Tuesday, 23 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeInternationalशान्त बन्दै काेराेना र आन्दाेलन

शान्त बन्दै काेराेना र आन्दाेलन


गणेश थापा/ क्यालिफोर्निया

नोवल कोरोना भाइरसको संक्रमणबाट संयुक्त राज्य अमेरिकामा संक्रमित हुने मानिसको संख्या २० लाख नाघेको छ । दैनिक मृत्युदरमा केही कमी आइरहेता पनि केरोनाबाट संक्रमित विरामीहरू मध्ये अहिलेसम्म करीव १ लाख १३ हजारको मृत्यु भइसकेको छ । अमेरिकामा संक्रमितको संख्यामा भने खासै भिन्नता आएको छैन् ।

यहॉ गएको २४ घण्टाको अवधिमा झण्डै १ हजार मानिसले ज्यान गुमाएका छन् । अफिसियल डाटा अपडेट गर्दै आइरहेको न्युजब्रेकका अनुसार कोभिड-१९ को संक्रमणका कारण हिजो करीव ७ सय जनाको मृत्यु भएको थियो भने त्यसको अघिल्लो दिन समेत मृतकको संख्या सोही हाराहारीमा रहेको थियो । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट विरामी भएका कूल २० लाख ७ हजार मध्ये ५ लाख सॉढे १७ हजार व्यक्ति भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

क्यालिफोर्नियाको समय अनुसार मंगलबार विहान ४ बजेसम्म प्राप्त अपडेट अनुसार कोरोना भाइरसको संक्रमणबाट अमेरिकाको न्युयोर्कमा सवैभन्दा बढीको ज्यान गएको छ । त्यहॉ अहिलेसम्म ३० हजार ४ सय बढी मानिसको मृत्यु भइसकेको छ भने संक्रमित संख्या पुरै अमेरिकामै सवैभन्दा बढी ३ लाख ८४ हजार माथि रहेको छ । क्यालिफोर्नियामा पनि मृतकको संख्या ४६५८ नाघेको छ भने झण्डै १ लाख ३४ हजार मानिसमा संक्रमण देखिएको छ । अघिल्ला दुई महिना दिनहुँजसो करीव २ हजारको हाराहारीमा मानिसहरूको मृत्यु भइरहेको अमेरिकामा जुन महिना सुरू भएयता कोरोना संक्रमणका विरामीको मृत्युदरमा यथेष्ट मात्रामा कमी आइरहेको प्राप्त तथ्यांकले देखाएको छ । यद्यपी संक्रमितको संख्या भने स्थिर प्राय: देखिरहेको छ । विगत २४ घण्टाको अवधिमा २८ हजार ७ सय बढी व्यक्तिमा संक्रमण देखापरेकोमा अघिल्लो दिन समेत सोही बराबरको संख्यामा कोरोना संक्रमित फेला परेका थिए ।

अमेरिकामा यसअघि अप्रिल १७ मा अहिलेसम्मकै सवैभन्दा बढी करीव ४६०० जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको थियो । स्वास्थ्य क्षेत्रका विशेषज्ञहरूले अमेरिकामा कोभिड-१९ को संक्रमणका कारण २ लाख बढीको मृत्यु हुनसक्ने तथा यसबाट दसौं लाख मानिसमा संक्रमण फैलिन सक्ने चेतावनी दिदै आएका छन् ।कोरोना भाइरसको संक्रमण फैलिएयता अमेरिकामा १६ जना नेपालीको मृत्यु भएको छ भने संक्रमित हुने नेपालीको संख्या सयौं छ । अमेरिकाका ५० वटै राज्यमा फैलिएको कोरोनाबाट सवैभन्दा प्रभावित न्युयोर्कमा नेपालीहरूको बाक्लो बसोबास रहेको हुँदा त्यहॉ सवैभन्दा बढी नेपाली प्रभावित भएको बताइएको छ । संक्रमितको नेपालीहरूको संख्या अमेरिकामा १५ सय बढी रहेको विभिन्न संघसंस्थाहरूले उल्लेख गरेका छन् । यता बन्द रहेका इमिग्रेसन सम्बन्धीका कामकारवाहीहरू पुन: सुरू भएका छनभने अदालत लगायतका अन्य सरकारी कार्यालयहरू समेत सामाजिक दुरी कायम राख्दै केही दिनमै खोल्ने तयारी गरिएको बताइएको छ ।

यसैबीच कोरोना भाइरसको संक्रमणका कारण निकै ठूलो मानवीय तथा आर्थिक क्षेती व्यहोरिरहेको अमेरिकाको मिनेसोटा राज्यका एक जना अफ्रिकी मूलका युवकको प्रहरी कारवाहीका क्रममा ज्यान गएपछि सुरू भएको देशव्यापी विरोध प्रदर्शन दुई सातासम्म आइपुग्दा शान्तिपूर्ण बन्दै गएको छ । जर्ज फ्लोयड नाम गरेका करीव ४० वर्षिय अश्वेत अफ्रिकी मुलका अमेरिकी नागरिकको प्रहरीले अमानवीय ढंगबाट घॉटी थिचेर हत्या गरेको भन्दै सुरू भएको विरोध प्रदर्शनले उग्र रूप लिएको थियो । मिनेसोटा राज्यसंगै क्यालिफोर्निया, टेक्सास, वासिगंटन डिसी, न्युयोर्क, सिकागो, मेरील्याण्ड, भर्जिनिया, केन्टकी, नेवदा, एरिजोना, उत्तरी क्यारोलिना, एटलान्टा, पेन्सेलभेनिया, न्युजर्सी लगायतका अमेरिकाका मुख्य सहरहरूमा विरोध प्रदर्शन भइरहेको छ । सो राज्यको मिनियापोलिसस्थित एक पसलमा यही मे २५ मा नक्कली नोट दिएको आरोपमा पक्राउ परेका ती युवकलाई प्रहरीले हतकडी लगाएको अवस्थामा घुँडाले लामो समयसम्म घॉटी थिचिरहेको भिडियो सार्वजनिक भएपछि सुरू भएको विरोध प्रदर्शन रंगभेदी र हिंसात्मक आन्दोलनको रूपमा परिणत भएपिछ कयौं सहरमा करफ्यु समेत लगाउनुपरेको थियो ।

प्रहरीले करीव ८ मिनेटसम्म घॉटी थिचिरहँदा आफूलाई सास फेर्न कठिन भयो भन्दै ती युवकले बचाउनका लागि गरेको याचनालाई समेत प्रहरीले नसुनी बर्बरतापूर्ण तवरबाट हत्या गरेको प्रदर्शनकारीहरूको आरोप रहेको छ । ‘ब्लाक लाइभ्स म्याटर’ नाम दिइएको सो आन्दोलनमा सहभागी कतिपयले अमेरिकामा कालाजातीका मानिसहरूका लागि सुरक्षा र न्यायको माग गर्दै प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरिरहेका छन् । हत्याको विरोधमा क्यानाडा, जर्मनी, वेलायत, फ्रान्स लगायतका विभिन्न देशमा समेत प्रदर्शन भएका छन् ।

सो घटनामा संलग्न प्रहरी अधिकृत डेरेक चौवीन लगायत ४ जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारवाही थालिएको मिनियापोलिसस्थित प्रहरी विभागले जनाएको छ। हत्याको विरोधमा उत्रेका सयौं प्रदर्शनकारीहरूले विभिन्न राज्यका प्रहरी कार्यालयमा आगो लगाउनुकासाथै निजी तथा प्रहरीका सवारीसाधन एवम् पसलहरूमा आगजनी, तोडफोड तथा लुटपाट गर्नथालेपछि स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले अश्रुग्यास, पानीको फोहोरा, रवरबुलेट तथा हवाईफायर गर्नुकासाथै कयौं ठॉउमा सयौंलाई धरपकडसमेत गरेको थियो । विरोध प्रदर्शन उग्र बन्दै गएपछि कतिपय ठॉउहरूमा सुरक्षास्थितिलाई कावुमा राख्न प्रहरीसहित सेना समेत परिचान गरिएको थियो । अहिले भने विरोध प्रदर्शन निकै मथ्थर र शान्तिपूर्ण बन्दै गएको छ । यता प्रहरीको कामकारवाही, सेवासुविधा, बजेट एवम् नागरिकमाझ निर्वाह गरिरहेको भूमिकाबारे प्रश्नचिन्ह खडा गर्नथालिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसको बचाउगर्दै प्रहरीले कानुनबमोजिम निकै राम्रो काम गरिरहेको बताएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ