Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News‘रामको जन्मभूमि नेपाल नै हाे, मन्दिर निर्माण थाल्नु’ : प्रधानमन्त्री ओली

‘रामको जन्मभूमि नेपाल नै हाे, मन्दिर निर्माण थाल्नु’ : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको दाबी गर्दै अयोध्याधाममा राम मन्दिर बनाउन माडीका जनप्रतिनिधिहरुलाई निर्देशन समेत दिनुभएको छ । अगस्ट ८ मा माडी नगरपालिकाका जनप्रतिनिधिहरुसँग भएको भेटका क्रममा प्रधानमन्त्री ओलीले रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको दाबी सहित त्यो क्षेत्रलाई अयोध्याधामकै रुपमा विकास गर्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अयोध्यापूरीका जनप्रतिनिधिसँग प्रधानमन्त्रीले शनिबार साँझ भेट गरेको तथा भेटमा प्रधानमन्त्री ओलीले त्यहाँका जनप्रतिनिधिलाई राम मन्दिर बनाउने तयारी शुरु गर्न निर्देशन दिएको बताउनुभयो । माडी नगरपालिकाको नाम नै परिवर्तन गरेर अयोध्यापुरी बनाउन समेत प्रधानमन्त्रीले सुझाब दिनुभएको थियो । माडी नगरपालिकाले गठन गरेको अयोध्या खोज, अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेलले रामनवमीमा भव्य मेलाको तयारी गर्न प्रधानमन्त्रीले सुझाव दिनुभएको बताउनुभयो । ‘आउँदो रामनवमीमा बृहत् धार्मिक मेला गर्न तथा अर्को वर्षको रामनवमीमा राम–सीता र लक्ष्मणको विशाल मूर्ति नै स्थापना गर्न प्रधानमन्त्रीले सुझाव दिनुभएको थियो’- पौडेलले भन्नुभयो ।

ऐतिहासिक तथ्य र प्रमाणका आधारमा राम जन्मभूमि माडीको अयोध्यापुरीमै भएको हो भन्दै प्रधानमन्त्रीले मन्दिर निर्माणलगायत काममा सरकारका तर्फबाट सहयोग उपलब्ध हुने बताउनुभएको माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोले जानकारी दिनुभयो । यसअघि प्रधानमन्त्री ओलीले मदन जयन्तीको अवसरमा भगवान रामको जन्मभूमि नेपाल भएको र भारतले नक्कली अयोध्या खडा गरेको अभिव्यक्ति दिएसँगै भारतले खण्डन गरेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ