Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaराजदूत बड र समाभुख सापकोटाबीच भेटवार्ता, अस्ट्रेलिया नेपाल व्यवसायिक उडानको प्रतिबद्धता

राजदूत बड र समाभुख सापकोटाबीच भेटवार्ता, अस्ट्रेलिया नेपाल व्यवसायिक उडानको प्रतिबद्धता


काठमाडौं । नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बडले सभामुख अग्निप्रसाद सापकोटासँग बिदाइ भेट गर्नुभएको छ । आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत पिटरले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर बिदाइ भेट गर्नुभएको हो ।

भेटमा सभामुख सापकोटाले नेपाल र अस्ट्रेलियाबीच ६० बर्ष लामो सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा सम्बन्धलाई थप प्रगाढ बनाउन राजदूत बडले गरेको योगदानको प्रशंसा गर्नुभएको थियो । नेपाल र अस्ट्रेलिया दुवै देश कोभिड १९ र जलवायु परिवर्तन चुनौतीको सामना गरिरहेको बताउँदै चुनौतीका बीचमा नयाँ सम्भावना खोजिनु पर्नेमा सभामुख सापकोटाको जोड थियो । हालै नेपाल र अस्ट्रेलियाबीच सुरु भएको सिधा हवाई सेवा आगामी दिनमा समेत सुचारु रहने विश्वास उहाँले व्यक्त गर्नुभयो । नेपालमा रहेका भुटानी शरणार्थी व्यवस्थापन र भूकम्पका बेला गरेको सहयोगप्रति आभार व्यक्त गर्दै अस्ट्रेलियाले नेपालमा गरिरहेको बहुआयामिक सहयोग जारी रहने सभामुख सापकोटाको विश्वास थियो । बिदाइ भेटका क्रममा राजदूत बडले आफ्नो साढे तीन बर्षे नेपाल बसाइ सुखद् भएको जानकारी दिँदै स्वदेश फर्केपछि पनि नेपाल–अस्टे«सलया सम्बन्ध बलियो बनाउन लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल र अस्ट्रेलियाबीच सुरु भएको सीधा हवाइ सेवा आगामी दिनमा व्यवसायिक रुपमा अघि बढ्ने विश्वास राजदूत वडले समेत गर्नुभएको छ । दुई देशबीच सहकार्यको लामो इतिहास स्मरण गर्दै राजदूत बडले आगामी दिनमा अस्ट्रेलियाबाट उर्जा क्षेत्रमा ठूलो लगानी आउने जानकारी गराउनुभएको थियो । नेपाल र अस्ट्रेलिया दुवैले जलवायु सम्बन्धि समान संकटको सामना गरिरहेको स्मरण गराउँदै राजदूत बडले जलवायु परिवर्तन र मानव अधिकारका क्षेत्रमा सहकार्य जारी रहने विश्वास व्यक्त गर्नुभएको छ । पछिल्लो समय जलवायु परिवर्तनको असर स्वरुप नेपालमा हिमतालको चुनौती र अस्ट्रेलियाले आगलागीको सामना गर्नु परिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ