११ लाखले हेरेपछि मख्ख स्वतन्त्र, अब फिल्म बनाउछु
ब्रिजवेन
आफ्नो पहिलो म्युजिक भिडियो नै युट्युबमा ११ लाख पटक हेरिएपछि यतिबेला ब्रिजवेनका एनआरएनए अभियन्ता तथा कलाकार स्वतन्त्रप्रताप शाह मख्ख छन् ।
दुइ वटा नेपाली चलचित्रमा नायक बनिसक्नु भएका शाह अभिनित जनम जनम भन्ने बोलको गितको भिडियो गत अक्टोबर २३ मा युट्युबमा सार्वजनिक भएको हो । गितका गायक कमल खत्रीको युट्युब च्यानलमा अपलोड भएको गितलाई हालसम्म ११ लाख ४४ हजार भन्दा बढी पटक हेरिएको छ । गितमा अधिकांशले सकारात्मक कमेन्ट गरेका छन् ।
म्युजिक भिडियो ब्रिजवेन र वरपरको रेन्बो आइल्याण्ड र सनसाइन कोष्टमा छायाकंन गरिएको हो । सुदिप विष्टले भिडियोमा निकै नै आकर्षक दृश्यहरु कैद गरेका छन् । भिडियोलाई ब्रिजवेनका युवा राजु कानले निर्देशन गरेका हुन् । भिडियोमा स्वतन्त्रसंग कृतिमा श्रेष्ठले पनि अभिनय गर्नुभएको छ ।
नेपाल ट्युबसंग कुरा गर्दै कलाकार शाहले कलाकारिता आफ्नो सौख भएको बताउनुभयो । सन् २००४ मा एकान्टिङ पढ्न कैलालीबाट अष्ट्रेलिया आउनु भएका शाह सुरुवात देखि नै गैर आवासिय नेपाली संघमा सक्रिय हुनुभएको हो । शाह सन् २००९ देखि १५ सम्म तीन कार्यकाल कुइन्सल्याण्ड राज्यको एनआरएनए संयोजक रहिसक्नु भएको छ । नेपाल पर्यटन बोर्डको पर्यटन सद्भावनादूत समेत रहनु भएका शाह युवा उद्यमी समेत हुनुहुन्छ ।
व्यवसाय र सामाजिक अभियन्ता बाहेक आफु कलाकारिता क्षेत्रमा पनि उत्तिकै सौखिन र इच्छुक भएको शाहले बताउनुभयो । बाल्यकालदेखि देखिको कलाकार बन्ने धोकोलाई स्वतन्त्रले २०१३ मा आएर पुरा गर्नुभएको हो । सन् २०१३ मा नेपाल नै गएर स्वतन्त्रले फेसबुक भन्ने सिनेमामा नायकको भूमिका निर्वाह गर्नुभयो । त्यसपछि सन् २०१५ मा मेरो भ्यालेन्टाइन भन्ने सिनेमामा पनि नायकको भूमिकामा नै देखिनुभयो । व्यवसायिक रुपमा यी चलचित्र खासै सफल नभएपनि स्वतन्त्रलाई कलाकार बन्ने बाटो भने खोलिदियो । त्यसपछि अष्ट्रेलिया फर्किएर एनआरएन अभियान र व्यवसायमै सक्रिय रहदै आएका स्वतन्त्र ५ वर्षपछि फेरि कलाकारिता मै फर्किनुभएको हो । के अब कलाकारिता नै निरन्तरता दिने त ? भन्ने प्रश्नमा स्वतन्त्र भन्नुहुन्छ- ‘राम्रो टिम र कथा भएमा म अझै पनि सिनेमा खेल्न तयार छु ।’ हालै म्युजिक भिडियो सार्वजनिक भएपछि थुप्रै भिडियोको अफर आइरहेको स्वतन्त्रले बताउनुभयो । तर, कथा र टिम हेरेर मात्रै निर्णय लिने उहाँको भनाई छ ।
सन् २०२१ मा नेपालमा गएर सिनेमा बनाउने तयारी रहेको समेत स्वतन्त्रले खुलासा गर्नुभयो । ‘राम्रो कथा र टिमको खोजी भइरहेको छ’-शाहले भन्नुभयो ।
यस्तो छ भिडियो
तपाईको प्रतिक्रिया