Thursday, 25 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalऔपचारिक भ्रमणका लागि कतारका अमिर नेपाल आउँदै, राष्ट्रपति पौडेलले स्वागत गर्ने

औपचारिक भ्रमणका लागि कतारका अमिर नेपाल आउँदै, राष्ट्रपति पौडेलले स्वागत गर्ने

आज सार्वजनिक बिदा !


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने राजकीय भ्रमणका लागि आज नेपाल आउँदैछन् । दुई दिने भ्रमणका क्रममा मंगलबार अपराह्न काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जानकारि दिएको हो ।

राष्ट्रपतिको कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका अमिर शेख तमिमलाई स्वागत गर्न स्वयं राष्ट्रपति पौडेल जानेछन् । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ । मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो । नेपाल सरकार,मन्त्रिपरिषद् बैठकले उनको नेपाल भ्रमण कार्यक्रम स्वीकृत गर्नुका साथै भ्रमणका अवसरमा वैशाख ११ गते नेपालभर सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ । साथै सरकारले कतारसँग हुने द्विपक्षीय वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने निर्णय गरेको छ । कतारी अमिरले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले उनको सम्मानमा सोही साँझ राजकीय भोजको आयोजना गर्नेछन् । यस्तै कतारका अमिर शेख थानीले यही वैशाख १२ गते प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्नेछन् ।

वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनेछन् । भ्रमणका क्रममा नेपाल र कतारबिचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । यस्तै दुवै सरकारबिच शिक्षा,उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । कतारमा कार्यरत नेपाली कामदारको हकहितका लागि भ्रमणका क्रममा छलफल हुने तय भए पनि नयाँ सम्झौता गर्ने सम्बन्धमा भने अझै टुंगो लागिसकेको छैन । कतारका अमिर वैशाख १२ गते बुधबार अपराह्न काठमाडौँबाट कतार प्रस्थान गर्नेछन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ