Monday, 21 October 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरास्वपा सभापति रवि पक्राउ, अदालतबाट पक्राउ पुर्जी जारी भएका अरु १३ जना खै ?

रास्वपा सभापति रवि पक्राउ, अदालतबाट पक्राउ पुर्जी जारी भएका अरु १३ जना खै ?


काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्नुभएको छ । कास्की जिल्ला अदालतले शुक्रबार लामिछानेसहित एकै पटक १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको आधारमा उहाँ पक्राउ पर्नुभएको हो ।

पूर्व उपप्रधान एवम् गृहमन्त्री समेत रहनुभएका रास्वपा सभापति लामिछानेलाई साँझपख केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेर थप अनुसन्धानका लागि पाखरा लगेको छ । लामिछानेका साथै विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्त बाबु राई, रामबहादुर खनाल विरुद्ध पक्राउपूर्जी जारी भएको छ । यसैगरी देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हो । उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ९ (३) बमोजिम पक्राउ पुर्जी जारी भएको हो ।

यसअघि सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले लामिछानेका साथै छविलाल जोशी, जीबी राईलाई कारबाही गर्न सिफारिस गरेको थियो । उनीहरुले सहकारीको रकम गोर्खा मिडियामा ल्याएर हिनामिना गरेको आरोप छ । लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति पाएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितका प्रहरी निकायलाई पठाएको पत्रमा ‘ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा’मा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गरेर पठाइदिन भनिएको छ ।

कृष्णप्रसाद जैसीसमेतको जाहेरी र प्रहरी प्रतिवेदनका आधारमा अघि बढेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सम्बन्धी मुद्दामा २ कात्तिकमा लामिछानेलाई पक्राउ गर्न अनुमति जारी भएको अदालतको पत्रमा उल्लेख छ । सीआईबी टोली पुग्नुअघि नै रास्वपा कार्यालय बाहिर प्रहरीको बाक्लो उपस्थिति रहेको थियो । नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा लामिछानेले सरकारको चर्को आलोचना गर्नुभएको छ । उहाँले केपी शर्मा ओली नेतृत्व सरकारको आलोचना गर्दै नेता कार्यकर्तालाई सरकारविरुद्ध आन्दोलित हुन आह्वान गर्नुभएको छ । प्रधानमन्त्री ओलीको नाम नलिईकनै प्रमाणित भ्रष्टाचारीबाट करोडको घडी लगाउने करोडौंको जग्गा खुल्लमखुल्ला लिएको जिकिर गर्दै आफ्नो हातमा हत्कडी भन्दै प्रश्न गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ