Wednesday, 31 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalसंविधान बनेको १० वर्ष मा पनि शान्तिकै बहस, के भन्छन्– व्यवसायी र नेता ?

संविधान बनेको १० वर्ष मा पनि शान्तिकै बहस, के भन्छन्– व्यवसायी र नेता ?


काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले २४ भदौको आगजनीमा संलग्नलाई कारबाही नहुँदा निजी क्षेत्र चिन्तित बन्नुपरेको बताउनुभएको छ ।

महास‌घंले आयोजना गरेको शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य विषयक कार्यक्रममा उहाँले लोकतन्त्रलाई संस्थागत गर्ने विधिका रुपमा निर्वाचनका लागि नेपाल सरकारको अग्रसरता र मेहनत प्रशंसनीय रहेको भन्दै भदौँ २३ र २४ को हिंसामा मौन बस्न नहुने बताउनुभएको हो । उद्योग वाणिज्य महास‌घंले आयोजना गरेको शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य विषयक कार्यक्रममा उद्योगी व्यवसायीहरुले सरकारलाई सहज वातावरण बनाउन ध्यानाकर्षण गराउनुभएको छ ।

कार्यक्रममा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनले राजनीतिक नेतृत्वहरूलाई आत्मसमीक्षा गर्न उत्प्रेरित गरेको तर वर्तमानको परिवर्तनका नाममा इतिहासले पुरै बेवास्ता गर्न नमिल्ने बताउनुभएको छ । यस्तै, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा तोडफोडमा उत्रिनेमाथि पनि कारबाही नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीलाई नै प्रश्न गर्नुभएको छ । कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भदौ २३ गतेको जेनजी आन्दोलनको क्रममा राज्यसत्ताको तर्फबाट भएको दमन गलत भएको बताउनुभएको छ । उहाँले २४ गतेको बिध्वंसमा संलग्नलाई कारबाही गर्न र दमनमा संलग्नहरुलाई समेत छानविन मार्फत कारबाहीको दायरामा ल्याउन ध्यानाकर्षण गराउनुभएको छ ।

रास्वपा उपसभापति डीपी अर्यालले संविधान बनेको १० वर्ष बितिसक्दा पनि शान्तिकै विषयमा बहस गर्नुपर्ने अवस्था आउनुको कारण खोज्नुपर्ने, भदौ २३ र २४ को घटना किन भए भन्ने विषयमा पनि बहस हुनुपर्ने बताउनुभएको छ । उहाँले पटक पटकका आन्दोलनमा उद्योगी व्यवसायी र नीजि क्षेत्रले ब्यहोर्नुपरेको क्षतिबारे समेत गम्भिर बन्नुपर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाललाई शान्ति क्षेत्र घोषणा गरेर मान्यता लिने र प्रविधि, पर्यटन, कृषीको सम्भावनालाई चिनेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ