Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsगुप्तचर शैलिमा रअ प्रमुखको नेपाल भ्रमण, हस्तक्षप कि जायज ?

गुप्तचर शैलिमा रअ प्रमुखको नेपाल भ्रमण, हस्तक्षप कि जायज ?


काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल नेपालमा २१ घण्टा बसेपनि राजनीतिक हलचल मच्चाएर दिल्ली फर्किएका छन् । बुधबार दिउँसो चार्टर्ड उडानबाट नेपाल आएका उनी बिहीबार बिहान ९ः४५ बजे फर्किएका हुन् ।

बुधबार दिउँसो नेपाल आएका गोयलले क–कसलाई भेटे भन्नेबारे सरकारले सम्पूर्ण सूचना गोप्य राखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक सूर्य थापाले भने प्रेस नोट जारी गर्दै रअ प्रमुख गोयल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको सार्वजनिक गरेका छन् । प्राईम मिनिस्टरस प्रेस एड्भाइजर पेजमा जारी गरिएको प्रेस नोटमा नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बारे छलफल भएको बताइएको छ ।

कुटनीति मर्यादा विपरित भेटवार्ता भएको भन्दै प्रधानमन्त्री र रअ प्रमुख बीचको भेटवार्तामाथी स्थायी समिति सदस्य समेत रहेका नेकपाका नेता भीम रावलले गम्भिर आपत्ती जनाएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत भनेका छन्–नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ । कूटनीतिक मर्यादा विपरीत छ । आएको एकिन भएपनि को कोसँग भेटघाट भयो र कतिबेला फर्किए भन्ने बारे परराष्ट्र मन्त्रालय नै अनविज्ञ छ । भारतीय गुप्तचर प्रमुख गोयलको टोली विहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएपछि दिल्ली फर्किएको प्रमाणित भएको थियो । सत्तारुढ नेकपाकै सचिवालयका नेताहरु गुप्तचर प्रमुखको भ्रमणबारे अन्योल छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले पत्रपत्रिका अनलाईन पढेर भारतीय गुप्तचरको भ्रमणबारे थाहा पाएको बताइरहेका छन् ।

सत्तारुढ दलका नेता मात्रै होइन् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका पदाधिकारी र प्रवक्ता विश्व प्रकास शर्मा समेत रअका प्रमुख गोयलको नेपाल भ्रमणबारे अनविज्ञ छन् । प्रधानमन्त्रीको सचिवालय बाहेक सत्तारुढ दल नेकपाका अन्य नेता र प्रमुख प्रतिपक्षी दलका सभापति सहितका नेताहरुले गोयलसँग आफूहरुको भेटवार्ता नभएको बताएसँगै नेकपामा देखिएको खटपटको समयमा के प्रधानमन्त्री ओलीलाई मात्रै भेट्न उनी नेपाल आएका थिए ? वा प्रधानमन्त्री आफैले निम्ता दिएका हुन भन्ने अनुत्तरित प्रश्नहरु उब्जिएका छन् ।

अचम्मको कुरा त भारतीय गुप्तचर हाकिमको जहाज नेपाल आउने बारेको जानकारी पर्यटन मन्त्रालयले बुधबार बिहान मात्रै नागरिक उड्डयन प्राधिकरण र विमानस्थल कार्यालयलाई जानकारी गराएको थियोे । आइएफसी ४६२० कलसाइनको जहाज बुधबार १ बजे काठमाडौं अवतरण गर्ने र बिहीबार बिहान ९ः४५ बजे फर्कने गरी फ्लाइट प्लान गरिएपनि गोप्य राखिएको थियो । दुई देशबीचको सीमा विवादमा नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय पक्षबाट कुनै उच्च अधिकारी नेपाल नआएको र कोरोना महामारिलाई कारण देखाउँदै टार्दै आएको समयमा भएको रअ प्रमुखको गुप्तचरी भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि सन् २०१९ को जुलाईमा नेपाल आएर उच्चस्तरीय भेटघाट गरेका गोयलले यसपटकको गुप्तचरी शैलिको भ्रमणमा किन प्रधानमन्त्री ओलीलाई मात्रै भेटे ? यसको आवश्यकता र औचित्य खुलेको छैन । गोयलको भ्रमण सम्बन्धमा नेपाली सेनालाई कुनै जानकारी नभएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी गराएका छन । यसपालिको भ्रमणलाई भारत र नेपाल दुवै पक्षले गोप्य राखेका छन् ।

कुन प्रक्रियाबाट आए गुप्तचर शैलिमा रअका प्रमुख ?
कोभिडका कारण नेपाल र भारतका वीचमा नियमित उडान नभएका कारण मंगलबार काठमाडौंस्थित भारतीय दूतावासले नेपाली नागरिक उड्यन मन्त्रालयसँग कूटनीतिक उडानका लागि अनुमति माग्यो । परराष्ट्र मन्त्रालयमा पुगेको प्रस्ताव केहीबेरको छलफलमै स्विकृत भयो । कूटनीतिक अनुमति पाएको भारतीय उडान बुधबार मध्यान्ह त्रिभुवन विमानस्थलमा ओर्लियो । सो उडानमा भारतका को–को कूटनीतिज्ञहरु आएका थिए भन्ने विषयमा उडानको अनुमति दिने परराष्ट्र मन्त्रालय नै अनविज्ञ थियो । रक्षा मन्त्रालयसमेत प्रधानमन्त्री ओलीले नै सम्हालेका बेला भारतीय गुप्तचरको यो भ्रमणबारे सेनालाई समेत जानकारी भएन् । गुप्तचर प्रमुख गोयल काठमाडौं आउने दिन प्रधानमन्त्री ओलीमा विशेष सक्रियता देखिएको थियो । प्रधानमन्त्री बुधबार साँझसम्म सुरक्षा परिषदको बैठकमा व्यस्त बनेका थिए । यो दौडधुपले गोयललाई भारत सरकार आफैंले पठाएको हो कि नेपाल सरकारको आग्रहमा आएका हुन् ?भन्ने प्रश्न उब्जाएको छ । गोयलको भ्रमणबारे परराष्ट्र मन्त्रालय जानकार हुने कुरै थिएन्, यो भ्रमणको तारतम्य प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीको तहबाटै मिलाइएको थियो ।

रअ प्रमुख सामन्तले काठमाडौंमा क–कसलाई भेटे भन्नेबारे पनि परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी भएन । जबकि कोही पनि विदेशीले नेपालमा आएर राजनीतिक भेटघाटहरु गर्दा परराष्ट्र मन्त्रालयबाट अनुमति नलिई भेट्न मिल्दैन । अझ भेटवार्ताका क्रममा परराष्ट्र मन्त्रालयको प्रतिनिधिलाई साथमा राख्नुपर्छ । एयरफोर्समा आउने टोलीलाई अनुमति दिनमात्रै परराष्ट्रसँग अनुमति मागिएको छ । यो भ्रमणले कूटनीतिक आचारसंहितालाई समेत लत्याइएको छ । छिमेकी भारतसँग कूटनीतिक र राजनीतिक वार्ता गर्नुको सट्टा सरकारले भारतीय गुप्तचर प्रमुखलाई स्वागत गरेको भन्दै चौतर्फी आलोचना भएको छ । भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनलाइसिस विङ ‘रअ’का प्रमुख गोयल र अर्का अधिकारी अरुण जैनसहितको टोली काठमाडौं आएर प्रधानमन्त्री लगायतसँग भेटवार्ता गरेको विषयलाई कूटनीतिज्ञहरूले एउटा सार्वभौम देशको दुर्भाग्य भनेका छन् । प्रधानमन्त्रीले उताका प्रधानमन्त्रीसँग, मन्त्रीले मन्त्रीसँग र गुप्तचरका हाकिमले उनकै समकक्षीसँग वार्ता गर्नुपर्ने कुटनीतिक मर्यादाक्रम भएपनि गुप्तचर प्रमुख सीधै प्रधानमन्त्रीसँग भेटवार्ता गर्न विमान चार्टर्ड गरेर आउँनु राष्ट्रवादी र देशभक्त नागरिकका लागि दुर्भाग्य भएको भन्दै कुटनीतिक क्षेत्रमा समेत हलचल मच्चिएको छ ।

आन्तरिक राजनीति कमजोर बनाएर अरुलाई खेल्ने मौका दिने भन्दा पनि लिपुलेक, कालापानी र लिम्पियाधुराको नेपाली भूमि लगायतका असहमति र बिवादमाथी निकास खोज्नेगरि कुटनीतिक संवादको थालनी गर्नुपर्ने परराष्ट्रविद् एवं पूर्वराजदूत हिरण्यलाल श्रेष्ठको धारणा छ । नयाँ नक्सासँगै नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेपछि नेपालले भारतलाई कूटनीतिक नोट पठाएर विरोध जनाउँदै वार्ताका लागि आग्रह गरेपनि रेस्पोन्स भएको छैन । नेपालले पठाएको दोस्रो चिठीको त एक महिनापछि जवाफ पठाएर भारतले वार्ताका लागि प्रस्ताव गरेको मिति गुजारेको थियो । तत्कालीन परराष्ट्रसचिव शंकरदास बैरागीले भारतका नयाँ विदेशसचिव हर्षबर्द्धन शृंगलालाई पठाएको बधाई सन्देशमा परराष्ट्रसचिवस्तरीय वार्ताबारे स्मरण गराए । राजदूत नीलाम्बर आचार्यले उनलाई भेटेर पनि यो विषयमा ध्यानाकर्षण गराएपनि यसमा अहिलेसम्म ठोस जवाफ आएको छैन ।

विदेशसचिव शृंगलाले पहिलो चरणमा भुटान, बंगलादेश, अफगानिस्तान, बंगलादेशको भ्रमण गरेपनि नेपाल आउने मिति तय भएन । कोभिडबीच विदेशसचिव आउन नमिल्ने, गुप्तचरका हाकिम भने आउन मिल्ने ? कतिपय राजनीतिक विश्लेषक र कुटनीतिज्ञले त यस्तो प्रश्न गर्न थालेका छन् । अर्कोतर्फ नेपालको संविधानमै समेटिएको नक्सा भएको पुस्तक बालबालिकालाई पढाउने विषयमा सरकार द्विविधामा परेको छ । त्यो किताब वितरण नगर्नू भनेर प्रधानमन्त्रीबाटै निर्देशन आएको खुलासा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गरेका छन् । यसले समेत हाम्रो राष्ट्रियता र राष्ट्रवात बिसर्जन हुन लागेको त होइन भनेर आशंका गर्ने ठाउँ दिएको छ ।

नेपाली भूमि मिचेर भारतले बनाएको सडकको नेपालमा तीव्र भएपछि त्यसलाई चिनियाँ इसारामा भएको दाबी गर्ने भारतीय सेनाध्यक्ष मणिमुकुन्द नरवणेलाई नेपालमा स्वागत र सम्मानको तयारी भइरहेको छ । भारतका स्थल सेनाध्यक्ष भएपछि पहिलोपटक औपचारिक भ्रमणका क्रममा नरवणे १८ कात्तिकमा नेपाल भ्रमणमा आउदैछन । राष्ट्रपतिले नीति तथा कार्यक्रममा बोलेको विषयमा कठोर टिप्पणी गरेका उनै नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्दैछिन ।

आन्तरिक राजनीति कमजोर बनाएर, देशको एकता खलबल्याएर विदेशीहरुले खेल्ने अवशर दिनु हाम्रै शासक प्रशासकको कमजोरी हो । सबैभन्दा पहिला आन्तरिक राजनीतिक बलियो बनाऔँ । अब चौतर्फी चासो भएसँगै भारतीय भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल नेपाल आएका हुन वा बोलाइएको हो ? उनको भ्रमणको आवश्यकता र औचित्य किन ? भन्ने बारे सरकारले जनतालाई स्पष्ट पार्नुपर्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ