Wednesday, 19 June 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaटी–२० विश्वकप : उत्कृष्ट खेलले मन जिते पनि इतिहास रच्नबाट एक रनले चुक्यो नेपाल

टी–२० विश्वकप : उत्कृष्ट खेलले मन जिते पनि इतिहास रच्नबाट एक रनले चुक्यो नेपाल

दक्षिण अफ्रिका १ रनले विजयी


काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी- २० विश्वकप क्रिकेट अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनको हारले स्तब्ध भएको छ । ११६ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय १४ रनमा समेटिएको हो ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रीकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनायो । दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । क्वीन्टन डी ककले ११ बलमा १० रन मात्रै जोड्न सके । दक्षिण अफ्रिकालाई सस्तोमा समेट्ने क्रममा नेपालका लागि कुशल भुर्तेलले ४ विकेट हात पारे । ४ ओभर बलिङ गर्दै उनले १९ रन दिए । ४ ओभर बलिङ गर्दै मात्र २१ रन खर्चिएका दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । नेपाली टिममा कम्ब्याक गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै १८ रन खर्चिए पनि विकेट लिएर किर्तिमानी रेकर्ड राख्न चुकेका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले निकै उत्कृष्ट प्रदर्शन गरेपनि हार टार्न सकेन ।नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अनिल साहले २४ बलमा २७ रनको योगदान दिए । उनले यस क्रममा ३ चौका र एक छक्का प्रहार गरे । नेपालका लागि ओपनर कुशल भुर्तेलले २१ बलमा १३ रन जोडे । उनले एक चौका र एक छक्का प्रहार गरे । दक्षिण अफ्रिकाका लागि ताब्राइज साम्सीले ४ विकेट लिए भने एनरिच नोर्टजे र ऐडन मार्क्रमले १–१ विकेट हात पारे ।

तेस्रो खेलमा दोस्रो हार बेहोरेको नेपालको सुपर ८ मा पुग्ने सम्भावना समाप्त भएको छ । तीन खेलबाट नेपालको एक अंक मात्र जोडेको छ । अब बंगलादेशसँगको अन्तिम खेल खेलेर नेपाली टिम घर फर्किनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ