Wednesday, 26 June 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaटि–२० विश्वकप क्रिकेट सेमिफाइनल समीकरण रोचक, अष्ट्रेलियन फास्ट बलर कमिन्सको विश्वरेकर्ड !

टि–२० विश्वकप क्रिकेट सेमिफाइनल समीकरण रोचक, अष्ट्रेलियन फास्ट बलर कमिन्सको विश्वरेकर्ड !


काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकप क्रिकेट सुपर ८ का खेलहरू जारी रहँदा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ । सुपर ८ का आठवटा खेल सकिँदा सेमिफाइनलको समीकरण रोचक बनेको हो ।

दुई वटा समूहका दुई–दुईवटा मात्र खेल बाँकी रहँदा कुनै पनि टीमले सेमिफाइनलमा आफूलाई सुरक्षित गर्न सकेका छैनन । यद्यपि, अहिलेको अंक तालिकाका आधारमा पहिलो ग्रुपबाट भारत र दोस्रो ग्रुपबाट साउथ अफ्रिकाको सम्भावना बलियो देखिएको छ । यी दुई टिमले दुई खेलमा दुवै जितेर ४ प्वाइन्ट ल्याएका छन् । सुपर ८ को समूह १ अन्तर्गत आज अष्ट्रेलियाले अफगानिस्तानलाई हराएको भए भारत र अष्ट्रेलिया सेमिफाइनलमा पुग्नेमा अफगानिस्तानसँग अष्ट्रेलिया २१ रनको हारले स्तब्ध बनेको छ । यो खेलसँगै अष्ट्रेलिया धरापमा पर्दा सेमिफाइनल समिकरण उथलपुथल भएको छ । सोमबार हुने खेलमा यदि अष्ट्रेलिया भारतसँग पराजित भयो र मङ्गलवार हुने खेलमा अफगानिस्तानले बंगलादेशलाई हरायो भने अष्ट्रेलिया सुपर ८ बाट बाहिरिने छ । यसरी हेर्दा अफगानिस्तान भारतसँगै सेमिफाइनलमा पुग्छ । अष्ट्रेलिया र अफगानिस्तान दुवै हारे भने नेट रनरेटका आधारमा अष्ट्रेलिया, अफगानिस्तान र बंगलादेशमध्ये एक टीम भारतसँग सेमिफाइनलमा पुग्छन् । अष्ट्रेलियाले जित्यो र अफगानिस्तान हार्‍यो भने अष्ट्रेलियाको भाग्य खुल्नेछ । बंगलादेशले ठूलो अन्तरले अफगानिस्तानलाई जित्यो र अष्ट्रेलियाले ठूलो अन्तरले भारतसँग हार्‍यो भने बंगलादेशको भाग्य खुल्नसक्छ । भारत अन्तिम खेलमा अष्ट्रेलियासँग पराजित भएपनि नेट रनरेटका आधारमा सेमिफाइनलमा पुग्ने अवस्थामा छ । अष्ट्रेलियाले भारतलाई विशाल अन्तरले हरायो र अफगानिस्तानले पनि बंगलादेशलाई ठूलो अन्तरले हराएमा भारत घर फर्किनुपर्ने अवस्था आउनसक्छ ।

अष्ट्रेलिया अफगानिस्तानसँग पराजित हुँदा प्याट कमिन्सको विश्व रेकर्ड
अष्ट्रेलियन फास्ट बलर प्याट कमिन्सले आईसीसी टी–२० क्रिकेट अन्तर्गत सुपर ८ को आफ्नो खेलमा अफगानिस्तानविरुद्ध ह्याट्रिक विकेट लिंदै लगातार दुई खेलमा ह्याट्रिक लिने कीर्तिमान बनाएका छन् । कमिन्स टी–२० विश्वकपको एकै संस्करणमा लगातार दुई खेलमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी बने । यस्तै,टी–२० विश्वकप इतिहासमै दुई पटक ह्याट्रिक विकेट लिने पनि कमिन्स एक मात्र बलर हुन् । उनले यसअघि बंगलादेशविरुद्धको खेलमा पनि ह्याट्रिक विकेट लिएका थिए । अफगानिस्तानसँग अष्ट्रेलिया २१ रनको हारले स्तब्ध बने पनि कमिन्सको रेकर्ड भने आईसीसीमा दर्ज भएको छ ।

दोश्रो समूहमा समेत उस्तै अवस्था
यता, दोस्रो समूहको समीकरणमा पनि साउथ अफ्रिका दुई जितका बाबजुद सेमिफाइनलमा पुग्न सकेको छैन । अमेरिका दुई हारका बाबजुद पनि सेमिफाइनल दौडमै छ । साउथ अप्रिलकाले अन्तिम खेलमा वेस्ट इन्डिजबाट ठूलो हार नव्यहोरेमा सेमिफाइनलको यात्रा सुरक्षित गर्नेछ । वेस्ट इन्डिजसँग दक्षिण अफ्रिका हारेर ईंग्ल्यान्डले अमेरिकालाई हरायो भने नेट रनरेटले अन्तिम ८ को छिनोफानो गर्नेछ । दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई हरायो र ईंग्ल्यान्डले अमेरिकालाई जित्यो भने दक्षिण अफ्रिका र ईंग्ल्यान्ड सेमिफाइनलमा पुग्छन् । दक्षिण अफ्रिकाले वेस्ट इन्डिजाई हरायो र ईंल्यान्डलाई अमेरिकाले जित्यो भने दक्षिण अफ्रिकासँगै ईंग्ल्यान्ड, वेस्ट इन्डिज र अमेरिकामध्ये एउटा टीमले नेट रनरेटका आधारमा सेमिफाइनलको बाटो तय गर्नेछन् । शनिबारको खेलमा अमेरिकाविरुद्ध फराकिलो जित हासिल गर्दै वेस्ट इन्डिजले आफ्नो नेट रनरेट सुधार गरेको छ । अन्तिम खेलमा अमेरिकालाई फराकिलो अन्तरले हराउनुका साथै वेस्ट इन्डिजले साउथ अफ्रिका विरुद्ध ठूलो जित हासिल नगरेमा वेस्ट इन्डिजको अवस्था सहज देखिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ