Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाली जहाज दाेस्राे पटक अष्ट्रेलिया आउदै।

नेपाली जहाज दाेस्राे पटक अष्ट्रेलिया आउदै।

कोरोना परिक्षणको किट पठाउने तयारी


व्रिजवेन/सरल गुरुङ
राष्ट्रिय ध्वजाबहाक नेपाली विमान, यात्रु बोकेर दोस्रो पटक अष्ट्रेलिया आउने भएको छ । यसअघि कोरोनाका कारण नेपालमै फसेका अष्ट्रेलियन र न्युजिल्याण्डका २४० यात्रु लिएर अप्रिल २ तारिखमा पहिलो पटक नेपाली झण्डावाला विमान अष्ट्रेलियाको व्रिजवेन उत्रिएको थियो ।
नेपालीस्थित अष्ट्रेलियन राजदूतावासले आफ्ना नागरिक र पिआरवालालाई नेपालबाट उद्दा’र गर्न दोस्रो पटक पनि नेपाली विमान चार्टर गर्न लागेको बुझिएको छ । यसअघि नेपाल एयरलाईन्सले अन्य विमान कम्पनी भन्दा केही सस्तोमा उडान भरेका कारण यसपाली पनि नेपाल एयरलाईन्स छनोटमा पर्न लागेको हो ।
दूतावासले थालेको प्रकृया समयमै अघि बढे, मे महिनाको पहिलो हप्ता २ ५० भन्दा बढी यात्रु बोकेर नेपाली विमान अष्ट्रेलियाको सिड्नी उत्रिनेछ । यसअघिको चार्टर्ड फ्लाईटमा एयरलाईन्सले एजेन्ट राखेका कारण केही विवाद भएको थियो । यसपाली एयरलाईन्सले नै टिकेटिङ गर्ने तयारी गरेको छ ।

अष्ट्रेलियामा फसेका नेपाली लैजाने सरकारको नीति छैन ।

अप्रिल २ तारिखमा आएको विमान रित्तै फर्किएपछि अष्ट्रेलियामा नेपालीले नेपाल सरकारको आलोचना गरेका थिए । मेको पहिलो साता आउने नेपाली विमान खाली पठाउन नहुने यहाँका नेपालीहरुको माग छ । अष्ट्रेलियामा भिजिट भिषामा आएका, अभिभावक, कलाकार र आफन्तहरु कोरोनाका कारण यत्तै अड्किएका छन् । जागिर गुमाएर अ’प्ठ्यारोमा परेका केही विद्यार्थी पनि नेपाल फर्कन चाहान्छन् । तर लक डाउनका कारण उनीहरु यतै जेनतेन बसिरहेका छन् ।

पहिलो पटक आएको जहाजमा नेपाल फर्कन पाईने आशामा बसेका उनीहरु जहाज रित्तै फर्किएपछि खिन्न बनेका थिए । यसपाली पनि यता फसेका नेपालीलाई लैजाने सरकारको कुनै नीति नरहेको अष्ट्रेलियाका लागि नेपालाी राजदूत महेशराज दाहालले जानकारी दिनुभयो । नेपालमा उचित क्वारेन्टिनको व्यवस्था नभएको र बाहिरबाट मान्छे जादा थप जोखिम बढ्न सक्ने भएकाले अहिले सरकारले कुनैपनि देशबाट आफ्ना नागरिक नभित्र्याउने नीति लिएको राजदूत दाहालको भनाई थियो । नेपालट्युबसंग कुरा गर्दै राजदूत दाहालले सरकारको नीति नभएपनि सुरक्षित अवस्था बनाएर केही मानिसलाई पठाउन सकिन्छ कि भनेर पराराष्ट्र मन्त्रालयसंग छलफल भने भईरहेको बताउनुभयो ।
सरकारको नीति जे भएपनि खाली विमान फर्काउनुभन्दा त्यसमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नुपर्ने धेरैको माग छ । कान्तिपुर दैनिकका अष्ट्रेलियाका पत्रकार नारायण खड्काले नेपालमा अत्यावश्यक परेर फर्कनै पर्नेहरुलाई विमानमा फिर्ता पठाउनपर्ने बताउनुभयो । ‘यहाँ भिजिटर भिषामा आएका र नेपालमा अत्यावश्यक परेर फर्कनैपर्नेहरुलाई सरकारले घर फर्कने मौका दिनुपर्छु’-खड्काले भने । तर, यतै सुरक्षित भएकाले धेरै नेपाली फर्कन्छन् भन्ने ग्यारेन्टी चाहि नभएको खड्काको तर्क थियो । खाली विमानमा पिपिइ लगायत मेडिकल सामाग्री पठाउन सकिने समेत खड्काले सुझाव दिए ।
त्यस्तै ब्रिजवेनकी कानुन व्यवसायी बुनु गौतमले सरकारले यता फसेका नेपालीलाई घर फर्कने अवसर दिनुपर्ने बताउनुभयो । ‘फर्कने नफर्ने व्यक्तिको इच्छाको कुरा हो’- गौतमले भन्नुभयो -‘यहा फसेका आफ्ना नागरिकलाई  दूतावासले घर फर्कनका लागि वातावरण बनाउनुपर्छ ।’ नेपाल जादा १४ दिन क्वारेन्टिनमा बस्नुपर्छ त्यसका लागि अष्ट्रेलियाबाट जानेहरुलाई पहिले नै सेल्फ क्वारेन्टिनमा बस्ने ठाउको व्यवस्था गरेर लैजादा फरक नपर्ने गौतमको भनाई छ ।

कोरोना परिक्षण किट र स्वास्थ्य सामाग्री पठाउने तयारी

विमान आउने थाहा पाएलगत्तै गैर आवासिय नेपाली संघ अष्ट्रेलिया समेत सक्रिय बनेको छ । एनआरएनए अष्ट्रेलियाले दुतावाससंग सहकार्य गरेर विमानमा यता फसेका नेपाली र स्वास्थ्य सामाग्री पठाउने तयारी सुरु गरेको छ । एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कडेलले सके मान्छे र स्वास्थ्य सामाग्री नसके मेडिकल सामाग्री मात्रै भएपनि पठाउने तयारी रहेको जानकारी दिनुभयो । ‘हामी दुतावाससंग नियमित सम्पर्कमा छौ’- कडेलले भन्नुभयो -‘स्वास्थ्य सामाग्री पठाउनका लागि अष्ट्रेलियन सरकारसंग अनुमति लिनका लागि हामीले दूतावासमार्फत नेपाल सरकारलाई पहल गरिरहेका छौ । ‘
कोरोना परिक्षणको किट, पिपिई र अन्य औषधिजन्य सामाग्री पठाउनका लागि अष्ट्रेलियन सरकारको अनुमति चाहिन्छ । नेपाल सरकारले अनुमति लिन सहयोग गरे ५० हजार डलरसम्म चन्दा उठाएरै भएपनि आवश्यक सामाग्री पठाउन एनआरएनए अष्ट्रेलिया तयार रहेको अध्यक्ष कडेलको भनाई छ । दूतावासले अनुमतिका लागि पहल गर्ने राजदूत दाहालले जानकारी दिनुभयो । परिक्षण किटको अभावमा नेपालमा कोरोना परिक्षण सुस्त भईरहेको छ । यसअघि दक्षिण कोरियाका नेपालीले कोरोना परिक्षण किट नेपाल पठाइसकेको छ ।

ऐतिहासिक दोस्रो उडान

सन् २०२० अप्रिल २ तारिखमा ब्रिजवेनमा उत्रिएको नेपाली झण्डावाला विमान नै यात्रु बोकेर अष्ट्रेलिया आएको पहिलो नेपाली विमान हो । यस अघि पनि नेपालका राजामहाराजाले भ्रमणका बेला नेपाली जहाज अष्ट्रेलिया ल्याएकाले यसपाली आएको विमानलाई पहिलो भन्न नहुने तर्क गर्नेहरु पनि छन् । तर, व्रिजवेनका संचारविद् डाक्टर भरतराज पौडेलका अनुसार त्यो बेला राजाहरुले विदेश भ्रमण गर्दा विश्वका धेरै देशमा नेपाली विमान लिएर जान्थे । तर, ती उडान राजकीय मात्र भएकाले त्यसलाई पहिलो उडान भन्न नमिल्ने बताउनुहुन्छ । नागरिक र व्यवसायिक उडान भएकाले अप्रिल २ तारिखमा नेपाल एयरलाइन्सले भरेको उडानलाई नै नेपाली जहाजको पहिलो अष्ट्रेलिया उडान भन्नुपर्ने उहाको तर्क छ ।

यदि पहिलो ऐतिहासिक उडान अप्रिल २ लाई मान्ने हो भने मे पहिलो साता हुने उडान दोस्रो हुनेछ । यसअघि सन् १९७१ मा राजा महेन्द्र र सन् १९८५ मा राजा विरेन्द्रले गरको राजकीय भ्रमण का बेला नेपाली विमान अष्ट्रेलिया आएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ