अष्ट्रेलिया र चीनमा राजदूत नियुक्ति हुँदै, को हुन अष्ट्रेलिया आउने पोखरेल ?
काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलहरुबीच भागबण्डा र आफ्ना मान्छे खोज्दा अझसम्म पनि १९ देशमा राजदूत नियुक्ति हुन सकेको छैन । गत असोज ५ गते देउवा नेतृत्वको सरकारले केपी ओलीले नियुक्त गरेका राजदूतहरुलाई एकमुष्ट फिर्ता गर्ने निर्णय गरेपनि अझसम्म १९ देशमा राजदूत खाली रहेका छन् ।
लामो गृहकार्यपछि बल्ल माओवादी केन्द्रले चीनको राजदूतमा पार्टीका नेता विष्णुपुकार श्रेष्ठलाई प्रस्ताव गरेको छ भने एकीकृत समाजवादीको भागमा परेको अष्ट्रेलियाको राजदूतमा अध्यक्ष माधवकुमार नेपालले आफ्ना बहिनीज्वाइँ पर्ने कैलाशराज पोखरेलको नाम प्रधानमन्त्री देउवालाई दिएका छन् । अब यी दुई देशमा राजदूत नियुक्तिको प्रक्रिया पुरा भएमा बाँकी १७ देशमा राजदूत खाली रहनेछन् । चीनका लागि राजदूतका रुपमा अघि सारिएका श्रेष्ठको कूटनीतिक अनुभव नपुगेको भन्दै अर्को नाम पठाउन प्रधानमन्त्री देउवाले सुझाब दिनुभएको छ । अष्ट्रेलियाका लागि शिफारिस नामबारे पनि प्रधानमन्त्रीको सहमति रहेको छ ।
को हुन त अष्ट्रेलियाका लागि राजदूत शिफारिस गरिएका पोखरेल ?
लामो समय निजामती सेवामा कार्यरत रहनुभएका पोखरेल सहसचिवबाट रिटायर्ड भएर बसेका पूर्व कर्मचारि हुन । अध्यक्ष नेपालले राजदूत बनाएर पठाउन खोजेका पोखरेलप्रति प्रधानमन्त्री देउवा समेत सकारात्मक भएकाले अष्ट्रेलियाको राजदूतावासले छिट्टै राजदूत पाउने छ ।
देउवा नेतृत्वको सरकार बनेपछि भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूत बनाइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार चीन, दक्षिण अफ्रिका, जापान, बहराइन, कतार, बंगलादेश र मलेशियामा राजदूत खाली छन्। त्यस्तै स्पेन, इजरायल, अस्ट्रेलिया, डेनमार्क, इजिप्ट, म्यान्मार, रुस, साउदी अरब र श्रीलंकामा पनि राजदूत पठाउन बाँकी छ । सरकारले संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधि बाहेक ३० देशमा आवासीय राजदूत राख्ने गरेको भएपनि अधिकांशमा राजनीतिक भागबण्डाका कारण रिक्त रहदैआएको छ ।
तपाईको प्रतिक्रिया