४ महिनामा नेपालका लागि १७ अर्ब ३ करोड प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता !
१ हजार बढीले लिए 'बिजनेस भिसा’
काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो चौमास अर्थात साउन देखी कात्तिक सम्म नेपालका लागि लगानी गर्न १७ अर्ब ३ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०८०र८१ को पहिलो चौमासमा १८ अर्ब ३५ करोड रुपैयाँ बराबर एफडीआई आएकोमा यो वर्ष केही घटेको हो ।
गत वर्षको पहिलो चार महिनामा १ सय ७८ उद्योग दर्ता भएकोमा यस वर्ष १ सय ५४ उद्योग दर्ता भएका छन् । यस वर्ष अटोमेटिक रुटबाट १ सय ९ कम्पनी दर्ता भएको पाइएको छ । यी कम्पनीमार्फत १ अर्ब ६२ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांकले देखाउछ । कात्तिक मसान्तसम्म आएको प्रत्यक्ष वैदेशिक लगानी जोड्दा अहिलेसम्म ५ खर्ब २८ अर्ब ९३ करोड रुपैयाँ पुगेको उद्योग विभागले जनाएको छ । एक दुई वटा ठूला उद्योगलाई अपवाद मान्दा यो वर्ष कात्तिकसम्म दर्ता हुन आएका उद्योगमध्ये पर्यटनमा १ सय १३ उद्योग दर्ता भएका छन् । पर्यटन क्षेत्रमा दर्ता उद्योगको हिस्सा ७२ प्रतिशत छ । सेवामा २०, उत्पादन १३, सूचना–प्रविधि ७, खानी २ र कृषिमा २ उद्योग दर्ता भएका छन् ।
१ हजार २० लगानीकर्ताले लिए ‘बिजनेस भिसा’
चालु आर्थिक वर्षको पहिलो ४ महिनामा १ हजार २० लगानीकर्ताले नेपालका लागि ‘बिजनेस भिसा’ लिएका छन् । प्रतिनिधिका रूपमा २ सय ५ र ३ सय ३२ जनाले ‘डिपेन्डेन्ट’ भिसा लिएको पाइएको छ । चार महिनामा १७ अर्ब बराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएका कारण लगानीको हिस्सा थप बढ्दै जाने अपेक्षा गरिएको छ ।
तपाईको प्रतिक्रिया