एनआरएनएको १२ औँ अधिवेशन सुरु
गैरआवासीय लगानीलाई वैदेशिक लगानीभन्दा फरक रुपमा लिनुपर्ने आवाज
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स (विश्व सम्मेलन) सुरु भएको छ ।
काठमाडौंस्थित सोल्टी होटलमा परराष्ट्र मन्त्री बालानन्द शर्मा र पूर्वप्रधानमन्त्री झलनाथ खनालले आज अधिवेशनको उद्घाटन गर्नुभएको हो । अधिवेशनको उद्घाटन गर्दै परराष्ट्रमन्त्री शर्माले गैरआवासीय नेपालीको अनुभव, सीप, अन्तर्राष्ट्रिय सम्पर्क नेपालको विकास र रुपान्तरणका लागि महत्त्वपूर्ण हुने बताउनुभएको छ । उद्घाटन समारोहमा बोल्दै एनआरएनए कार्यकारी अध्यक्ष महेशकुमार श्रेष्ठ र डा.बद्री केसीले प्रवासमा रहेका नेपालीको मनमा मातृभूमिका लागि केही गरौ भन्ने भावना रहेको बताउनुभएको छ । अध्यक्ष द्वयले संघभित्रको विवाद अन्त्य गर्दै एकता स्थापित भएको र समृद्ध नेपालको अभियानमा गैरआवासीय नेपालीको योगदान रहने विश्वास व्यक्त गर्नुभएको छ ।
संस्थापक अध्यक्ष उपेन्द्र महतोले व्यक्तिगत रुपमा सफलताको जुनसुकै उचाइमा पुगे पनि देश बनेन् भने त्यसको अर्थ नहुने बताउनुभयो । उहाँले नेपालका लागि नेपाली नाराका साथ गैरआवासीय नेपाली अभियान सुरु गरिएको बताउनुभयो ।
गैरआवासीय लगानीलाई वैदेशिक लगानीभन्दा फरक लिनुपर्ने र विदेशमा रहेका नेपालीको पुँजी, सीप, ज्ञान सदुपयोग गर्नुपर्नेमा विदेशका नेपालीले आवाज उठाउदै आएका छन् ।
















तपाईको प्रतिक्रिया