जलवायु परिवर्तनका असरबारे महासभामा सम्बोधन गर्न प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने तयारीमा हुनुहुन्छ।
प्रधानमन्त्री बनेपछि एक वर्षसम्म वैदेशिक भ्रमण नगर्ने प्रतिबद्धता जनाउनुभएका शाह जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको विपद्का विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउन न्यूयोर्क जान लाग्नुभएको हो।
प्रधानमन्त्रीको भ्रमणलाई मन्त्रिपरिषद्ले भने अहिलेसम्म स्वीकृत गरिसकेको छैन। तर परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शाहको नेतृत्वमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डल अमेरिका पठाउने तयारी गरिरहेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले आगामी असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुनेछ।
सम्बोधनका क्रममा नेपालले जलवायु परिवर्तनबाट भोगिरहेको क्षति, जलवायुजन्य विपद् र जलवायु न्यायको विषय उठाउने तयारी छ। पछिल्लो समय रसुवा र नुवाकोटमा आएको बाढी तथा त्यसबाट भएको जनधनको क्षतिलाई समेत जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली तथा न्यून कार्बन उत्सर्जन गर्ने मुलुकले भोगिरहेको संकटका रूपमा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी गरिएको छ।
नेपालको विश्वव्यापी कार्बन उत्सर्जनमा हिस्सा करिब ०.११ प्रतिशत मात्रै रहेको भए पनि जलवायु परिवर्तनका असरबाट नेपाल प्रत्यक्ष रूपमा प्रभावित हुँदै आएको छ। हिमाली क्षेत्रमा तापक्रम वृद्धिसँगै हिमनदी पग्लिने, हिमताल विस्फोट तथा बाढी–पहिरोजस्ता विपद्को जोखिम बढिरहेको छ।
नेपालमा रहेका ३ हजार ८०३ हिमनदीमध्ये ४७ वटा हिमनदीलाई संयुक्त राष्ट्रसंघले उच्च जोखिममा रहेको सूचीमा राखेको छ।
प्रधानमन्त्री शाहले जलवायु परिवर्तनबाट बढी प्रभावित नेपालजस्ता मुलुकलाई विकसित तथा उच्च कार्बन उत्सर्जन गर्ने देशबाट जलवायु क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने विषय पनि अन्तर्राष्ट्रिय मञ्चमा उठाउने तयारी गर्नुभएको छ। नेपालले जलवायु वित्तलाई अनुदानमा मात्र सीमित नगरी जलवायुजन्य क्षतिको क्षतिपूर्तिसँग जोडेर हेर्नुपर्ने धारणा राख्दै आएको छ।
भदौ १७ गते बसेको प्रतिनिधिसभा बैठकमा पनि प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेका विपद्का विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउनुपर्ने बताउनुभएको थियो।
पछिल्लो विपद्बाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउने विषयलाई समेत प्रधानमन्त्रीको अमेरिका भ्रमणको प्राथमिकतामा राखिएको छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…





