Friday, 26 July 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजिल्ला अदालतको फैसला उच्चमा उल्टियो, क्रिकेटर सन्दिपले पाए सफाइ !

जिल्ला अदालतको फैसला उच्चमा उल्टियो, क्रिकेटर सन्दिपले पाए सफाइ !


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको फैसला उल्ट्याउँदै सन्दिपलाई सफाइ दिने फैसला सुनाएको हो ।

सफाइका २ मुख्य आधार
– गौशाला २६ नाबालिक भन्ने दाबी प्रमाणित कागजातले प्रमाणित नहुनु
– प्राप्त भिडियो प्रमाणले जबरजस्ती करणी गरेको पुष्टि हुने कुनै आधार नभेटिनु

लामो समयदेखि उच्च अदालतमा पेशी चढ्दै आएको भएपनि सुनुवाई हुन नसकेको सन्दिपको पुनरावेदन मुद्धामा मंगलबारबाट सुनुवाई सुरु भएर बुधबार सकिएको थियो । बुधबार बहश सकिएपछि न्यायाधीशहरुले पीडित भनिएकी युवती र लामिछाने होटलमा बसेको सिसिटीभी भिडियो फुटेज समेत हेरेका थिए । सरकारी पक्षले लामिछाने र पीडित गौशाला २६ बस्ने भनी पुगेको होटलको सीसीटीभी फुटेज पेस गरेको थियो । उमेर नपुगेको सरकारी पक्षको दाबी प्रमाणित नहुने र संलग्न सबुदप्रमाणले जबरजस्ती करणी गरेको पुष्टि नगर्ने सन्दिप पक्षको दाबी भिडियो फुटेजबाट प्रमाणित भएपछि जिल्लाको फैसला उल्टिएको छ । यसअघि उच्च अदालत पाटनले नै गत पौष २८ गते २० लाख रुपैयाँ धरौटी लिई लामिछानेलाई तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।

यता अदालती फैसलापछि सन्दिप समर्थकहरुले खुसीयाली मनाएका छन् । अदालती कारबाही चलिरहँदा लामिछानेका समर्थकहरू अदालतबाहिर समेत भेला भएका थिए । फैसलापछि क्रिकेटर लामिछाने र उनका वकिलहरुले उच्च अदालतले न्याय दिएको बताएका छन् । गत पुस महिनामा जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई जरिवाना र पीडितलाई क्षतिपूर्ति दिनुपर्नेसहित आठ वर्षको जेल सजाय तोकेको थियो । लामिछानेले तीन लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने निर्णय पनि अदालतले गरेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान भएकै बेला बलात्कार मुद्धा लागेपछि लामिछानेको क्रिकट करिअर धरापमा परेको थियो । क्यानले जिम्मेवारीबाट हटाएसँगै खेल जीवनबाट सामान्य जीवनयापनमा पुगेका सन्दिप उच्चको पछिल्लो फैसलासँगै पुनः क्रिकेट दुनियामै फर्किने भएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ