प्रहरीमा छुट्टै एआई सेल, डिजिटल प्रविधिको दुरुपयोगमाथि विशेष निगरानी
काठमाडौं । डिजिटल प्रविधिको दुरुपयोग रोक्ने उदेश्यसहित नेपाल प्रहरीले छुट्टै ‘एआई एन्ड एड्भान्स्ड एनालिटिक्स’ (एआई सेल) स्थापना गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेले सामाजिक सञ्जालमा पोष्ट हुने गलत सन्देश, सामग्रीको निगरानी र चुनौती व्यवस्थापन गर्ने उद्देश्यले एआई सेल स्थापना गरिएको जानकारी दिनुभएको हो । नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा स्थापना भएको सेलको गृहमन्त्री ओमप्रकाश अर्यालले उद्घाटन गर्नुभएको छ। गृहमन्त्री अर्यालले निर्वाचनसम्बन्धी गलत, भ्रामक र मित्था सूचनाको नियमन गरी निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न प्रहरीको एआई सेललाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखको उपस्थिति थियोे । डिजिटल माध्यमबाट हुने अवाञ्छित गतिविधिलाई निगरानी गर्न र कानुनी उपचार खोज्नका लागि प्रहरीले प्रविधिमैत्री संयन्त्र बनाएको बताइएको छ ।
संवेदनशील तथा महत्त्वपूर्ण क्षेत्रमा जडान गरिएका सिसी क्यामेराबाट ‘डेटा’ लिएर सुक्ष्म विश्लेषण गरिने जनाइएको छ । प्रहरीले ‘मिसइन्फर्मेसन’, नियोजित रूपमा फैलाइने ‘डिस्इन्फर्मेसन’, ‘डिपफेक’ र ‘हेट स्पिच’ जस्ता समस्या, एआईको दुरुपयोग र डिजिटल ‘म्यानिपुलेसन’ लाई गम्भीर रुपमा लिएर निगरानी गरिरहेको छ । Photo- Nepal Police Fb
















तपाईको प्रतिक्रिया