Tuesday, 4 June 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsटी-२० विश्वकप मा आज राती नेदरल्यान्ड्ससँग नेपाल भिड्दै, कप्तान पौडेल भन्छन– ‘जित्नेगरि खेल्छौँ’

टी-२० विश्वकप मा आज राती नेदरल्यान्ड्ससँग नेपाल भिड्दै, कप्तान पौडेल भन्छन– ‘जित्नेगरि खेल्छौँ’


काठमाडौं,अमेरिका । नेपालले आईसीसी टी-२० विश्वकप २०२४ मा आज राती नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति ९ : १५ मा अमेरिकाको डालसमा रहेको ग्राड प्रेरी क्रिकेट रंगशालामा हुँदैछ । एशोसिएटका शीर्ष टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिदैगर्दा नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहितकुमार पौडेलले पहिलो खेल भएकाले जितका लागि खेल्ने बताउनुभएको छ ।

अलराण्डर दीपेन्द्रसिंह ऐरी नेपालका लागि जित दिलाउने आशा गरिएका खेलाडी हुन । दीपेन्द्रले मध्यक्रम र तल्लोक्रममा ब्याटिङ गर्नुको साथै अफ स्पिन बलिङ गर्ने गर्दछन् । दीपेन्द्र ब्याट र बल मात्रै नभएर फिल्डिङबाट पनि उत्कृष्ठ खेल पस्किदै खेल जिताउन सक्ने अद्भूत क्षमता भएका खेलाडी हुन् । यता, नेपालले नेदरल्यान्ड्सका युवा अलराउण्डर बास डि लिडेको चुनौती सामना गर्नुपर्नेछ । वर्तमान एशोसिएट क्रिकेटका उत्कृष्ट क्रिकेटर लिडेले २०२३ मा आईसीसीको एशोसिएट उत्कृष्ट खेलाडीको अवार्ड समेत जितेका छन् । उनले पछिल्लो सिजनमा उत्कृष्ट खेल्दैआएका छन् । टिम जित्न टोलीका सबै खेलाडीले राम्रो प्रदर्शन गर्नुपर्छ । तर, टी- २० क्रिकेटमा एउटै खेलाडीले एक्लै खेल जिताउन र हराउन सक्ने भएकाले उत्कृष्ट लयका खेलाडी क्रिजमा हुँदासम्म विपक्षी दबाबमा रहनेगर्छन । कुशल मल्ल, गुल्शन झाको अलराउण्ड भुमिका रहने पक्कापक्की छ । बलिङमा सोमपाल कामी, करण केसी, अभिनास बोहरा र ललितनारायण राजबंशीले प्लेइङ–११ मा रहेर उत्कृष्ठ खेल पस्किने आशा गरिएको छ ।

खेल हेर्न नेपाली समर्थक आतुर छन् । समान हैसियतमा रहेका नेपाल र नेदरल्याण्डस् दुबै विश्वकपमा सुखद सुरुवातको रणनीतिमा हुनेछन् । नेदरल्याण्डसलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्न मुख्य प्रशिक्षक मोन्टी देशाई र कप्तान रोहितकुमार पौडेलले बलियो रणनीति अपनाउनु पर्नेछ । टि–२० विश्व वरियताको १५ औँ स्थानमा रहेको नेदरल्याण्डस्ले १७ औँ स्थानमा रहेको नेपाललाई बलियो चुनौती दिने कुरामा दुईमत छैन् । दुई स्थानमाथि रहेको नेदरल्याण्डस्लाई रोक्दै उत्कृष्ट आठभित्र पर्ने सम्भावना बलियो पार्न नेपालले कडा मेहनत गर्नपर्ने देखिन्छ । एक महिना अघि नै अमेरिका पुगेको नेपाली टोलीले कडा अभ्यास समेत गरेको छ ।

यस्तो छ नेपाल र दरल्यान्ड्सबीच को विगतको नतिजा
नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म टी-२० आईमा १२ खेल भएका छन् । टी २० आईको हेड टु हेडमा नेपाल ५ खेलमा विजयी, ६ खेलमा पराजित भएको छ । १ खेल नतिजाविहीन बनेको छ । टी-२० विश्वकपमा भने नेपाल र नेदरल्यान्ड्स बीचको यो नै पहिलो भिडन्त हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ