Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsहैटी भूकम्प : ३ सयको मृत्यु हुँदा १८ सय बढी घाईते, उद्धार कार्य जारी

हैटी भूकम्प : ३ सयको मृत्यु हुँदा १८ सय बढी घाईते, उद्धार कार्य जारी


काठमाडौं, एजेन्सी । हैटीमा शनिबार साँझ गएको भूकम्पमा परेर कम्तीमा तीन सय ८ जनाको ज्यान गएको छ । ७ दशमलव २ रेक्टर स्केलको भूकम्पका कारण ठूलो संख्या भौतिक संरचनाहरु भत्किदा १८ सयभन्दा बढी घाइते भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

पुरिएकाहरुको उद्धार र राहतको कार्यमा सुरक्षाकर्मी लगायतको सरकारी टोली खटिएको छ । भग्नावशेष पन्छाउने र उद्धार गर्ने कार्य जारी रहेकाले ज्यान गुमाउने र घाइतेहरुको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार राजधानी पोर्ट अफ प्रिन्सबाट एक सय ५० किलोमिटर पश्चिम केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । भूकम्पमा परेर हजारौँ भौतिक संरचना क्षतिग्रस्त भएका छन् । स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ ।

प्रधानमन्त्री एरियल हेनरीले आपत्कालीन अवस्थाको घोषणा गर्दै सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्नुभएको छ । प्रकोपले ग्रस्त क्यारेबियन राष्ट्र हाइटीको पश्चिममा भूकम्पपछि सुनामी आउनसक्ने भन्दै हजारौँ मानिसलाई समूद्र किनारबाट टाढा तथा अग्लो सुरक्षित स्थलतर्फ जान आह्वान गरिएको छ । युएसजीएसले हाइटीको तटवर्ती इलाकामा भूकम्पपछि तीन मिटर (झन्डै १० फिट) सम्म छालहरू आउनसक्ने चेतावनी दिएसँगै अर्को त्रासदीमा नागरिक छन् ।

यसअघि हाइटीमा सन् २०१० को जनवरीमा गएको ७.० रेक्टर स्केलको भूकम्पले पोर्ट–अउ–प्रिन्स र नजिकैका अधिकांश शहरहरूमा ठूलो क्षति भएको थियो । उक्त भूकम्पमा परी दुई लाखभन्दा बढी मानिसको ज्यान गएको थियो भने तीन लाखभन्दा बढी घाइते भएका थिए । सन् २०१० को भूकम्पबाट साढे एक लाखभन्दा बढी हाईटीबासी घरबारविहीन भएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ