Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालले अब अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् निर्यात गर्न पाउने

नेपालले अब अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् निर्यात गर्न पाउने


काठमाडौं । नेपालले अब भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा बिजुली बेच्न पाउने भएको छ । सोमवार नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा बिजुली बेच्न गर्न अनुमति पाएको हो ।

भारतको विद्युत् मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत् व्यापारका लागि स्वीकृति दिने निकायले अनुमति दिएसँगै मंगलबार राती १२ बजेदेखी ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् निर्यात सुरु गर्ने बताइएको छ । अहिले यो लाइनबाट विद्युत् आयात मात्र हुँदैआएको छ । पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स) मा बेच्न अनुमति दिइएको हो । दुई विद्युत् गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बेच्नका लागि अनुमति दिइएको छ । प्राधिकरणले गएको वैशाख १७ गतेदेखि आवश्यक परेको बेला आईआईएक्समार्फत प्रतिस्पर्धी दरमा बिजुली आयात गर्दै आएको छ । निर्यातको अनुमति पाएसँगै नेपाल र भारतबीचको विद्युत् व्यापार नयाँ चरणमा प्रवेश गरेको प्राधिकरणले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल भारतीय ऊर्जा एक्सचेन्ज बजारबाट विद्युत् बिक्री र खरिदका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश बनेको बताउनुहुन्छ । ‘राजनीतिक, कुटनीतिक र प्रशासनिक तहको निरन्तरको प्रयासबाट नेपालमा खपत गरेर जगेडामा रहेको विद्युत् बिक्रीका लागि अनुमति पाएका छौँ, यो दुई देशबीचको ऊर्जा व्यापारका लागि एउटा कोशेढुङ्गा हो’, मन्त्री भुसालले बताउनुभयो । ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ६९ मेगावाटको मर्स्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोसी विद्युत् गृहबाट उत्पादित विद्युतको भारतीय बजारमा बिक्रीको अनुमति छिट्टै पाउने मन्त्री भुसालको विश्वास थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातका लागि भारतीय पक्षबाट सहमति प्राप्त भएसँगै नेपाल–भारतबीचको सम्बन्धमा थप इँटा थपिएको जानकारी दिनुभयो ।

भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालले विद्युत् बिक्री गर्ने छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा गर्नेछ । विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुने छ । प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत् निर्यात हुने बताइएको छ । भारतमा कोइलाको मूल्य बढ्दा एक्सचेन्ज मार्केटमा प्रति युनिट विद्युतको मूल्य २८ भारतीय रुपैयाँ (भारु) सम्म पुग्नेगरेको छ ।

प्राधिकरणको तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय (Nodal Agency) एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) ले गर्ने बताइएको छ । एनभीभीएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन बेलुका ६ बजे नेपाल विद्युत प्राधिकरणलाई पठाउने गरि संयन्त्र तयार पारिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ