Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यस्ता छन्, प्रमुख पाँच खबर

नेपाल अपडेट : यस्ता छन्, प्रमुख पाँच खबर


काठमाडौं । कोरोनाको मिटर बढ्दैगर्दा उपचार शुल्क लिने वा निशुल्क भन्ने बहस पेचिलोे बनेको छ । हिमाल आरोहणको निरन्तरता, भारतीय सेनापतिको नेपाल भ्रमण, न्यायाधीसको सरुवा लगायत पछिल्ला प्रमुख पाँच खबर यस्ता छन् ।

कोरोना उपचार बारेको विवाद पुनः अदालतमा
कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयलाई लिएर स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अदालतमा अवहेलनाको मुद्दा दर्ता भएको छ । अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा असोज १५ को फैसलाको उल्लंघन भएको जिकिर गरिएको छ । सर्वोच्चले असोज १५ मा कोभिड–१९ सँग सम्बन्धित प्रवर्धनात्मक, प्रतिकारात्मक, निदानात्मक, उपचारात्मक र पुनस्र्थापनात्मक सबै कार्य निःशुल्क गर्न परमादेश जारी गरेको थियो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक २ मा मन्त्रिपरिषद्को असोज १९ को निर्णयअनुसार भन्दै बिपन्न, असहाय, अति अपाङ्गगता भएका, ७० वर्ष नाघेका जेष्ठ नागरिक र फ्रन्टलाइनरमा लक्षण भए परीक्षण र उपचार निःशुल्क गर्ने अरुले आफ्नै खर्चमा गर्नुपर्ने घोषणा गरेको थियो । स्वास्थ्यमन्त्रीलाई अदालतको अवहेलनामा अधिकतम एक वर्ष कैद र १० हजार जरिवाना गर्न माग गरिएको छ ।

अर्कोतर्फ कोरोना संक्रमण परीक्षण निशुल्क गर्न भनी दिएको आदेश पुनरावलोकन गर्न माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले महान्यायाधिवक्ताको कार्यालयमार्फत कोरोना परीक्षण निशुल्क गर्नुपर्ने सर्वोच्चको आदेशविरुद्ध पुनरावलोकन निवेदन दिएका हुन् । मन्त्रालयले कोरोना भाइरस संक्रमण परीक्षणको शुल्क लिनु संविधान र कानुनसम्मत रहेको जिकिर गर्दै उक्त आदेश बदर गर्न माग गरेको छ । रोगको अवस्था, भौतिक पूर्वाधार, स्वास्थ्यसम्बन्धी यन्त्र उपकरण, जनशक्ति, कामको पछिल्लो अवस्था, परमादेश जारी हुनुपूर्व निर्णय भएको जस्ता आधारभूत कुराहरुको विवेचना र विश्लेषण नै नगरि अपरिपक्व ढंगले आदेश जारी गरिएको सरकारको जिकिर छ ।

कोरोना महामारीका बीच ५ वटा टोलीलाई आरोहण अनुमति
कोरोना महामारीका बीचमा खुलेको पर्वतारोहण सिजनका दौरान आइतबारसम्म कुल ५ वटा टोलीले आरोहण अनुमति पाएका छन् । पर्यटन विभागका अनुसार यसबीचमा दुई टोलीका २४ जनाले हिमाल आरोहण गरिसकेका छन् । भने बाँकी ३ टोली आरोहणको तयारीमा छन् । यसरी हिमाल चढ्नेमा बहराइनका राजकुमारसहित रोयल फोर्सको टोली छ । यो टोलीले मनास्लु (८१६३ मि.)को हिमाल चढेर स्वदेश फर्किसकेको छ । अर्को ६ जना समूहको एक नेपाली टोलीले वरुत्से हिमाल आरोहण गरिसकेको छ । यसअवधिमा कतारका राजकुमारसहितको ६ जनाको टोली अमादब्लम (६८१४मि.) हिमाल चढ्न आएको छ । ग्लाल्जेन पीक (६१५१ मि.) र हिमलुङ हिमाल (७१२६ मिं) आरोहण गर्न दुई समूहले अनुमति लिएका छन् । ग्याल्जेन पीका चढ्न अनुमति लिएको तीन जनाको टोली नेपाली र हिमलुङको अनुमति लिएको ५ जनाको टोली विदेशी रहेको बताइएको छ । विभागका अनुसार अहिलेसम्म जारी ५ वटा आरोहण अनुमतिबाट २३ लाख ६० हजार २ सय ८२ रुपैयाँ रोयल्टी उठेको छ । सबैभन्दा बढी १९ लाख ६ हजार ७ सय ४० रुपैयाँ बहराइनका राजकुमारसहितको १८ जनाको टोलीले तिरेको छ । कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लासहितको टोलीले २ लाख ८२ हजार ४ सय ८० रुपैयाँ रोयल्टी तिरेको छ । बाँकी अन्य टोलीबाट उठेको छ । शरद ऋतुमा हिमाल आरोहणको शुल्क वसन्त ऋतुको तुलनामा ५० प्रतिशत कम छ ।

नेपालमा कोरोनाको अवस्था
पछिल्लो २४ घण्टामा २ हजार ९३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा १३ हजार ४४६ जनाको पीसीआर गर्दा यी संक्रमित थपिएका हुन् । २४ घण्टामा ३ हजार १५० जना डिस्चार्ज भएसँगगै कोरोना जित्नेहरुको संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९८४ पुगेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसरी थपिनेमा काठमाडौंमा १३२९, भक्तपुरमा १०८ र ललितपुरमा १९३ रहेका छन् ।

विशेष अदालतका तीन न्यायाधीसको सरुवा
विशेष अदालतका तीन न्यायाधीशको सरुवा गरिएको छ । अध्यक्ष शिवराज अधिकारी, सदस्यहरु कृष्ण गिरी र रवि शर्मा अर्यालको सरुवा गरेर न्याय परिषदले प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेलाई उनीहरुको स्थानमा ल्याएको हो । कार्कीलाई अध्यक्ष र अरु २ लाई सदस्य बनाइएको छ । अहिले विशेषमा बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा र चन्द्रबहादुर सारु कार्यरत छन् ।

भारतीय सेनाप्रमुखको नेपाल भ्रमण परम्पराको निरन्तरता
नेपाली सेनाले भारतीय सेनाप्रमुख जनरल मनोजमुकुन्द नरावणेको नेपाल भ्रमणमलाई परम्पराको निरन्तरता भएको दाबी गरेको छ । यो भ्रमणले दुई देशका सेनाबीचको सम्बन्ध थप सुदृढ हुने बताएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भारतीय सेनाप्रमुख नरवणेको नेपाल भ्रमण मुख्यरुपमा परम्पराको निरन्तरता भएको दाबी गर्दै दुई देशका सेनाबीचको सम्बन्ध थप सुदृढीकरण हुने बताउनुभएको छ । भारतीय सेना प्रमुख नरवाणे आगामी बुधबार नेपालको भ्रमणमा आउँदै छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपालको तीन दिवसीय भ्रमणमा आउन लागेपछि नेपालमा विभिन्न कोणबाट टिकाटिप्पणी सुरु भएका छन् । भ्रमणका क्रममा मानार्थ सेनापतीको सम्मान लिने नरवणेले प्रधानमन्त्री ओलीसँग सिष्टाचार भेट गर्नुहुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ