Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपाल अपडेट : पढौँ यी प्रमुख ५ खबर

नेपाल अपडेट : पढौँ यी प्रमुख ५ खबर


काठमाडौं । राजनीतिक किचलोका कारण सिंगो देश अस्थिरतातर्फ धकेलिने चिन्ता बढ्न थालेको छ । शक्ति केन्द्रबाट नेपालमा जारीरहेको भ्रमण, नीजि उद्योगी व्यवसायीहरुको नयाँ नेतृत्व चयन, सीमा सुरक्षा तथा अपाराध नियन्त्रणमा गृहको चासो, राजश्व अशुलिमा झमेला लगायतका प्रमुख ५ खबर यस्ता छन् ।

चीनबाट ५ करोड युआन बराबरको सैन्य सहयोग घोषणा
चीनले नेपाली सेनासँगको सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउन पाँच करोड युआन बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे नेतृत्वको प्रतिनिधिमण्डल र प्रधानसेनापति पूर्णचन्द्र थापा नेतृत्वको टोलीबीच दुवै देशका सेनाबीचको विद्यमान सौहाद्र्रपूर्ण मित्रवत् सम्बन्धलाई सुमधुर, मजबुत एवं अझ विस्तार गर्न अतिरिक्त सहयोग तथा सहकार्यको आदानप्रदान भएको हो । यसअघि चीनले १५ करोड युआन बराबरको सैन्य सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाउँदै सोही अनुसार सहयोग गर्दै आएको छ । कोभिड–१९ का कारण रोकिएका सैन्य सहयोगको ‘प्याकेज’ले अब निरन्तरता पाउने, विगतमा भएका द्विपक्षीय सहमति र सैन्य सहायता कार्यान्वयन तथा रोकिएका तालीम एवं शिक्षार्थी आदानप्रदानका कार्यक्रम पुनः सञ्चालन गर्न चीनले तत्परता देखाएको बताइएको छ । आठघण्टाको व्यस्त कार्यतालिका पूरा गरेर इस्लामावाद प्रस्थान गर्नुअघि गृहमन्त्री रामबहादुर थापालाई आफ्नो भ्रमणबारे ‘ब्रिफिङ’ गर्दै रक्षामन्त्री बेइले प्रशन्न मुद्रामा भन्नुभयो, “म र मेरो प्रतिनिधिमण्डललाई प्रदान गर्नुभएको आतिथ्यताबाट म र मेरो प्रतिनिधिमण्डल ज्यादै प्रभावित भएको छ । हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ एवं उन्नत तुल्याउन मेरो भ्रमण सफल एवं सार्थक रह्यो ।”राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएको प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएका चीनियाँ रक्षामन्त्री बेइले नेपालको विकास प्रक्रियामा हरसम्भव सहयोग गर्न चीन प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघमा अब नयाँ नेतृत्व
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पदभार ग्रहण गर्नुभएको छ । महासंघको ५४ औं वार्षिक साधारण सभाले वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्ष एवं कार्यकारी समिति निर्वाचित गरेपछि यसअघि वरिष्ठ उपाध्यक्षमा निर्वाचित गोल्छाले आगामी तीन वर्षका लागि अध्यक्षको पदभार ग्रहण गर्नुभएको हो । गोल्छालाई निर्वतमान अध्यक्ष भवानी राणाले पद तथा गोपनियताको सपथ गराउँदै अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो । त्यसलगत्तै अध्यक्ष गोल्छाले नव निर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू अन्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघाईसहित नव निर्वाचित सदस्यहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । निवर्तमान अध्यक्ष भवानी राणाले कठिन समयमा निजी क्षेत्रको समस्या समाधान, कोभिड १९ ले गम्भीर समस्या पारेको बेलामा खेलेको भूमिकाको प्रशंसा गर्दै नवनियुक्त अध्यक्ष गोल्छाले महासंघलाई थप बलियो, पारदर्शी र निष्पक्ष बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सीमा सुरक्षा र अपराध नियन्त्रणमा गृहका चासो
गृह मन्त्रालयले सीमाको सुरक्षा र सीमा क्षेत्र भएर हुने अपराध नियन्त्रणमा सक्रियतापूर्वक जिम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ ।गृह सचिव महेश्वर न्यौपानेले सीमा रक्षाका साथै सीमा अपराध, राजश्व चुहावट, चोरीपैठारी निकासीका गतिविधि नियन्त्रणमा संवेदनशील भएर कार्य क्षेत्रमा खटिन सशस्त्र प्रहरी अधिकृतलाई निर्देशन दिनुभएको हो । बाहिनीपतिका रुपमा सरुवा भई त्यसतर्फ जान लागेका सशस्त्र प्रहरीका अधिकृतको सशस्त्र प्रहरी बल नेपालको मुख्यालयस्थित बिदाई समारोहमा गृहसचिव न्यौपानेले निर्दिष्ट लक्ष्य प्राप्तिमा पूर्ण व्यावसायिक भई खटिन अनुरोध गर्नुभएको हो । उहाँले विपद् व्यवस्थापन कार्यमा सशस्त्र प्रहरीले पु¥याएको योगदान र कोभिड–१९ महामारी नियन्त्रण तथा व्यवस्थापनमा पुर्याएको योगदानको भने खुलेर प्रशंसा गर्नुभएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल राज्य तथा सङ्गठनले लिएको लक्ष्य प्राप्तिका लागि तथा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् प्रकोप पीडित नागरिकको उद्धारलगायतका जिम्मेवारीमा अहोरात्र खटिएको जानकारी गराउनुभयो । गृह मन्त्रालयले हालैमात्र उपत्यका र विभिन्न जिल्लाका नौजना बाहिनीपतिको सरुवा गरेको थियो ।

१ खर्ब ४९ अर्ब ९६ करोड बराबरको राजस्व मुद्धा मामिलाका कारण रोकियो
कर प्रशासनले निर्धारण गरेको कर रकममा चित्त नबुझाएर मुद्दा मामिलामा जाँने क्रम बढ्दा राजस्व असुलीमा ठूलो रकम बक्यौता बस्न थालेको छ । यसले सरकारको वाषिर्क राजस्व संकलन लक्ष्य समेत प्रभावित बनाएको छ । आन्तरिक राजस्व विभागका अनुसार अहिले मुद्दा मामिलाका कारण बेरुजु र कर बक्यौता रकम १ खर्ब ४९ अर्ब ९६ करोड पुगेको छ । यसमध्ये ४९ अर्ब ४७ करोड रुपैयाँ बेरुजु हो । सरकारले असुल गर्न बाँकी बक्यौता भने १ खर्बभन्दा माथि पुगेको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद कुँवर पछिल्लो समय मुद्दा मामिलाको प्रक्रियामा जाने प्रवृत्ति बढ्दो क्रममा रहेको बताउनुहुन्छ । नियमअनुसार कर कार्यालयले निर्धारण गरेको रकमको २५ प्रतिशत बुझाएपछि प्रशासकीय पुनरावलोकनको प्रक्रिया थाल्न सकिन्छ । त्यसमा पनि चित्त नबुझे पुनरावेदन र त्यसमा पनि चित्त नबुझे सर्वोच्चसम्म जान सक्ने सुविधा करदातालाई छ । आन्तरिक राजस्व विभागका अनुसार चालु आर्थिक वर्ष २०७७\०७८ का लागि कुल ८६८ वटा निवदेन प्रशासनीय पुनरावलोकनका लागि आएका छन् । आव ०७५\७६ बाट जिम्मेवारी सरी आएका निवेदनको संख्या १२ सय ४० छ । आव ०७६\७७ मा मात्र ४८८ वटा निवेदन दर्ता भए । कुल १७ सय २८ निवेदनमध्ये विभागले आव ०७६\७७ मा ८६० वटा फछ्र्याैट गरेको छ । चालु आव लागि ८६८ वटा निवेदन बाँकि रहेको विभागको तथ्यांक छ ।

अब नेपाल भारत नियमित हवाइ उडान
सरकारले नेपाल–भारत नियमित हवाइ उडान सञ्चालन खुला गरेको छ । कोरोना महामारि नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले गएको चैतदेखि रोकिएको नेपाल–भारत हवाइ उडान खुला गर्ने निर्णय भएपनि दुई देशका नागरिक मात्र आउजाउ गर्न पाउने छन् । यसरी हुने उडान संख्या दैनिक दुई वटा निर्धारण गरिएको छ । हाल नेपाली ध्वजावाहक नेपाल एयरलाइन्सले एउटा र भारतीय वायुसेवाले एउटा गरी दुईवटा उडान हुनेछन् । भारतसँगको नियमित उडान खुलाको निर्णय प्रक्रियामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ