्न छुटे की यी प्रमुख खबर ?

नेपाल अपडेट : पढ्न छुटे की यी प्रमुख खबर ?


काठमाडौं । नेपालमा राजनीति, विकास पूर्वाधारमा भए गरेका प्रगती ढिलाई, कोरोना महामारिको अवस्था शिक्षामा भएको गतिबिधि लगायतले प्रथमिकताका आधारमा विभिन्न सञ्चार माध्यममा खबरको महत्व पाएका छन् । यस्ता छन्, पछिल्लो २४ घण्टाका प्रखुख पाँच खबर ।

रानीपोखरी अब पुरानै स्वरुपमा
भूकम्पका कारण भत्किएर पुनर्निर्माण भएको रानीपोखरी पुरानै स्वरुपमा फर्किएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच रानीपोखरीको उद्घाटन गर्नुभएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणको २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले शिलान्यास गर्नुभएको थियो । अहिले रानीपोखरी र पोखरीको बीचमा रहेको बालगोपालेश्वर महादेव मन्दिर पुरानै स्वरुपमा तयार भएका छन् । यसअघि गुम्बज शैलीमा निर्माण गरिएको मन्दिर विज्ञहरुको प्रतिवेदनका आधारमा प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुननिर्माण गरिएको छ । रानीपोखरीलाई आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै विरोध भएपछि पुनः पुरानै शैलिबाट निर्माण गरिएको थियो । विवाद र ठेक्काको अलमलले शिलान्यास भएको करिब ५ वर्षपछि मात्रै रानीपोखरी पुननिर्माणको काम पुरा भएको छ ।

मंसिर ९ बाट कक्षा १२ को परिक्षा
नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलका अनुसार सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्नेगरि परीक्षा तालिका र कार्यविधि तयार भएको हो । शनिबार समेत परीक्षा सञ्चालन गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सम्पन्न हुने छ भने बिहान ८ बजे सुरु हुने छ । कोभिड–१९ संक्रमित विद्यार्थीलाई अहिलेको परीक्षामा सहभागी नहुन अनुरोध गरेको बोर्डले कोरोना मुक्त भएपछि छुट्टै परीक्षाको व्यवस्था गरिने जानकारी गराएको छ । कोरोना महामारीका कारण आफू अध्ययन गरेको विद्यालय रहेको जिल्ला भन्दा फरक जिल्लामा रही आफ्नो विद्यालयमा उपस्थित भएर परीक्षा दिन नसक्ने विद्यार्थीका लागि परीक्षार्थीले यसअघि पेश गरेको विवरणको आधारमा परीक्षामा सहभागी गराइनेछ । बोर्डले गत भदौमा कक्षा १२ का विद्यार्थीको विवरण संकलन गरेको छ । ४० प्रतिशतको मात्रै परीक्षा हुनेछ । बाँकी ४० अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मुल्यांकनका आधारमा जोडिनेछ । आन्तरिक मुल्यांकनमा विद्यार्थीको गृहकार्य, कक्षाकार्य, परियोजना कार्य, सामुदायिक कार्य, अतिरिक्त क्रियाकलाप, सामूहिक कार्य, इकाई परीक्षा, त्रैमासिक परीक्षा लगायतलाई आधार बनाइने छ ।

फेरी बढ्यो रेमिट्यान्स
विदेशबाट नेपाल भित्रने रेमिट्यान्समा ८ प्रतिशतले वद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन र भदौ महिनाको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाहमा ८.१ प्रतिशतको बृद्धि देखिएको हो । राष्ट्र बैंकका अनुसार भदौं मसान्तसम्म १ खर्ब ६५ अर्ब ७३ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले वृद्धि भई १ अर्ब ३९ करोड पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । रेमिट्यान्स आप्रवाह बढेपनि वैदेशिक रोजगारीमा जानेहरु भने नगन्य मात्र छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको यो अवधिमा अन्तिम श्रम स्वीकृति संख्या ०.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समेत समीक्षा अवधिमा ८६.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले बृद्धि भएको थियो ।

ई–पासपोर्ट छपाइको ठेक्कामा फ्रान्सको आईडीईएमआईए
विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइको जिम्मेवारी फ्रान्सको आईडीईएमआईए आइडिन्टीटी एण्ड सेक्युरिटीले पाउने भएको छ । सरकारले आईडीईएमआईएले सबैभन्दा कम मूल्य अर्थात २ अर्ब ४८ करोड (२ करोड ११ लाख अमेरिकी डलर) कबोल गरेको आधारमा ई–पासपोर्टको छपाई ठेक्का दिन लागेको हो । यो त्यही कम्पनी हो, जसले २० लाख ई–पासपोर्ट छाप्न भनी राहदानी विभागले आह्वान गरेको यसअघिको टेन्डरमा पर्याप्त कागजात पेश गर्न सकेको थिएन । गत फागुन १९ फागुनमा दोस्रोपटक आह्वान भएको टेन्डरमा आईडीईएमआईएसहित सहभागी सबै कम्पनीले तोकिएको योग्यता पेश गर्न नसकेको भन्दै असोजको पहिलो सातामा ठेक्का रद्द गरिएको थियो । असोज ८ मा विभागले तेस्रोपटक टेन्डर निकाल्दा आईडीईएमआईएसहित सात विदेशी कम्पनी प्रतिस्पर्धामा थिए । कम्पनीलाई ७ दिनभित्र सम्झौताका लागि सम्पर्कमा आउन सूचना जारी गरिएको राहदानी विभागका निर्देशक राजेन्द्र पाण्डे जानकारी दिनुभयो ।

कोरोना संक्रमण र मृत्युदरमा उच्च रेकर्ड
पछिल्लो २४ घण्टामा उच्च रेकर्ड बनाउँदै ५ हजार ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा बुधबारसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४४ हजार ७७६ रहेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ९९६ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ९९ हजार ६०५ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा उच्च रेकर्ड बनाउँदै २६ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७९१ पुगेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ