Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeInternationalयुरोपमा कोरोनाको दोश्रो लहर, कतै निषेधाज्ञा कतै लकडाउन

युरोपमा कोरोनाको दोश्रो लहर, कतै निषेधाज्ञा कतै लकडाउन


काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरसँगै तिब्र रुपमा संक्रमण फैलिएपछि युरोपेली मुलुकहरूमा त्रासदी सुरु भएको छ । कतिपय मुलुकहरूले निषेधाज्ञा गरेका छन् भने कयौँले लकडाउन सहितका कडिकडाउ गरेका छन् । अष्ट्रिया र पोर्चुगलमा निषेधाज्ञा गरिएको छ ।

अष्ट्रियामा राति ८ बजेदेखि बिहान ६ बजेसम्म जारी गरिएको रात्रिकालिन कर्फ्यू नोभेम्बरको अन्त्यसम्म रहनेछ । अस्ट्रियामा १ लाख ४ हजारभन्दा बढीमा संक्रमण भएको छ । पोर्चुगलमा अत्यावश्यक सेवा तथा कलेजहरू खुला गरेर अरू क्षेत्र बन्द गरिएको छ । अत्यावश्यक नपरी बाहिर हिँडडुल नगर्न आग्रह गरिएको पोर्चुगलमा संक्रमित संख्या १ लाख ४१ हजारभन्दा बढी छ । फ्रान्समा शुक्रबारदेखि नै लकडाउन गरिएको छ । इटाली लगायतका मुलुकमा पनि आंशिक प्रतिबन्धहरू लागू भएका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यही नोभेम्बर ५ देखि कार्यान्वयन हुने गरी देशव्यापी नयाँ लकडाउनको घोषणा गर्नुभएको छ । शनिबार पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री जोन्सनले बेलायतभर नै ६ जनाभन्दा बढी मानिसहरु सार्वजनिक स्थलहरुमा भेला हुन नपाइने आदेश जारी गर्नुभएको छ । लकडाउनमा बार, डिस्को, पव तथा रेष्टुराँ, जिम र अत्यावश्यक नठानिएका सबै व्यवसायहरु बन्द हुनेछन् । यो प्रतिबन्ध स्कूल, कलेज र विश्वविद्यालयहरुलाई लागू नहुने बताइएको छ भने अत्यावश्यक काममा जानैपर्ने वाहेकका व्यक्तिहरूलाई घरमै बस्न भनिएको छ । प्रधानमन्त्री जोन्सनले क्रिस्मसको समयमा परिवारिक जमघट हुनसक्ने वातावारण बनाउन यो लकडाउनले सहयोग गर्ने र सबै नागरिकले सहयोग गर्नुपर्ने बताउनुभएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा २१ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै यहाँ कोरोना संक्रमितको संख्या १० लाख ११ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर संक्रमित भएका ४ लाख ७० हजारमध्ये युरोपेली मुलुकका मात्रै ५० प्रतिशत छन् । वल्डो मिटर्सका अनुसार युरोपका रसिया फ्रान्स, स्पेन, जर्मनी, बेलायत लगायतका ४८ मुलुकमा एकै दिन २ लाख ३५ हजार १०० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै युरोपमा कोरोना संक्रमितको संख्या ९९ लाख ९० हजार नाघेको छ । युरोपेली मुलुकमा पछिल्लो २४ घण्टामा २ हजार ४५३ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ६५ हजार ५४६ पुगेको छ । Pic : the scottishsun



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ