Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा अगष्टमा उडान र जुलाई अन्तिममा हाेटल खुल्ने

नेपालमा अगष्टमा उडान र जुलाई अन्तिममा हाेटल खुल्ने


अगष्ट १७ देखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु हुने सरकारले निर्णय गरेको छ । नेपालमा ४ हजार २१६ पिसीआर परीक्षण गर्दा १८६ जना संक्रमित थपिएका छन् भने ठाउँ ठाउँमा बाढी पहिरोले कटान गरेको छ । यहि समयमा ८ सय ९२ वटा सीमा स्तम्भ गायब भएका छन् । सोमबार नेपाली मिडियामा प्राथमिकता पाएका मुख्य खबर:

अगष्ट देखि उडान सुचारु गरिने 

सरकारले अगष्ट १७ देखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन बन्द गरिएको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान सुचारु हुने सोमबार निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अगष्ट ५ देखि आन्तरिक र २१ बाट अन्तर्राष्ट्रिय उडान गर्ने प्रस्ताव पेश गरेकोमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै प्रकारका उडान अगष्ट २१ बाट सुचारु गर्ने निर्णय गरेको मन्त्रालयले जानकारी दिएको हो ।

४ हजार २१६ पिसीआर परीक्षण गर्दा १८६ जना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा देशका विभिन्न २७ वटा प्रयोगशालामा गरिएको ४ हजार २१६ जनामा पिसीआर परीक्षणमा १८६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे सोमबारको नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८४४ जना पुगेको छ । सोमबार काठमाडौंका २ जना र ललितपुरका १ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

नेपाल–भारत सीमाक्षेत्रका ८९२ वटा सीमास्तम्भ गायब
नेपाल–भारत सीमाक्षेत्रका ८सय ९२ वटा सीमास्तम्भ (पिलर) एकाएक गायब भएका छन् । १ हजार ८ सय ८० किलोमिटर लामोसीमाक्षेत्रको वैज्ञानिक मापन गर्न ६ वर्षअघि गठन गरिएको नेपाल–भारत संयुक्त सीमा कार्यदलले हालसम्म ४हजार २सय ८ वटा पिलर निर्माण गरेको छ । त्यस्तै ४ हजार ३ सय ४५ वटा पिलर निर्माण गर्न बाँकी रहेको बताइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कार्यदलले हालसम्म १ हजार ७ सय ६३वटा पिलर मर्मत गरेको छ । अन्य २हजार ४सय ४५ वटा पिलर नयाँ निर्माण गरेको बताइएको छ ।

अविरल बाढिले राजमार्ग नै अवरुद्ध
सोमबार दिनभर परेको अविरल वर्षाका कारण देशैभर क्षती भएको छ भने विभिन्न राजमार्ग, सहायक राजमार्ग, पुल, भित्री बाटा र ग्रामीण सडकहरुमा अबरुद्ध भएका छन् । सडक विभागका अनुसार विभिन्न खोला र नदीमा बनेका विभिन्न पुलहरु भत्किएका छन । सडकहरुमा जताततै पहिरो खस्ने र नदीले कटान गर्ने क्रम बढेको छ । नारायणघाट-मुग्लिन, पृथ्वी राजमार्ग, महेन्द्र राजमार्गलगायतमा क्षति पुगेको छ भने पुल समेत भत्किएका छन् । सडक बिभागले यस्तो समयमा पहिरो र जोखिम क्षेत्रमा यात्रा नगर्न भनेको छ ।

जुलाई ३० देखि होटल खोल्न दिइने
सरकारले जुलाई ३० तारिखबाट होटल व्यवसाय सुचारु गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा हवाई उडान पुनः सुचारु गर्ने निर्णय गरेको र होटल पनि  खुलाइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार अहिले पनि सरकारले होटलमा कडाई गरेको छैन । तर उडान खोल्नु अगाबै होटल खोल्दा केहि सहज हुने भएकाले सरकारले यस्तो निर्णय गरेको हो । जुलाई ३० देखि सावधानी अपनाएर हाेटल संचालन गर्न पाइने छ ।


ट्याग : #breaking, #headlines, #nepal, #top5news
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ